–मोहनप्रसाद मैनालीकाठमाडौं । जन्मदिनमा वृक्षरोपण अभियान प्रकृति संरक्षण, स्वच्छ वातावरण, सभ्य संस्कार सहितको असल मानव बन्न प्रोत्साहनको मूल उद्देश्य परिकल्पना गरेर सुरुवात भएको हो । यसका परिकल्पनाकार हुन् लमजुङ जिल्ला बेसीशहर–११, रामचोकबेसीका बासुदेव सेढाई ।आफ्नो जन्मदिनको अवसरमा २०७५ साल मंसिर २९ गते लमजुङको बेसीशहरमा विरुवा रोपेर जन्मदिन मनाउँदै सेढाईले नयाँ पवित्र र सन्देशमुलक अभियानको सुरुवात गरेका थिए । प्रकृतिको बढ्दो दोहनलाई रोक्न प्रकृति संरक्षण, बढ्दो वातावरण प्रदुषण नियन्त्रण गर्न स्वच्छ वातावरण र मानिसमा भएको नकारात्मक सोच, नराम्रो कामको समाप्ति सकारात्मक सोच, असल र पवित्र कामको सुरुवातको प्रतिकका रुपमा विरुवा रोपेर जन्मदिन मनाउने संस्कारको सुरुवात भएको अभियन्ताको सेढाईकाे भनाइ छ ।
प्रकृति वातावरण र मानव सभ्यता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको अभियान आज देशका धेरै जिल्लामा र विदेशमा बस्ने नेपालीहरुले समेत सुरुवात गरेका छन् । अभियन्ता सेढाईले यो अभियानलाई विश्वव्यापी बनाउने र आम मानिस जातीमा प्रकृति सेवामा उत्प्रेरित गर्ने उर्जा पैदा गर्ने बताउनुभयाे । नेपाल र नेपालीलाई विश्व जगतमा प्रकृति र वातावरणमैत्रि असल र सभ्य नागरिक भएको देशको रुपमा परिचित गराउने अभियानको उद्देश्य उहाँ बताउनुहुन्छ ।
प्रकृति संरक्षण : मानिस प्रकृतिको पुजारी हो त्यसैले प्रकृतिको संरक्षण पहिलो प्राथमिकतामा राख्नुपर्छ । विकास परियोजना निर्माण गर्दा सकेसम्म प्रकृति र वातावरणमा कम क्षति हुने गरी गर्ने र निर्माण सम्पन्न पनि त्यसको क्षति सकेसम्म पूर्ति हुनुपर्छ । वनजंगल पानीको स्रोतको संरक्षण, मानिस लगाएत सृष्टिका सबै प्राणीको हित र संरक्षण, जलवायु परिवर्तनको कारणले हुने नकारात्मक प्रभाव र पृथ्वीको तापक्रम नियन्त्रण, फलफूल जडिबुटी र सम्पूर्ण वनजन्य उत्पादनमा आत्मनिर्भरका साथै निशुल्क उपभोग,अक्सिजन बढिदिने भूक्षय रोक्ने, प्राकृतिक विपदलाई न्यूनिकरण गर्ने, माटो हावापानी अनुसार लाभदायक विरुवा रोप्ने संरक्षण गर्ने र त्यसबाट लाभ लिने लगाएत प्रकृतिसँग सम्बन्धित सबैको हित र संरक्षणमा जोड दिने अभियानको उद्देश्य अत्यन्तै स्वागतयाेग्य छ ।
वातावरण स्वच्छता: स्वच्छ जमिन स्वच्छ हावा, स्वच्छ आहार र स्वच्छ विचारको परिकल्पना गरिएको छ । बढ्दै गएको औधोगिकरणले वायुमण्डलमा पारेको नकारात्मक प्रभाव कम गर्न वृक्षरोपण आवस्यक छ । जमिन वा कुनै पनि खेतीपातीमा विषादीको प्रयोग नगर्ने, उपभोग्य बस्तुहरु स्वच्छ र अर्गानिक मात्रै उपभोग गर्ने । हराभरा र प्रदुषण मुक्त वातावरणको अभियानले परिकल्पना गरेको छ ।
असल मानव : उच्च नैतिक आचरण,ईमानदार ,कर्तव्यनिष्ठ,परिश्रमी , सभ्य संस्कार सहितको असल मानवको परिकल्पना गरिएको छ । अभियान यस्तो साझा चौतारि हुनेछ बिश्वका सबै मानिसहरुले चौतारिमा बसेर आनन्दको अनुभुती गरुन् । बिश्वभर रहेका सम्पूर्ण मानव जातिमा शान्ति एकता सद्भाव कायम हुनेछ । सबै बाँचौं सबैलाई बचाऔं सिद्धान्त लागू हुनेछ । सम्पूर्ण अपराधीक गतिविधि अन्त्य गरे सबै प्राणीहरु आ ( आफ्नो ठाउँमा बस्न र बाँच्न पाउने अधिकारको सुरक्षा असल मानवले गर्नेछ किनभने यो सृष्टिको चेतनशील प्राणी हो । अभियानले सम्पूर्ण मानव जातिमा नैतिक शिक्षाको काम गर्नेछ ।
माथि उल्लेखीत ३ मुख्य विषयमा केन्द्रित भएर सुरुवात भएको अभियानले लोकप्रियता हासिल गर्दै सबैको साथ सहयोग र समर्थन प्राप्त गर्दै जान थालेपछि यसलाई व्यवस्थित बनाएर अगाडि बन्ने उद्देश्यका साथ दुई वर्षपछि अभियन्ता सहयोगीको साथमा अभियान विधिवत रुपमा जिल्ला प्रशासन कार्यलय लमजुङमा दर्ता भएकाे अभियान्ता सेढाईले बताउनुभएकाे छ ।अभियन्ता सेढाईको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति बनेकाेमा उक्त समितिको कार्य अवधि सकिएपछि पुन: सेढाईकै अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ । अभियानको उद्देश्य प्राप्तिका लागि यसलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन सल्लाहकार समिति पनि बनाइएकाे छ । एकजना व्यक्तिले सुरुवात गरेको यो अभियानले आज एउटा संस्थागत रुप धारणा गरेको छ यसको श्रेय आफ्नो जन्मदिनको अवसरमा वृक्षरोपण गरेर प्रत्यक्ष रुपमा संलग्न अभियन्ता, अभियानका शुभेच्छुक, सहयोगी,समर्थकहरुलाई जाने उहाँ बताउनुहुन्छ ।याे पवित्रा र महत्त्वपूर्ण अभियानमा वरिष्ठ सञ्चारकर्मीहरु, समाजसेवी, बुद्धिजीवी, राजनीतिक व्यक्तित्वहरु, नेपाल सरकारका कर्मचारीहरु, विद्यार्थीहरु, बैंक वित्तीय क्षेत्रका कर्मचारीहरु लगाएत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्वहरु र आम नागरिकहरुसमेत प्रत्यक्ष रूपमा जोडिए अभियानमा थप उर्जा प्रदान गरेकाे अध्यक्ष सेढाई बताउनुहुन्छ । रोपिएका विरुवा संरक्षण गरी त्यसबाट लाभ लिने, वृक्षारोपणको महत्त्व बारेमा प्रचारप्रसार गर्ने र मानिसलाई असल बाटोमा लैजाने विषयमा जिम्मेवार भएर अघि बढिरहेकाे अभियान विश्वब्यापी मान्यता प्राप्त गर्नका लागि क्रियाशिल रहेकाे छ ।