-आनन्द गुरुङ/जनतासमाचारमनाङ । असार लागे लगत्तै परेको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण मनाङ जिल्लाभर विद्युत, सञ्चार र यातायात सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।मस्र्याङ्दी र स्थानीय नदीमा आएको बाढीबाट प्रभावित मनाङवासी अहिले गाँस, बास र स्वास्थ्य सुरक्षाको समस्यामा परेका छन् । बाढीका कारण चामेबाट खाङसारसम्मको सडकका विभिन्न खण्ड भासिएको छ भने केही ठाउँमा सडक नै बगाएको छ । सडक अवरुद्ध हुँदा निकट भविष्यमै जिल्लामा खाद्यसंकट हुनसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । त्यसैले सडक मर्मतकार्य तत्काल अघि बढाउनुपर्ने निस्याङ–६ का वडाअध्यक्ष सोनाम लामाले बताउनुभयो । हाल मनाङ समाजबाट केही लिटर इन्धन प्राप्त भएकाले तत्काल सडक बनाउने काम शुरु गरिने उहाँले जानकारी दिनुभयो ।
बाढी पहिरोले स्थानीय लघुजलविद्युत केन्द्र, सञ्चार टावर सडक तथा पुलहरु बगाउँदा आवत जावत गर्नसमेत कठिनाई भएको छ । बाढीले नासोङ गाउ‘पालिका वडा नम्बर ३ धारापानी नराम्ररी प्रभावित भएको उपाध्यक्ष, कमलमाया गुरुङले बताउनुभयो । बाढीले गाउ‘पालिकाको भवन, प्रहरी भवन, बैंक समेत बगाएर लगेकोले गाउ‘पालिका कहॉ राख्ने, कसरी सञ्चालन गर्ने भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो । उपाध्यक्ष गुरुङले तत्काल गाउ‘पालिकाको कार्यसम्पदान बेसिशहरबाट सञ्चालन गर्ने तयारी भइरहेको पनि बताउनुभयो ।
मनाङमा अहिले स्थानीय सरकार, विभिन्न संघ–संस्था, राजनीतिक दलहरुले बाढीपिडीतको उद्धार र राहत वितरण गरिरहेका छन् । तर हिमाल पारिको जिल्ला भनेर चिनिने देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य मनाङमा बाढीपहिरो रोकथामका लागि दीर्घकालीन समाधानको उपाय गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।
यसैबीच प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा मनाङ पुग्नुभएका नेपाली कॉग्रेसका सभापति एवं पूर्व श्रम राज्यमन्त्री र गण्डकी प्रदेश सांसद चिन्ताबहादुर घलेले प्रमुख जिल्ला अधिकारी, सुरक्षा अंगका प्रमुखसँग भेटघाट गरी समस्या समाधानका लागि छलफल गर्नुभएको छ ।छलफलमा उहाँहरुले प्रभावित क्षेत्रमा बाढीपहिरो रोकथामका लागि तत्कालीन र दीर्घकालीन योजनाको तर्जुमा गर्न आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले छिट्टै सर्वदलीय बैठक डाक्ने जानकारी दिनुभयो ।