काठमाडौं । ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई...’यो गीत नसुन्ने नेपाली विरलै होलान् । कुन्ती मोक्तानको स्वरमा रहेको तामाङ सेलो भाकामा आधारित यो गीतले ५० को दशकमा नेपाली संगीत बजारलाई पिट्नु पिटेको थियो । पचासका दशकका मानक गीतमध्येमा पर्दछ ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई...’।यो गीत सुनेकै आधारमा शैलुङ क्षेत्रको एक खालको बिम्ब बनाउनेहरु अर्थात शैलुङका बारेमा कल्पना गर्ने धेरै छन् ।दोलखा र रामेछाप दुबै जिल्लाको शिर हो, शैलुङ ।
पानीढोलोको आधारमा एकातिर पानी बग्ने भाग दोलखा र अर्काेतिर पानी बग्ने जति रामेछाप । दोलखाका शैलुङ र मेलुङ दुई गाउँपालिका पानीढोलोको एकातिर पर्छ भने रामेछापको दोरम्बा गाउँपालिका अर्कोतिर । यी ३ गाउँपालिकालाई अँगालेर आफ्नो बृहत् प्राकृतिक, जैविक र सांस्कृतिक पहिचानमा फैलिएको छ शैलुङ ।
काठमाडौँबाट जम्माजम्मी १ सय ३१ किलोमिटर दुरीमा छ शैलुङ । झन्डै ६ घण्टा लाग्छ मोटरमा शैलुङ क्षेत्रको खोलाखर्क पुग्न । अहिले वर्षाको समय त अझ बढी लाग्छ, बाटोको अवस्थाले यात्रामा दिक्क पनि लाग्न सक्छ ।
काठमाडौँबाट बनेपा हुँदै विपी राजमार्गमा केही समय यात्रा गरेपछि पुगिन्छ सित्खा । त्यहाँबाट बाटो मोडिन्छ रामेछापको भित्तापट्टि । सित्खाबाट उँभो लागेपछिको बाटो जति कच्ची छ, त्यत्तिकै घुमाउरो, भिरालो र अप्ठ्यारो पनि । तर जब सयवटा थुम्काहरुको चुली शैलुङमा पुगिन्छ, तब यात्राका अप्ठ्याराहरु चटक्कै बिर्सिन्छ । शैलुङको प्राकृतिक सौन्दर्यको मनोहारी आकर्षण, प्रकृति सिर्जित भव्यता र दिव्यताले अलौकिक अनुभूति दिलाउछ ।
धेरै जान हिउँद र अन्य मौसममा मात्र शैलुङ जाने गरेका छन् । तर वर्षाको समयमा पनि शैलुङको सौन्दर्य उस्तै भव्य लाग्छ । रंगीचंगी लेकाली फूल,हरिया चौर अनि ती चौरमा हुस्सु र कुहिरोभित्र चरिरहेका चौंरीको बथानले चित्त त्यसै त्यसै हरिदिन्छ ।
तस्बिर साभार : कुमार थोकर तामाङको फेसबुकबाट