काठमाडौं । भृकुटीमण्डप भित्रको ३१ रोपनी जग्गामा एउटै छाप्रो छ । छाप्रो मुठीभरीको बाँसको किला र बाँसकै झिँजा तथा भाटाहरुमा ठ¥याइएका छन् । माथिबाट प्लास्टिकको छाना छ । त्यसमाथि हावाले उडाउला भनेर पुरानो टायरले थिचिएको छ ।
छाप्रो भित्र १३ सय ४ वटा पसल छन् । प्लास्टीकको घरभित्रको छाप्रोमा राखिएको पसलहरुमा अर्बौ अर्बको सामान पनि छ । अधिकांश पसलमा बिक्रिको लागि कपडा राखिएको छ । छाप्रो भित्रको पसलमा किनमेलका लागि आएका ग्राहक र पसले गरेर हरहमेसा १० हजार मानिस हुन्छन् । कथंमकदाचित आगलागी जस्तो दुर्घटना भयो भने ३१ रोपनीमा फैलिएको यो छाप्रो भित्र रहेका हजारौं मानिस कत्तिको सुरक्षित रहलान ?
पसलहरुमा विद्युतको तार जताततै तानिएको छ । मूल तारलाई काटेर पसल पसलमा कनेक्सन गरिएको छ । हजारौं ठाउँमा तार काटेर कनेक्सन गरिएको छ र सामान्य टेपले मात्र वेरिएको छ । वर्षा हुँदा छाप्रोको ठाउँ ठाउँमा पानी चुहिन्छ । पानी चुहिएर वा अन्य कुनै कारणले कुनै स्थानमा स्पार्किङ्ग भयो वा सट सर्किट भयो भने आगलागी हुने प्रवल संभावना रहन्छ । यो छाप्रो शहरको मध्य भागमा बारुदको डंगुर थुपारे जस्तै छ ।
३१ रोपनी लम्बाइ चौडाइ रहेकोे छाप्रोमा उत्तरवाट पसेपछि एकैपटक दक्षिणतिर निस्कन सकिन्छ । सामान ओसार पोसार र ग्राहकका लागि बीचबीचमा साना साना गल्ली बनाइएको छ । छाप्रोको पूर्वपट्टी घर पसलहरु छन पश्चिम तर्फ सडकको अग्लो भित्ता । दायाँ बायाँ भाग्ने बाटो छैन । छाप्रो भित्र रहने पसले तथा महिला र केटाकेटीहरु समेतका ग्राहकहरु भागेर ज्यान जोगाउन पनि मुस्किल छ ।
३१ रोपनीमा फैलिएको यो छाप्रो सबै बाँसको किला,झिँजा र भाटा प्रयोग गरी बनाएको छ । हरेक पसलले सामानहरु त्यहीं बाँसको किला, झिँजा र भाटामा झुण्ड्याएका हुन्छन् । माथीबाट टायरको भार उत्ति नै छ । ठूलो हावा हुरी आउँदा पनि छाप्रो गल्र्याम गुर्लुम ढल्ने संभावना उत्तिकै छ । हावा हुरी आउँदा छाप्रो भित्रका पसलहरु त्राहिमाम हुन्छन् ।
हुन त २४ वर्ष वित्यो छाप्रो पसल संचालन भएको तर अहिलेसम्म जीउधनको क्षति हुने गरी दुर्घटना भएको छैन । तर १० वर्ष अघि यस छाप्रोमा आगलागी भएको र लगभग २५ वटा पसल बराबरको क्षेत्र जलेर नष्ट भएको थियो । रातको समयमा छाप्रो खाली भएको कारण ठूलो अप्रिय घटना हुन पाएन ।
बाँकी भिडियो हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=2fXTEkH0nSI