–प्रेमलकुमार खनालविश्व कम्युनिष्ट आन्दोलनमा कम्युनिस्ट लिग हुदै पहिलो अन्तर्राष्ट्रिय केन्द्रको स्थापनादेखि नै दक्षिणपन्थी अवसरवादका विरुद्ध वैचारिक संघर्ष सञ्चालन हुँदै आएको छ । दक्षिणपन्थी अवसरवादले बिशेषतः मार्क्सवादले अगाडि सारेको पूँजीवाद विरुद्धको वर्ग संघर्षलाई भुत्ते बनाउने, सर्वहारा श्रमजीवी वर्गको राज्यसत्तामा अधिनायकत्वलाई अस्वीकार गर्ने, पूँजीवादी व्यवस्थामा सुधार गरेर समाजवाद स्थापना गर्न सकिन्छ भन्ने मान्यतालाई अगाडि सारेर क्रान्तिको अनिवार्य नियमलाई अस्वीकार गर्ने, एक देशमा मात्रै समाजवाद स्थापना हुन सक्तैन भन्ने दृष्टिकोण अगाडि सार्दै यसले बैज्ञानिक समाजवाद स्थापनाका लागि वर्ग संघर्ष र क्रान्ति अनिवार्य शर्त हो भन्ने मार्क्सवादी मान्यतालाई अस्वीकार गर्दछ । दक्षिणपन्थी अवसरवादले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई अस्वीकार गर्दछ । पार्टीभित्र छुट्टै गुटबन्दीपूर्ण अभ्यास गरेर आफ्नो शक्ति आर्जन गर्ने , संगठनात्मक विधिलाई अस्वीकार गर्ने,सर्वहारा श्रमजीवी मजदुर, किसानको भूमिकालाई क्रान्तिमा निर्णायक नठान्ने, चरणवद्द क्रान्ति गरेर समाजवादमा जान सकिन्छ भन्ने मान्यतालाई अस्वीकार गर्दछ ।विश्व कम्युनिस्ट आन्दोलनभित्र देखापरेको दक्षिणपन्थी अवसरवादका विरुद्ध कार्ल मार्क्स, एंगेल्स र लेनिनले तीव्र रुपमा वैचारिक संघर्षको नेतृत्व गरेका थिए । सन् १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्र“ कम्युनिस्ट लिग “ मार्फत जारी भयो । घोषणापत्र जारी भए पछि संशोधनवादीहरुले विरोध गर्न थाले । लिगबाट घोषणापत्र अनुरुपको कार्यक्रम अगाडि बढाउन संशोधनवादीहरुले व्यवधान खडा गरेपछि लिग विघटन भयो । फेरि मार्क्सवादको प्रकाशपुञ्ज फैलाउने उद्वेश्यका साथ मार्क्सकै अगुवाइमा सन् १८६४ पहिलो अन्तर्राष्ट्रिय केन्द्र गठन भयो । सन् १८८९ मा दोश्रो र सन १९१८ मा गठन भएको तेस्रो अन्तर्राष्ट्रिय केन्द्रभित्र दक्षिणपन्थी अवसरवादका विरुद्धको संघर्षले मार्क्सवादको सत्यतालाई झन तिखार्ने काम गर्याे । रुसी क्रान्तिका क्रममा लेनिनले दक्षिणपन्थी अवसरवादको विचारका वाहक नरोदवाद र मेन्सेविकहरुका विरुद्ध भीषण ढंगले वैचारिक संघर्ष गरेकै परिणामस्वरूप रुसमा फरवरी क्रान्ति हुदै अक्टोबर क्रान्ति सफल भएर समाजवाद स्थापना गर्न सफलता प्राप्त गरेको थियोे । रुसमा लेनिनको अगुवाइमा समाजवादको स्थापना भयो । लेनिनको निधनपछि स्टालीनले सोभियत संघको समाजवादी अभियानलाई अगाडि बढाउने काम गर्नुभयो ।स्टालीनको निधनपछि सत्ता र पार्टीमा ख्रुश्चेभ नेतृत्वमा आए । ख्रुश्चेभ सत्तामा आएपछि समाजवादी निर्माणको अभियानमा संशोधनवादी र दक्षिणपन्थी अवसरवादी बाटो लिए । रुसी कम्युनिस्ट पार्टीको बिसौं अधिवेशनमा ख्रुश्चेभले “महान बहस “ नामक प्रतिवेदन प्रस्तुत गरे । ख्रुश्चेभले स्टालीनका योगदानहरुलाई नामेट पारेर वर्ग समन्वयवादी धारवाट कम्युनिस्ट पार्टीलाई सञ्चालन गर्ने दृष्टिकोण अगाडि सारे । यसै सन्दर्भमा सन १९६० मा विश्वका कम्युनिस्ट पार्टीहरुको सम्मेलन भयो । त्यस सम्मेलनमा ख्रुश्चेभले अब “ सर्वहारा वर्गको होइन, सम्पूर्ण जनताको राज्य “ , “शान्तिपूर्ण सहअस्तित्व“ , “शान्तिपूर्ण तवरले समाजवादको“ पक्षमा वकालत गरे । ख्रुश्चेभको यस लाइनलाई चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले खुलेर विरोध गर्दै मार्क्सवादी लेनिनवादी सिद्धान्त र आदर्शबाट कम्युनिस्ट पार्टी संचालन गर्नु पर्दछ भन्दै माओत्सेतुङले वर्ग संघर्ष र सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्वको पक्षमा जोडदार रुपमा विचार राखे पछि उक्त सम्मेलनमा दुई लाइन देखा परि तीव्र बहस र विवाद भयो । यही बहस र विवादले नै विश्व कम्युनिष्ट आन्दोलनमा दुईवटा धारा समाजवादी चीन र ख्रुश्चेभको संशोधनवादी धारा देखा पर्याे । विभिन्न देशका कम्युनिष्ट आन्दोलनमा अन्तरसंघर्ष शुरुआत भयो । यहीँ अन्तरसंघर्षले कम्युनिष्ट पार्टीहरु विभाजित र पुनर्गठित पनि भए ।ख्रुश्चेभले विश्व कम्युनिष्ट आन्दोलनमा फैलाएको संशोधनवादी एवं दक्षिणपन्थी धाराले ३० वर्ष पुग्दा नपुग्दै सन १९९० मा सोभियत संघमा गोर्वाचोभको नेतृत्वमा कम्युनिस्ट पार्टी विघटन भयो । समाजवादी व्यवस्थाको ठाउँमा पूँजीवादको पुनरुत्थान भयो । ख्रुश्चेभले कम्युनिस्ट पार्टीमा विजारोपण गरेको संशोधनवादी एवं दक्षिणपन्थी धारले समाजवाद निर्माणको सवालमा चुनौती खडा गरिदियो । कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गको नेतृत्वको सवाल र वर्ग संघर्षको सवाललाई वेवास्ता गरेर शान्तिपूर्ण सहअस्तित्व र वर्ग समन्वयको लाइनलाइ समातेका कारण नै कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद मौलायो ।नेपालमा विसं २००६ सालमा पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि मार्क्सवादी सिद्धान्तको आलोकमा पार्टीको सिद्धान्त , रणनीति ,कार्यनीति ,कार्यनीति ,कार्यक्रम तयार भयो । तर पहिलो महाधिवेशनदेखि नै पार्टी स्थापनाका प्रस्थापनाहरुमा संशोधनवादी धारा देखा परेको थियोे । रुसमा १९६० मा भएको कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपालबाट केशरजंग रायमाझी गएका थिए । रुसबाट आएपछि रायमाझीले कम्युनिस्ट पार्टीभित्र रुसी स्ंशोधनवादी धाराबाट पार्टीलाई अगाडि बढाउने लाइनलाई अगाडि सारे । दोश्रो महाधिवेशनमा पुष्पलालले अगाडि सारेको कार्यनीति पारित भयो तर महासचिवमा भने राजापरस्त रुझान राख्ने केशरजंग निर्वाचित भए ।२०१७ पौष १ मा राजा महेन्द्रले फौजी कदम चालेपछि राजनीतिक दलहरु प्रतिवन्धित भए । केशरजंग रायमाझीले राजापरस्त नीति लिए । २०१७ फाल्गुनमा नेपाल कम्युनिष्ट पार्टीको भारतस्थित दरभंगामा दरभंगा प्लेनम ( बैठक ) भयो । यस प्लेनममा पुष्पलालले विघटित पुनःस्थापनाको राजनीतिक लाइन अगाडि सारेका थिए भने रायमाझीले संबैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रको लाईन र मोहनविक्रम सिंहले संविधानसभाको लाइन लिएका थिए । प्लेनमले पार्टीको तेस्रो महाधिवेशन गर्ने फैसला गर्याे । २०१९ मा भएको तेस्रो महाधिवेशनमा पुष्पलालको मार्क्सवाद लेनिनवाद र माओत्सेतुङ विचारधारामा अडिग रहने र संसदपुनस्थापनाका लागि संघर्ष गर्ने विचार , तुलसीलालको न चीनतर्फ न रुस कतैतर्फ पनि रुझान नराख्ने र सर्वसत्ता सम्पन्न संसदको नीति रहेको थियोे । उता रायमाझीले भने ख्रुश्चेभको नीतिलाई अगाडि सारे । तेस्रो महाधिवेशनले रायमाझीलाई पार्टीवाट निश्काशन गर्याे ।यसरी २० को दशक देखि नै नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादका विरुद्धको वैचारिक संघर्षबाट विभाजित भएको कम्युनिष्ट आन्दोलन तीसको दशक देखि फेरि को–अर्डिनेशन केन्द्र, केन्द्रीय न्युक्लियस हुदै विभिन्न धाराबाट गठन पुनर्गठन र एकीकरण हुदै अगाडि बढ्यो । पचासको दशकमा आइपुग्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र कम्युनिष्ट आन्दोलनमा मूख्य धाराको रुपमा विकास भयो। २०६२÷६३ को गणतान्त्रिक आन्दोलनका क्रममा नेकपा एमालेभित्र दक्षिणपन्थी रुझान प्रकट भयो । पार्टीले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा लिएको स्थितिमा केपी ओली लगायत केही नेतृत्वले गणतन्त्रमा जान असहमति नै प्रकट गरेको स्थिति थियो । अझ अगाडि बढेर केपी शर्मा ओलीले त ठेला गाडा चढेर अमेरिका पुग्न नसकिने भन्दै गणतान्त्रिक आन्दोलनबाट राजतन्त्रको अन्त्य सम्भव नहुने भन्दै प्रकारान्तरले गणतान्त्रिक आन्दोलनलाई कमजोर बनाउने दृष्टिकोण अगाडि सारेका थिए । तर पनि आन्दोलनको राप र तापले श्रृजना गरेको विद्रोहले राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भयो ।नेकपा एमालेमा छैठौं महाधिवेशन देखि नै केपी शर्मा ओलीले भित्रभित्रै गुटबन्दीपूर्ण गतिविधि शुरुआत गरेका थिए । सातौ महाधिवेशनमा गुटबन्दी त्यति झाँगिन पाएको थिएन । तर त्यसपछि मदन भण्डारी फाउन्डेसन खोलेर संस्थागत हिसाबले शुरुआत गरेको गुटबन्दीको अभ्यास आठौं महाधिवेशनबाट पनि परस्त भयो । आठौं महाधिवेशनले २०६२/६३ बाट भएको युगान्तकारी परिवर्तनलाई शान्तिपूर्ण जनक्रान्तिको सफलता भएर पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्ष निकाल्यो । यस्तै नवौ महाधिवेशनले पूँजीवादी क्रान्ति सम्पन्न भएपछि समाजवादी क्रान्ति गरेर समाजवाद स्थापनाको दिशामा अगाडि बढने कार्यदिशालाई पारित गर्याे । तर केपी शर्मा ओली समूहवाट क्रान्ति सम्पन्न भएको निष्कर्षलाई आत्मसात् गर्न नसकेको स्थिति थियोे । यद्यपि पार्टीको राजनीतिक दस्तावेज महाधिवेशनबाट सर्वसम्मत पारित भएको थियोे ।नवौ महाधिवेशनको हलभित्रै केपी शर्मा ओलीले समाजवादी क्रान्ति गरेर अगाडि बढ्ने राजनीतिक प्रतिवेदनमा असहमति जनाएको स्थितिमा पनि अध्यक्षमा निर्वाचित भएको स्थिति रहयो । नीति एउटाले पेश गरेको पारित हुने तर नेतृत्वमा चाहि अर्को नै निर्वाचित हुने यो परिपाटीले दोश्रो महाधिवेशनको पुनरावृत्ति गरेको थियो । आखिर जेहोस् महाधिवेशनबाट निर्वाचित नेतृत्वले महाधिवेशनबाट पारित कार्यदिशा अनुरुप पार्टीलाई अगाडि बढाउनु पर्ने अभिभारा थियोे । तर २०७१ असारको नवौ महाधिवेशन देखि पार्टी एकता हुँदाको अवधि २०७५ जेष्ठ २ सम्म एमालेभित्र नवौं महाधिवेशनको कार्यदिशा अनुरुपको वैचारिक काम हुन सकेन । विचारधारात्मक कामको अभावमा पार्टीभित्र झन गुटबन्दी झांगिएर गयो ।पार्टीभित्र उत्पन्न गुटबन्दीपूर्ण स्थिति रहिरहेकै अवस्थामा पार्टीभित्र पार्टी एकताको सैद्धान्तिक ,वैचारिक आधार र कार्यदिशा बारेमा कुनै छलफल र जानकारी नदिइकन केवल निर्वाचनबाट पार्टी विजयी भएमा प्रधानमन्त्री र पार्टी एकताबाट पार्टी अध्यक्ष आफै हुने गरि माओवादीसँग एकताको सहमति एक्लैले गरेको स्थिति थियोे । पार्टी एकतापूर्व वामपन्थी एकता र सहकार्यका बारेमा अझ माओवादीसँग सबभन्दा खरो आलोचना गर्ने केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता गर्न सहमति गरेको कुरा आश्चर्यजनक विषय बनेको थियोे । यद्यपि वामपन्थीकाबीच एकता र सहकार्य आवश्यकताको विषय नै थियोे । यसरी सैद्धान्तिक वैचारिक आधारमा भन्दा पनि अवसरवादी एवं आत्मकेन्द्रित सोंचवाट नै पार्टी एकता गरिएको थियोे भन्ने कुरा त पार्टी र सरकार संचालनमा प्रदर्शित व्यवहार र कार्यशैलीले स्पष्ट पारिदिएकोछ।पार्टी एकता भए पछिका केपी शर्मा ओलीका पार्टी सञ्चालनमा लेनिनवादी सिद्धान्त र पार्टीको विधान विपरितका कार्यशैलीले दक्षिणपन्थी, विसर्जनवादी, अवसरवादी विखण्डनकारी, व्यक्तिवादी, सर्वसत्तावादी सोंच,गतिविधि र प्रवृत्तिको रुपमा प्रकट भएका छन् । यी गतिविधिले पार्टीलाई गम्भीर मोड र संकटमा पुर्याएको छ । यति मात्रै होइन केपी शर्मा ओलीको सरकार सञ्चालनका क्रममा भएको संविधान विरोधी गतिविधिले कम्युनिस्ट पार्टीको संविधान र लोकतान्त्रिक परिपाटी प्रतिको निष्ठामा धब्बा लगाउने काम भएको छ । व्यक्तिवादी , गुटबादी, र कम्युनिस्ट सिद्धान्त विपरितका गतिविधि र नवउदारवादी अर्थनीतिको आडमा सरकारले अगाडि सारेको नीति ,कार्यक्रम र बजेटले दलालपूँजीवाद मौलाएको छ र यसले मुलुकको आर्थिक विकास ,समृद्धि हासिल गर्ने र समाजवादको आधार निर्माणको दिशामा अगाडि बढने पार्टीको नवौ महाधिवेशनको कार्यदिशालाई आत्मसात् गरेको छैन । यसले समाजवादी क्रान्तिको गतिलाई पछाडि धकेलिदिएको छ ।अदालतको निर्देशनात्मक फैसलाबाट पार्टी एकता टुटन पुग्नु, सरकारको संविधान विरोधी गतिविधि, सरकार संचालनमा नवउदारवादी नीति अवलम्बन गरेर श्रमजीवी वर्गको हित र उत्थान भन्दा पनि दलालपुंजीवादलाई प्रश्रय दिने गरि यति होल्डीङ्ग,ओम्नी जस्तो कम्पनीको फाइदा हुने गरि गरेका कामले जनताका विचमा सरकारले लोकप्रियता गुमाउँदै गएको छ ।फाल्गुन २३ को अदालतको फैसलाबाट नेकपा एमाले २०७५ जेष्ठ २ को अवस्थामा पुगेको अवस्था छ । यही अवस्थाबाट एमाले अगाडि बढ्न जरुरी थियो । तर फाल्गुन २८ गते केपी शर्मा ओलीले आफ्नो गुट नजिकका व्यक्तिलाई मात्र वोलाएर विधान विपरित विभिन्न निर्णय गरेर नेकपा एमालेको एकतालाई पनि भांजो हाल्ने काम भएको छ । यसरी नेकपा हुदै पुनः एमालेमा आई पुग्दा भई रहेका विधान विपरीतका विभाजनकारी निर्णय र गतिविधिले गर्दा वामपन्थीहरूले अब दुई तिहाइ जनमत ल्याउन नसक्ने अवस्थामा पु¥याउने काम भएको छ ।अब पार्टीभित्र हुर्केको बुर्जुवाकरण, व्यक्तिवाद, नेता विशेषको देवत्वकरण गर्ने प्रवृत्ति, र दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध व्यापक बैचारिक संघर्ष गर्दै पार्टीलाई समाजवादी क्रान्तिको अगुवाइ गर्न सक्षम बनाउने दिशामा अगाडि बढन आवश्यक छ । र, पार्टीलाई राष्ट्र र जनताका अभिभारा पूरा गर्न अगुवाइ गर्न सक्नेगरि मार्क्सवादी लेनिनवादी सिद्धान्तले लैस पार्टीको रुपमा विचार ,संगठन र ,कार्यशैलीमा व्यापक पुनर्गठन गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनको दिशामा अगाडि बढन जरुरी छ ।(लेखक खनाल नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ )
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८ ०१:११