काठमाडौं उपत्यकाका तीन जिल्ला अन्तर्गत ललितपुरको दक्षिणी भेगमा अवस्थित बुङमतीले नेवारी सभ्यता र संस्कार भएको ऐतिहासिक शहरको रुपमा आफूलाई जिवन्त राखिरहेको छ । आधुनिकताले पटक्कै नछोएको यो शहरमा अहिलेसम्म पनि पुरातन डिजाइन र आकारका घरहरु देख्न पाइन्छ । उपत्यकाको सबैभन्दा लामो तथा प्रसिद्ध रातो मछिन्द्रनाथको रथयात्रा (जात्रा) पनि बुङमतिमै पुगेर विसर्जन हुने भएकाले यो शहरको महत्व र गरिमा झनै बढेको छ ।–मोहनप्रसाद मैनालीललितपुर । हस्तकलाको नगरी नामले परिचित जिल्लाको ऐतिहासिक स्थल बुङमतीमा कला, कौशल र सीप युवा पुस्तामा हस्तान्तरण भइरहेको छ । काष्ठकला, धातुकला, बाजागाजा तथा विभिन्न देवी देवताका जात्रा पर्वका कारण प्रख्यात बुङमतीमा पुरातन रुपमा निर्माण हुँदै आएका हस्तकला तथा संस्कार संस्कृति पुराना पुस्ताले युवा पुस्तामा हस्तान्तरण गरिरहेका छन् ।
बुङमतीको यही संस्कार र संस्कृतिलाई निरन्तर युवापुस्तामा हस्तान्तर गरी युगौं युगसम्म जारी राख्नका लागि रसायनको काम गरिरहेकाे छ यूरोपियन यूनियनको आर्थिक सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत सञ्चालित ‘पर्या सम्पदा परियोजना’ ले । यो परियोजनाले युवा युवतीहरुका लागि आत्मनिर्भरको तालिम समेत प्रदान गरिरहेको छ ।
बुङमतीमा रहेका काष्ठकला, धातुकला, नेवारी संस्कार र संस्कृति तथा ऐतिहासिक रुपमा जारी रहेका स्थानीय जात्राहरुको संरक्षण र सम्वर्द्धनका लागि पर्या सम्पदा परियोजनाले विगत केही वर्षदेखि युवाहरुमाँझ निरन्तर सहयोगीको भूमिका निर्वाह गरिरहेको छ ।यस क्षेत्रको सामाजिक सभ्यता, सांस्कृतिक तथा धार्मिक महत्वका स्थलहरुको संरक्षण र सम्वर्द्धन गर्न तथा युवामा पौराणिक सीपको महत्व बुझाउनका परियोजनाले विभिन्न तालिमसमेत दिने गरेको छ ।
बुङमतीमा हरेक दिनजसो हुने भजनका लागि सयौं वर्ष अघि निर्माण भएको पाटी (सत्तल) विसं. २०७२ को शक्तिशाली भूकम्पले भत्काएको थियो । सत्तल निर्माणका लागि स्थानीय सरकार तथा विभिन्न संघ सस्थालाई स्थानीयले गुहारेपनि कसैले चासो नदिएको स्थानीय बताउँछन् । ‘पर्या सम्पदा परियोजनाको साथ र सहयोगले उक्त भत्किएको पाटी (सत्तल) निर्माण भयो’, महर्जन थरका एक स्थानीयले भने, ‘परियोजनाले युवापुस्ता मात्र नभइ महिलाहरुका लागि पनि तालिम दिएर भजन समूहमा सामेल गरायो ।’ ७० वर्ष अगाडि स्थापना भएको भजन खलःमा पुरुषहरु मात्र सम्लग्न हुने गरिएकोमा परियोजनाको तालिम र सहयोगले हाल महिलाहरु पनि सामेल भएको उहाँले बताउनुभयो ।
स्थानीयहरुका अनुसार परियोजनाले धिमे बाजा, हारमोनियम, तवलालगायतका बाजा पनि सहयोग गरेको छ । परियोजनाको साथ र सहयोगले युवा पुस्तामा जागरुकता पैदा हुनुका साथै र ऐतिहासिक सम्पदा, कला तथा संस्कृतिलाई बचाउन महिलाहरुको बाहुल्यता बढेको स्थानीयको भनाइ छ ।पर्या सम्पदा परियोजनाले ऐतिहासिक रुपमा निर्माण गरिएका पुराना डिजाइनका घर पुनर्निमाण तथा नयाँ निर्माणका लागि नक्सा समेत निशुल्क बनाइदिने गरेको स्थानीय व्यवसायी सविता महर्जन बताउनुहुन्छ ।
नाम्चा प्याखः बाजा समूहमा समेत सक्रिय महर्जन भन्नुहुन्छ, ‘पर्या सम्पदाको विभिन्न कार्यक्रमहरुमा हाम्रो बाजा समूहलाई बोलाउँछ ।’ सम्पदाकै सहयोगमा बाजा सिकेको बताउनुहुने महर्जन तालिमपश्चात बाजा समूहमा महिलाहरुको बाहुल्यता बढेको बताउनुहुन्छ । हाललाई सम्पदाबाट आर्थिक तथा बाजाको सहयोग नभएपनि भविष्यमा बाजा समूहलाई सहयोग गर्ने आश्वासन दिएको उहाँको भनाइ छ ।स्थानीय व्यवसायी विद्या तुलाधरका अनुसार पर्या सम्पदा परियोजनाले नेवारी परिकारको महत्व र यसको बजारिकरणका लागि फ्रिज लगाएत आवश्यक सामान सहयोग गरेको छ । परियोजनाको कार्यक्रमहरु तथा विभिन्न स्थलहरुमा नेवारी खाजा सप्लाईको लागि अर्डर दिने गरेको उहाँ बताउनुहुन्छ ।पर्या सम्पदाकै सहयोगमा क्याटरिङको काम गरिरहेको तुलाधरको भनाइ छ । विशेष गरी नेवारी परिकार आवश्यक भएको बेलामा सम्पदाकै सहयागमा विभिन्न स्थानबाट फोनमा अर्डर आउने गरेको र फोनकै आधारमा खाना तथा खाजाको व्यवस्था गर्ने गरेको उहाँले बताउनुभयो । साना व्यापार र व्यवसाय गर्नेहरुका लागि पर्या सम्पदाको सहयोगले जीविकोपार्जनमा सजिलो भएको तुलाधरको भनाइ छ ।लामो समयदेखि मुगा र क्रिष्टलको व्यवसाय गर्दै आउनुभएका बुङमतीका चन्दन शाक्य पर्या सम्पदाको साथ र सहयोगले यो व्यवसायमा युवापुस्तामा थप जागरुकता ल्याएको बताउनुहुन्छ । व्यक्तिगत रुपमा परियोजनाले आफूलाई सहयोग नगरेको भएपनि यही पेश गर्ने केही युवाहरुलाई तालिम प्रदान गरी आवश्य ज्यावलहरु सहयोग गरेर युवालाई व्यवसाय तथा स्थानीय सीपको प्रवद्र्धन गरेकोमा परियोजनाप्रति खुशी व्यक्त गर्नुहुन्छ शाक्य।
‘युवा पुस्ता मुगा तथा क्रिष्टल’ व्यवसायमा आकर्षित छन्’, शाक्य भन्नुहुन्छ, ‘धेरै युवाहरु यही कामबाट आत्मनिर्भर भइरहेका छन् ।’ हस्तकला विशेष गरी काष्ठकलाका सामग्री उत्पादनमा बुङमतीले काठमाडौं उपत्यकामा अग्रणी स्थान कायम गरेको छ । घरायसी काममा मात्र सिमित युवा तथा महिलाहरुले हस्तकलाको सीपबाट अर्थोपार्जनमा थप भूमिका खेलिरहेका छन् । आर्थिक अवस्था उकासिएको छ, जीवनयापनमा समृद्धि हासिल हुँदै छ ।१३ वर्षको किशोर अवस्थादेखि नै धातुका सामग्री निर्माणमा लाग्नुभएका शैलेन्द्र शाक्य आफूले जानेको काम भाइबहिनीहरुलाई सिकाउन पाउँदा खुशी लागेको बताउनुहुन्छ । पुस्त्यौलि पेशा काष्ठकला भएपनि आफू धातुकलामा लागेको उहाँको भनाइ छ ।शाक्यले सिङ्गिङ बाउलमा आर्ट गर्ने गरेको लामो समय भएको छ । विदेशी पर्यटक आएको समयमा यसको व्यापार राम्रो हुने बताउने शाक्य कोरोना महामारीका कारण अहिले काम ठप्प भएको बताउनुहुन्छ । पर्य सम्पदा परियोजनाले विशेष तालिम दिने भनेपनि कोरोना महामारीकै कारण विगत डेढ वर्षदेखि केही नगरिएको उहाँकाे भनाइ छ ।
सिङ्गिङ बाउलमा सामान्यदेखि विशेष आर्ट गर्ने गरिएको बताउँदै शाक्य भन्नुहुन्छ, ‘एउटा साधारण आर्ट गरेको सय रुपैयाँदेखि विशेष आर्ट गरेको तीन लाख रुपैयाँसम्म लाग्छ ।’ यस पेशामा युवा पुस्ताको जागरुकता र जाँगर हेर्दा बुङ्मतीको ऐतिहासिक कलाकौशलको सम्वर्द्धनमा थप टेवा पुग्ने उहाँको भनाइ छ ।काठमाडौं उपत्यकाका तीन जिल्ला अन्तर्गत ललितपुरको दक्षिणी भेगमा अवस्थित बुङमतीले नेवारी सभ्यता र संस्कार भएको ऐतिहासिक शहरको रुपमा आफूलाई जिवन्त राखिरहेको छ । आधुनिकताले पटक्कै नछोएको यो शहरमा अहिलेसम्म पनि पुरातन डिजाइन र आकारका घरहरु देख्न पाइन्छ । उपत्यकाको सबैभन्दा लामो तथा प्रसिद्ध रातो मछिन्द्रनाथको रथयात्रा (जात्रा) पनि बुङमतिमै पुगेर विसर्जन हुने भएकाले यो शहरको महत्व र गरिमा झनै बढेको छ ।
यस शहरको सम्पदाहरुको संरक्षण गर्नका लागि पर्या सम्पदा परियोजना अन्तर्गत काष्ठकला, ढलोट तथा तामाको सामग्री निर्माणको तालिमका साथै बुङमतीको ढोकातिनी फल्चा मर्मत, देपु पोखरी निर्माण, साइकल पार्क, बिश्राम स्थल, बुङमती संग्रहालय, मछिन्द्र बहालको ताः फल्चा मर्मत सम्भार, प्रथम पुः बिहार मर्मत कार्य सम्पन्न गरेको छ ।बुङमतीको सम्पदा संरक्षण अभियानमा लुमन्ती, सीआइयूडी, सभा नेपाल र आईएचएस संस्था सन् २०१८ देखि क्रियाशिल रहेका छन् ।