काठमाडाैं । काठमाडाैंकाे उत्तरी क्षेत्रमा अवस्थित बाैँडेश्वर महादेवकाे मन्दिर तथा त्यसै क्षेत्रमा अवस्थित मनमाेहक झरणा सुनसान बनेकाे छ । टाेखा नगरपालिका–१, झाेरमहांकाल स्वच्छ वातावरणमा अवस्थित बाैडेश्वर महादेवका साथै गुफा तथा झरणा यस क्षेत्रका प्रमुख आकर्षण हुन् ।
साउन महिनाको सोमबार भगवान शिवको पूजा आराधना गरी हिन्दू नेपाली नारीहरुले सोमबारे व्रत समापन गर्दा उपत्यकाभरका भक्तालुहरूले बाैंडेश्वर महादेवकाे दर्शन र पूजा गर्ने हाे भने ठूलाे पुण्य प्राप्त हुने जनविश्वास रहेकाे छ ।
काठमाडौंको पशुपतिनाथ पछिका शक्तिशाली पीठकाे रूपमा टोखाको बौडेश्वर मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वरलाई लिइन्छ ।
यहाँ पूजा र दर्शनका लागि मात्र नभइ झरणा तथा गुफा क्षेत्रमा फिल्म, डकुमेन्ट्री तथा म्युजिक भिडियाे निर्माणका लागि दैनिक हजाराैंकाे संख्यामा भिडभाड नै हुने गरेकाे छ । तर विगत एक वर्षदेखि काेराेना महामारीका कारण याे क्षेत्र सुनसानकाे अवस्थामा रहेकाे छ ।
तस्वीर : हनिशराज पन्त/जनतासमाचार