विराटनगर । प्रदेश १ को राजधाजनी समेत रहेको विराटनगर महानगरपालिकाले केन्द्र र प्रदेश सरकारले सहयोग नगरेको भन्दैे कोरोना विरुद्धको खोपकालागि अन्तर्राष्ट्रिय दाता गुहारेको छ । अहिलेको अवस्थामा खोप एक मात्र विकल्प भएको र खोप अभावका कारण कोरोना नियन्त्रण गर्न नसकिएको भन्दै दाताहरुसँग गुहार मागेको हो ।
यसअघि महानगरलाई सहयोग गरिरहेका दाता, भगिनी सम्बन्ध भएका शहर तथा विदेशी नियोगहरुलाई खोप उपलब्ध गराइदिन अनुरोध गरिएको छ । भगिनी सम्बन्ध कायम भएका चीनका उहान र उहुँ शहर, अमेरिकी सहयोगी संस्था युएसआइडी, जापानको जाइका तथा सिटिनेट डिआरआर, बेलायतको डिएआइडी, स्विजरल्यान्डको हेल्विटास, कोरियाको काइका र सिटिनेट सचिवालय सियोल भारत जर्मनीलगायतका देशहरुका दूतावासमार्फत खोप सहयोग गर्न आग्रह गरिएको छ ।
सबै संस्था तथा निकायहरुलाई पत्राचार गरेर खोप उपलब्धताका लागि आग्रह गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनु भयो । उहाँले यसअघि पनि आवश्यक पर्दा सहयोग गरेकाले अहिले पनि आग्रह गरिएको र खोपका लागि दाताहरुले सहयोग गर्ने आफ्नो अपेक्षा रहेको बताउनु भयो । आग्रह गरिएका दाताहरुले सहयोग दिने भए संघीय सरकारसँग समन्वय गरी ल्याउने उहाँको भनाइ छ ।
महानगरप्रमुख पराजुलीले महामारीको यस्तो अवस्थामा केन्द्र र प्रदेश सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा त्यो भूमिका निर्वाह गर्न नसेकेको र स्थानीय तहलाई पनि आवश्यक सहयोग नगरेको आरोप लगाउनु भएको छ ।
दाताहरूलाई भ्याक्सिनका साथै स्वास्थ्य सामग्री अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर भिटिएम, एन्टिजेन किटलगायत सामग्री सहयोगका लागि आग्रह गरिएको छ ।