–अम्बिका खड्काखेतबारीमा पाइने धेरै चराहरु फाइदाजनककाठमाडौं । विश्वमा मानिसको संख्या वृद्धि भएसँगै बढ्दै गएका प्रविधि, उपकरण र विषादीका कारण मानिससँग सँगै अन्य जिवजन्तु, पंक्षीमा पनि नकारात्मक प्रभाव परेको देखिन्छ । यसमध्ये चरा पनि पर्छ । चराहरु प्राय हेर्नमा सुन्दर हुन्छन् । स्वतन्त्र रुपमा आकाशमा उडिरहेका चराहरुको हुलले जो कोहिको मन लोभ्याउने गर्छ । चरा हेर्नका लागि मात्र सुन्दर हैनन् यिनीहरुले किसानको खेतबालीमा समेत विभिन्न माध्यमबाट फाइदा पुर्याउने गर्दछन् । प्राकृतिक संरचनालाई सन्तुलित बनाउन पनि चराहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।तर विस्तारै विश्वमै चराहरुको संख्या घट्दै गएको पाइन्छ । यिनीहरु महत्वलाई बुझ्न नसक्दा संरक्षण र सम्वद्धनका लागि पनि खासै प्रभावकारी कदम चालिएको देखिदैन । अझ चराहरुको विषयमा अध्ययन अनुसन्धान गरेको कुरा त विरलै सुन्न पाइन्छ ।चराको महत्व बुझ्न नसक्दा मानिसहरुले जानेर र नजानेरै गरेका क्रियाकलापबाट चराहरु लोप हुँदै गएका छन् । शिकार गर्ने, विषादी प्रयोग गरेर मार्ने, बाली खाइदियो भनेर विभिन्न माध्यमबाट चरालाई विनाश गर्ने उपाय अपनाउने, जंगल तथा रुखविरुवा कम हुँदै गएकाले चराहरुले गुँड बनाउन र बच्चा हुर्काउने वातावरण नपाउने लगायतका समस्याका कारण नेपाल लगायत विश्वमा नै चराहरुको संख्या घट्दै गएको छ ।चराको महत्व थाहा नपाउँदा, यिनीहरुको विषयमा अध्ययनअनुसन्धान भइ जनचेतना नफैलिँदा मानिसहरुमा चरा संरक्षण गर्नुपर्छ भन्ने ज्ञान नै नभएको पाइन्छ । किसानहरुलाई आफ्नो खेतबारीमा फाइदा पुर्याउने चरा कुन हो र नोक्सान पुर्याउने चरा कुन हो भन्ने कुराको ज्ञान समेत नहुँदा किटनाशक औषधी प्रयोग गर्दा सबै किसिमका सुक्ष्म जीव र महत्वपूर्ण चराहरु पनि मरिरहेका छन् । चराको महत्व र फाइदा त के मानिसलाई यिनीहरुको नामसम्म पनि राम्रोसँग थाहा नभएको अनुसन्धानबाट पत्ता लागेको छ ।नेपालमा हाल ८८६ प्रजातिका चरा छन् । यसमध्ये २१ प्रतिशत चरा खेतबारीमा आश्रित छन् । यी खेतबारीमा आश्रित हुने चराहरु आहाराका लागि, आराम गर्न, बच्चा कोरल्न, गुँड बनाउन लगायतका कार्यका लागि खेतबारीमा निर्भर हुन्छन् । खेतबारीमा पाइने चराहरुमध्ये ११ प्रतिशत चराहरु संसारमै दुर्लभ मानिन्छन् । दुर्लभ चराअन्तर्गत सारस, भुँडीफोर, गरुड, लोभीपापी गरुड, लघु महाचील, बगाले बगेडी लगायत पर्छन् भने सामान्य चरामा टुइँसी सगा, कण्ठे ढुकुर, घुँगीफोर गरुड, कालो चिबे, मुसे चील, वस्तु वकुल्ला, भद्राई, काले झ्याप्सी, आली चुइँया, डाङ्ग्रे सारौँ पर्छन् ।तर नेपालमा चराहरुलाई प्राथमिकतामा राखेर अध्ययन अनुसन्धान गरेको पाइदैन । जसले गर्दा नेपालमा भएका यस्ता चराहरुको अवस्था कस्तो छ भन्ने ज्ञान खासै छैन ।चराविद् हेमबहादुर कटुवालले सन् २०१८/१९ मा नेपालका चार जिल्लाका ७४३ जना किसानसँग चरासम्बन्धी अनुसन्धान गर्नुभएको थियो । कपिलवस्तु, चितवन, सर्लाही र सुनसरीका अनुसन्धानमा समावेश गरिएका ६२ प्रतिशत मात्र किसानले देखाइएका चरामध्ये कम्तीमा एउटा चरा देखेको बताएका छन् । तीमध्ये पनि ५७ प्रतिशतले आफूले देखेको भनेको चराको नाम भन्न सकेनन् । सामान्य चराहरु धेरैले चिनेको पाइयो भने दुर्लभ चरा चिन्ने मानिस पनि दुर्लभै पाइए । चरा देखेका किसानमध्ये ३० प्रतिशतले मात्र कम्तीमा एउटा चराको गुँड देखेको बताए ।अध्ययन गरिएको चार जिल्ला मध्ये चितवनका किसानले बढी चरा चिनेको पाइयो भने सर्लाहीका किसानले कम चरा चिनेको पाइयो । चरा संरक्षित क्षेत्रका किसानले बढी चरा चिनेका र संरक्षित क्षेत्र बाहिरका किसानले कम चरा चिनेको पाइएको छ । दुर्लभ चरा भने संरक्षित क्षेत्र बाहिरका किसानले बढी चेनेको अध्ययनबाट पत्ता लागेको छ ।किसानहरुलाई चराको संख्या बारे बुझ्दा ४८ प्रतिशतले घटेको, ११ प्रतिशतले बढेको र २२ प्रतिशतले उस्तै रहेको बताए । अध्ययनबाट लोभीपापी गरुड, भुँडीफोर गरुड र बगाले बगेडीको संख्या सबैभन्दा बढी घटेको पाइएको छ । चराले खेतबारीमा फाइदा पुर्याउँछन् भन्ने कुरा ५८ प्रतिशत किसानले मात्र बुझेको पाइयो तर बुझेका किसानले पनि चराले पुर्याउने फाइदा सिमित मात्र बताए । बालीमा लाग्ने किराफट्यांग्रा खाइदिन्छ र परागसेचन गरेर फाइदा पुर्याउने कुरा मात्र थोरै किसानलाई थाहा भएको पाइयो । अधिकांश किसानहरु चरालाई हेर्नका लागि मात्र राम्रो हुने बताउँछन् । २३ प्रतिशत किसानले सुगा मन पराए तर धेरै किसान सुगाले बाली खाइदिने भएकाले मन पराउँदैनन् ।यो अध्ययनबाट मानिसहरुलाई चराका बारेमा ज्ञान नभएको स्पष्ट हुन्छ । ज्ञान नभएपनि चरा मार्नु अर्थात चराको संरक्षणमा जिम्मेवार किसानले ध्यान नदिनु सामान्य नै हो । प्राय मानिसहरु केटाकेटी हुँदा र किशोरावस्थासम्म पनि चरा मार्न हिँड्ने गरेको देखिन्छ । मारेर खानका लागि शिकार नै गर्न हिँड्ने मानिसहरु पनि छन् । बाली खाइदियो भनेर किसानले खेतमा विषादी प्रयोग गरेर पनि चराहरु मर्दै गइरहेका छन् । उपयुक्त वासस्थानको वातावरण नहुनु, प्रदुषण बढ्नु, खानेकुराको अभाव हुनु, रोग लाग्नु, जलवायु परिवर्तन हुनु र करेन्ट लाग्नु पनि चरा लोप हुँदै जानुको मुख्य कारण भएको चराविद् कटुवालको भनाइ छ ।मानिसलाई चरा मार्नु पनि कानुनविपरीत हो भन्ने कुरा थाहा नभएकै कारण चरा मारिरहेको पाइन्छ । अन्य ठूला जनावर मार्दा कानून लाग्ने कुरा थाहा पाएका मानिसलाई पनि चरा मार्दा कानून लाग्छ भन्ने कुरा ज्ञान नभएको अनुसन्धानबाट पत्ता लागेको छ । संरक्षित क्षेत्र भनिएकै ठाउँका किसानलाई पनि कानूनका विषयमा ज्ञान नभएको पाइएको छ ।चराहरुको अवस्थाबारे बुझ्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्राथमिकताका साथ अध्ययन अनुसन्धान गरिनुपर्ने विज्ञहरु बताउछन् । खेतबारीमा हुने चरा तथा अन्य जनावरका बारेमा पनि अध्ययन गरी यिनीहरुको संरक्षणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिएको छ । त्यसैगरी किसान र बच्चाहरुलाई पनि चराको बारेमा जानकारी दिन विद्यालयस्तरबाटै चरा सम्बन्धी सामाग्री तयार गरी अध्ययन अध्यापन गर्ने गराउने अवस्था सिर्जना गरिनुपर्छ । चराको चोरी सिकारी रोक्ने, कानूनी जानकारी गराउने र कडा रुपमा लागू गर्ने, जनचेतनाका कार्यक्रमहरुको आयोजना गर्ने लगायतका कार्य गरी खेतबारीमा लोप हुँदै गएका चराहरुको संरक्षण गर्नु आवश्यक छ ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८ ०२:४५