पार्वती ऐडी / जनतासमाचारबझाङ । असार मसान्तभन्दा पहिले नै विकास योजनाका लागि विनियोजित रकम खर्च गरिसक्नुपर्ने सरकारको नियमबाट लाभभन्दा हानी धेरै भए पनि त्यसमा परिवर्तन गर्ने प्रयास भने गरिएको देखिँदैन । वर्षाको समयमा हतारमा गरिने विकास निर्माणका कामको गुणस्तर कमजोर हुन्छ । अझ कतिपय काम त सुरु नै नगरी सम्पन्न भएको देखाएर बजेट सिध्याउने समेत गरिएको पाइन्छ । यसरी गुणस्तरहीन काम गरेर वा कामै नगरी बजेट खर्च गर्दा राजनीतिक नेता तथा कार्यकर्ता, कर्मचारी, निर्माण व्यवसायी र पछिल्लो समयमा उपभोक्ता समितिका पदाधिकारीलाई व्यक्तिगत फाइदा हुन्छ । त्यसैले देशको अहित र जनतालाई असुविधा हुने असारे विकासको अभ्यास परिवर्तन गर्न कोही अग्रसर छैनन् । यदाकदा प्रयास भए पनि बीचैमा तुहिने गरेका छन् ।असार महिना सकिनै लाग्दा यतिबेला असारे विकासका अनेकौँ उदाहरण यत्रतत्र देखिन्छन् । विशेषगरी गाउँघरमा अन्न बाली लगाएका खेतको बीचमा डोजर चलाएर कृषकको कमाई खाने बाटो नै बन्द पारेका छन । कतिपय योजनाहरु असार लागेसँगै सम्झौता गर्ने र असार मसान्तमा भुक्तानी लिइसक्नुपर्ने भएकाले सम्बन्धित कार्यालयबाट रकम निकासा भएपछि त्यस्तो निर्माण कार्य कि त लटरपटर गरेर सिध्याएको देखाइन्छ नभए अर्को आर्थिक वर्षको अन्त्य हुनेबेलासम्म अलपत्र छाडिन्छ । बझाङ जिल्लाका केही घटना असारे विकासका उदाहरण हुनसक्छन ।
२०७६ साल असार २० गते रोपाई चलिरहेका बेला हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी (रोपाहार महिला) हरू धान रोप्दै थिए । अगासे जिउलाको रौनक उत्सवमय थियो ।रोपाई चलिरहेको बीच खेतमा पसेको डोजरले २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेत नष्ट मात्र गरेन ३ वटा खानेपानी आयोजनाको पाइपलाइनमा समेत क्षति पुर्यायो । त्यसैगरि ३१ लाख लागतमा बनेको भगाडी तिउने राजकोट खानेपानी आयोजना, निर्माण सम्पन्न हुन लागेको ६० लाख लागतको खापर दुधिर खानेपानी आयोजना र ०६६ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा ९ लाख लागतमा बनेको ठण्डापानी पुजारी गाउँ पिउने खानेपानी आयोजनामा समेत क्षतिपुर्यायो । खप्तडछान्ना गाउँपालिकाका अन्य ठाउँका ८ वटाभन्दा बढी कुलोमा क्षति भई धेरै ठाउँको रोपाइँ प्रभावित भएको थियो ।त्यस्तै जयपृथ्वी नगरपालिका १ कैलाश जोड्ने पानकोट कैलाशसडकमा जयपृथ्वी नगरपालिका वडानम्बर ३ पडेससम्म अगाडि नै सडक पुगिसकेको थियो । केहि बर्ष अगाडि कैलाश गाउँमा पनि सडक विस्तार गर्ने कुरा गाईगुइ सुनिन थाल्यो । कहाँबाट डोजर गाउँ भित्र््याउने भन्ने विषयमा सबैले ठाउँ – ठाउँमा कुरा गर्न थालेका थिए । एकदिन सबै गाउँले घरघरमा व्यस्त थिए । कैलाशमा खेतहरु गाउँ नजिक छैनन् । सबै पानी नलाग्ने भुवा खेतहरु मात्र छन् ।सबै आ–आफ्नो काममै व्यस्त रहेका बेला मध्य दिउसो १२ बजे गाउँमा रोड खन्नकालागि भन्दै डोजर कैलाशको गाउँ नजिकैको डाँडा दालाका तोला भन्ने ठाउँमा आइपुग्यो । आ–आफ्नो खेतको गहुँ बाली उखेलेर लिन कृषकहरुलाई उर्धी जारी गरे ।गहुँ, जौ, मुसुरोले हरिया खेतहरु भकाभक डोजरको विल्चोले भ्वाक्क हान्दै, पल्टाउदै गर्न थाल्यो । कसैका गहुँका खेतहरु रोडबाट फालेको माटो र ढुंगाले पुरिए । गाउँभरि नै कोलाहाल मच्चियो । गाउँमा धेरैजसोले डोजर देखेका पनि थिएन्न । त्यति बेला भएपनि, गाउँलेहरुले कसैले डोजर चालकलाई गाली गर्थे, कसैले सडकका समितिका मान्छेलाई सराप्थे ।अलिअलि झुँसाएका गहुँ, साना कोषा लागेका मुसुरो, झुस विज्ने खालका भएका जौका ती हरिया फाँटहरु क्षणभरमै माटोले पुरिए । कोहि गोरु लिएर गहुँबालीमै छोड्न थाले, उखेल्न नसकेर, कोहि गहुँका हरिया बाला सहित पिठ्युमा बोकेर सडक खन्नेहरुलाई सराप्दै रुदै घरतिर लागे । कोहि डोजरको अगाडि उतानो पल्टिन्थे । मेरो गहुँ बाली लगाएको खेतमा रोड हाल्न दिन्नँ भनेर । हुदाँ हुदाँ खेत भएको ठाउँमा सडक काटेर साविकको कैलाश गाविस वडानम्बर ७ को कैलाशपति स्कुलको माथिबाट डोजर हाल्ने विषयमा विवाद हुन थाल्यो । त्यो बेलाको सडक कटानले ६५ परिवारका गहुँ लगाएका खेत, बलबहादुर खड्का, मुकेश दमाई, सुरेश दमाई, नारायण माध्यामिक विद्यालय, रमेश सिंह लगायतका व्यक्तिहरुका घर नै हालसम्म जोखिममा रहेका छन् ।
जयपृथ्वी नगरपालिका १ का देवबहादुर सिंहको अध्यक्षतामा सडक निर्माण समिति गठन गरि सडक विस्तार गरि रकम अभाव भयो भनेर सडक विस्तारको काम विचमै रोकियो । त्यसपछि उक्त रोड निर्माणका लागि २,३ वटा अध्यक्षहरु परिवर्तन भए, तर सडक निर्माण कार्य पूरा भएन ।त्यतिबेलाको सडक खन्दा जोखिममा परेको छ बलबहादुर खड्काको घर । उनले भने, “बर्खाको पानी परेको बेला रातभर निन्द्रा लाग्दैन । अलि बढी पानी पर्यो कि अब घर पहिरोमा पर्यो भन्ने चिन्ता लाग्छ । आफू लेकतिर बस्छु । घरमा श्रीमती , केटाकेटी छन् । दिनहुँ चिन्ता लागिरहन्छ । धेरै बर्षा भएको दिन लेकको काम छोडेर घर आउछु ।”खड्काको मात्र होईन मुकेश दमाईको कुरा पनि उस्तै छ । सडकको भित्ता भत्किदै गयो । मेरो घरको आँगन समेत भत्केको छ । कुन दिन घर जाने हो थाहा छैन । अब अन्तै बसाई सर्नको लागि जग्गा छैन । सँगैका सुरेश दमाई भने अकै ठाउँ बसाइँ सरिसकेका छन् ।
फेरि मकैबारीमा पस्यो विकासे डोजरअसार १७ गते कैलाशकै जोगेनी भन्ने ठाउँमा मकैको बीच खेतमा डोजर लगाएर सडक कटान गर्न लागेको फोटो सामाजिक संजालमा आएपछि चर्को आलोचना भयो । कृषकको कमाई खाने खेतमा डोजर प्रयोग गरिएका दृश्यहरु भाइरल भइरहँदा सरोकारवालाहरुले भने यस विषयमा कुनै चासो नै नदेखाएको स्थानीयले आरोप लगाएका छन् । सडक निर्माणको लागि जग्गा धनीसँग सहमति भएको सडक निर्माण समितिले दाबी गरे पनि अन्नबाली लगाएकै बेला मात्र सडक निर्माण गर्ने प्रवृत्तिप्रति सामाजिक संजालमा तिखो टिप्पणी हुन थालेको छ ।खेति लगाएको खेतबारीमा डोजर प्रयोग गर्नु भनेको खाद्यअधिकार हन्न हुनु हो । बजेट खर्च गर्नको लागि मात्रै डोजर चलाउनु अझ दुर्भाग्य हो । यसरी गरेको विकासको कुनै अर्थ नहुने जिल्लामा खाद्य अधिकारको क्षेत्रमा काम गरिरहेको फियान नेपालकी जिल्ला संयोजक सिता सिंहले बताइन् ।खेतियोग्य जमिन तथा वातावरणिय क्षतिका सम्बन्धमा राजनीतिक र प्रशासनिक नेतृत्व भने अनविज्ञ देखिएको स्थानीयको गुनासो छ । त्यस्तो विकृत अभ्यास भैरहँदा पनि बन्द गराउन वा त्यसमा सुधार गर्न प्रयास कतैबाट गरिएको देखिदैन ।असारे विकासको अभ्यास र विकास योजनालाई असार मसान्तसँग जोड्ने अभ्यास नै गलत भएको धेरैको भनाइ छ । त्यसैले असार साउनलाई आर्थिक वर्ष मान्ने अभ्यास पनि परिवर्तन गर्नुपर्ने स्थानीय जीवनबहादुर सिंहले बताए ।आर्थिक वर्ष पनि शैक्षिक सत्रसँगै वैशाखबाटै सुरु गर्ने र विकास योजनाको रकम ल्याप्स नहुने व्यवस्था गर्न सके अहिलेको विकृति र कठिनाइ हटाउन सहयोग पुग्ने जानकारहरु बताउछन् । यद्यपि, नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न व्यक्तिहरूको योग्यता र इमानदारीको भूमिका नै यसमा निर्णायक रहने जानकारहरुले बताउने गरेका छन ।धेरैजसो योजनाहरुको काम असारमा सम्झौता भई असारमा नै भुक्तानी लिने गरेका छन । न यसको सार्वजनिक सुनवाई हुन्छ न त समितिका अध्यक्ष, सचिव, कोषाअध्यक्ष बाहेक अन्य सदस्यहरुलाई थाहा हुन्छ । जबसम्म असारे विकास रोकिदैन तथा अन्न बालीमा डोजर लगाउनेलाई कारबाही गरिदैन तब सम्म यस्ता घटनाहरुले प्रश्रय पाइरहन्छन् ।