टंक पन्त/जनता समाचारकाठमाडौ । विपक्षी गठबन्धन दलका शीर्ष नेताहरुले प्रतिगमन सच्याएपछि पनि संबिधान र लोकतन्त्रलाई संस्थागत नगर्दा सम्म आफूहरुको गठबन्धन कायमै रहने आधार तय भएको बताएका छन् ।नेपाली काँग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एमालेकोे माधव नेपाल पक्ष , जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलोमतोमा संबैधानिक संरचना भत्काउने मात्र नभई सबै बिधिको शासन र संविधानमाथि आक्रमण भएको आरोप लगाएका छन् ।विहीवार प्रमुख मिडिया हाउसका सम्पादकहरुसंग संसद भवन बानेश्वरमा गरेको अन्तक्र्रियामा गठबन्धनका शीर्ष नेताहरुले संविधान , लोकतन्त्र र विधिको शासनका लागि बिगतमा जस्तै आम संचार क्षेत्रको सहयोगका लागि आह्वान समेत गरेका छन् ।नेपाली काग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको अहंकार , अधिनायकबाद सोंच र असहिष्णु व्यवहारका कारण देश अहिले इतिहासमै सबैभन्दा जटिल मोडमा पुगेको बताउनुभयो ।सभापति देउवाले संवैधानिक सीमाभित्र रहनुपर्ने देशको राष्ट्रपति जस्तो गरिमामय र सम्मानित संस्थालाई गुटगत स्वार्थका लागि प्रयोग भएको भन्दै शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई बेवास्ता गरी अन्य अंग र निकायलाई धम्क्याउने , तर्साउने र दबाब सिर्जना गर्ने काम पनि भैरहेको आरोप लगाउनुभयो । उहाँले प्रतिगमनका बिरुद्ध जनपरिचालन गर्ने निर्णय भएको जानकारी पनि गराउनुभयो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदका लागि नभई संविधान , लोकतान्त्रिक प्रणाली र विधिको शासनका लागि अहिले आफूहरु संघर्षमा रहेको बताउनुभयो ।उहाँले संविधानमाथि भैरहेको निरन्तरको आक्रमणलाई परास्त गर्न आफूहरु जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै आम संचार क्षेत्र प्रतिगमनको बिरुद्धमा रहेको र यतिखेर कोरोना महामारी नभएको भए लाखौ नागरिक स्वतः सडकमा उत्रिएको अवस्था हुने धारणा राख्नुभयो ।पूर्व प्रधानमन्त्री प्रचण्डले देशका प्रमुख मिडियाका सम्पादकहरुले दिएको सुझावबाट आफूहरु उत्साहित भएको भन्दै आएका सुझावलाई ग्रहण गरी पाँच दलीय गठबन्धनले स्वेतपत्र पनि जारी गरेर अगाडि बढने जानकारी गराउनुभयो ।निरंकुश राजतन्त्र बिरुद्धको संघर्षमा वर्तमान प्रधानमन्त्री ओलीको कुनै सहभागीता नभएको प्रचण्डको दाबी थियो । तर ओलीकै पार्टी एमालेका माधवकुमार नेपाल भने गणतन्त्रको झण्डा लिएर त्यतिखेर सडकमा निस्किसक्नुभएको स्मरण गर्दै प्रचण्डले सबै नेता उस्तै हुन् भन्ने रुपमा नलिन सम्पादकहरुलाई आग्रह गर्नुभएको छ ।महिलालाई राष्ट्रपति बनाउदा शुरुमा गर्व महसुस भएको तर अहिले राष्ट्रपति पदको साख नै विद्या भण्डारीका कारण खस्किएको प्रचण्डको दाबी थियो ।अन्तक्र्रियामा दुई दिनअघि प्रधानमन्त्री ओलीले आफूलाई फोन गरी वामपन्थी सरकारलाई अपदस्थ गर्न काग्रेस र देउवालाई बोकेर हिड्ने भनी प्रश्न गरेको स्मरण गराउनुभयो । प्रत्युत्तरमा आफूले तपाईले जसरी प्रतिगमनको बाटो समात्नुभयो र सबै निकायलाई ध्वस्त पारिरहरनुभएको छ, त्यसले तपाई भन्दा नेपाली कांग्रेस धेरै गुणा लोकतान्त्रिक र वामपन्थी भएको जवाफ दिएको कुरा प्रचण्डले जानकारी गराउनुभयो ।नेकपा (एमाले )का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्वाधीनता , राष्ट्रिय हीत र संविधानको रक्षासँगै देशलाई भड्खालोमा पर्नबाट जोगाउन आफूहरुले हातेमालो गरेको उल्लेख गर्नुभयो ।पूर्व प्रधानमन्त्री नेपालले देश कोरोना महामारी र बाढी पहिरोले पीडित भएको बेला जनताका आवाज मुखरित गर्ने संसद बिघटन गर्ने काम प्रधानमन्त्री ओलीले गरेको भन्दै उहाँमा विकसित हुदै गएको अहंकार र चिन्तनले गर्दा सिंगो मुलक संकटमा परेको बताउनुभयो ।सम्पादकहरुसँग आफ्नो धारणा राख्ने क्रममा एमालेका बरिष्ठ नेता नेपालले देउवालाई सम्बोधन गर्दै यदि केपी शर्मा ओली सबै कुरामा गल्ती स्वीकारेर आउनुभए उहाँलाई स्वागत गर्न तयार हुनुपर्ने बताउनुभयो ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्री ओलीले दुई दुई पटक असंबैधानिक रुपमा बिघटन गरेर बिश्वमै नेपालको बेइज्जत गरेको धारणा राख्नुभयो । उहाँले राष्ट्रपति भण्डारीले ओली बाहेक अरु कसैलाई प्रधानमन्त्री पदमा देख्न चाहनुहुन्न भन्ने उहाँका संविधान विपरितका हर्कतले पुष्टि गर्देै गएको दाबीगर्नुभएको छ ।राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विगतमा पनि संसद बिघटन भएको तर यस पटकको बिघटन धेरै गुणा फरक भएको बताउनुभयो । उहाँले भारतीय जनता पार्टीको सरकारसँग मिलेर प्रधानमन्त्री ओलीले संविधान विरोधी कदम चालेको आरोप लागाउनुभयो । उहाँले प्रतिगमन परास्त गर्नुको कुनै विकल्प नभएको बताउनुभयो ।सो भेटघाट कार्यक्रममा सम्पादकहरु प्रतिक प्रधान , शिव गाउंले , तीर्थ कोइराला , टंक पन्त (जनता टेलिभिजन), गुणराज लुइटेल, किरण नेपाल , बिमल गौतम, ऋषि धमला , अमित ढकाल , अरुण बराल,मातृका पौडेल, टीकाराम यात्री, हरिबहादुर थापा, शुभशंकर कँडेल,कपिल काफ्ले लगायतले आ–आफनो धारणा सहित सुझाब राख्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८ ००:४९