मकवानपुर । हेटौंडामा सडक बालबालिकाका रुपमा रहेका ७ जनाको उद्वार गरिएको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा बस्दै आएका सात बालबालिकाकाे उद्वार गरी अनाथ बालबालिकाहरूकाे उद्वारका लागि निर्माण गरिएकाे 'मामाघर' नाम दिइएकाे घरमा ६ जना र माइती नेपालकाे संरक्षणमा रहने गरी एक बालिका राखिएकाे हाे ।उद्वार गरिएका बालबालिकामा सन्ध्या लामा (१५), आकाश मलाह (१०), सन्दीप गोले (१३), मुस्कान मलाह (१५), उमेश तामाङ (१८), भीमराज थिङ (१८) र हिमाल लामा (१४) रहेका छन् ।
स्थानीय युवा समाजसेवी सुनिल गिरीले केही दिन अघिदेखि उनीहरुलाई खाजा र खानाको व्यवस्था गर्दै उद्वारमा विशेष पहल गरेका थिए । त्यस्तै, मामाघर नेपालका संस्थापक अर्पण पराजुलीले लामो समयदेखि परामर्श एवम् खानकाे व्यवस्था गरिरहेका थिए भने उद्वारका लागि पनि विशेष पहल गरेका थिए । तर ती बालबालिका सडक त्याग्न तयार देखिएका थिएनन् । हिजाे (आइतबार) राती सुनिल गिरी, सन्तोष अर्याल र अर्पण पराजुलीसँगको लामो कुराकानीपश्चात् बालबालिकाहरू मामाघर जान तयार भएपछि सोमबार पीसीआर परीक्षण गरी बालकहरुलाई मामाघर नेपालमा र एक बालिकालाई माइती नेपालमा संरक्षणका लागि पुर्याइएको छ । उनीहरु समेत अब मामाघरमा आश्रित बालकको संख्या २६ पुगेको बताइएकाे छ ।
मामाघरले हेटौंडामा सडक बालबालिकाको उद्वार, परामर्श, आवासीय सेवा तथा सुबिधा, शिक्षा, स्वास्थ्य र पारिवारिक पुनर्स्थापना गर्दै आएको छ । मामाघर नेपाल मकवानपुरका स्थानीयहरूकाे जन्मदिन र विवाह वर्षगाँठ आदि अवसरमा गरिएको सहयोगले सञ्चालन हुँदै आएको छ । दातृ निकायबाट हुने सहयोग र ‘एक व्यक्ति, एक ईंट्टा’ अभियानबाट हेटौंडा–११ मा मामाघर भवन निर्माण गरिएको पराजुलीले बताउनुभयाे । पूर्वसडक बालबालिकाको आपत्कालीन राहत, उद्वार, परामर्श, पारिवारिक वातावरणमा आवासीय सुबिधा, सीप, शिक्षा र पारिवारिक पुनर्मिलन गराउने कार्य मामाघर नेपालको मुख्य अभियान भएकाे संस्थापनक पराजुलीले बताउनुभयाे ।हेटौंडालाई सडक बालबालिकामुक्त शहर बनाउने उद्देश्यले २०६९ भदौ १३ गतेबाट अभियान सुरु गरिएको पराजुलीकाे भनाइ छ।