-मञ्जु काँचुली
मेरी विमात्री (सौतेनी) आमाले पहिले आफ्ना हातगोडा सफासँग धुनुभयो । अनि फेरि नुहाउनुभयो । हात र गोडाका नङमा राता पालिस पनि लगाउनुभयो । त्यतिबेलाको चलन गोडाका कुर्कुच्चा र गोडाका वरिपरि माहुर (रातो रङ्ग) पनि लगाउनुभयो ।
छिमेकीहरू कुरा काट्थे, ‘यो विधवीलाई कति धेरै रातो मनपरेको होला ।’ मलाई भने उहाँको नङको रातो पालिस मात्र होइन उहाँको निधारको अखण्ड रातो टीका पनि औधी मनपर्ने गथ्र्यो यसैले कि विधवाले रातो लगाउनु भनेको हाम्रो प्रचलित संस्कृतिको विरोध गर्नु हो । संस्कृतिको विरोध गरेको मलाई औधी मनपर्छ । एक दिन छिमेकी राष्ट्रको ध्वनि र उच्चारण गरेर नेपालीमै भक्तिदर्शनका प्रवचन दिने एक जना आत्मज्ञानी महायोगी ब्रह्मचारी बाबाको काठमाडौँको शहरमा अचानक प्रवेश भयो । उहाँ यो रङ्गीचङ्गी सहरमा थोरै दिनमा नै निक्कै लोकप्रिय बन्नुभयो । लोकतन्त्र होस् कि निरङ्कुशतन्त्र उहाँ सबै लोक र सबै कालका (भूत, भविष्य, वर्तमान) ब्रह्मज्ञाता योगी महाराज हुनुहुन्थ्यो । उहाँका नाममा भण्डारा, उहाँका नामका सालिक, सङ्गठन, चन्दा, अनधिकृत भूमि, गाई, गोठहरू कति हो कति, साम्राज्य नै फैँलँदै थियो ।
राजनीतिको धन्दा फस्टाएको भूमिमा ब्रह्मज्ञान वा आध्यात्मज्ञानको धन्दा पनि झन्–झन् राम्ररी फस्टाउँदै गएको थियो । यो बहुसङ्ख्यक हिन्दू भएको उर्वरा पुण्यभूमिमा । म यौटी सत्र वर्षकी काँची केटीलाई यो यति ठूलो लाभदायक क्षेत्रको फुटीकौडी ज्ञान थिएन । म पनि आफ्नी विमात्री (सौतेनी आमा)सँग धार्मिक प्रवचन सुन्न एक दिन साथै जाने भएँ किनकि त्यतिबेलाकी उहाँ, महिला भएकीले खान्दानी परम्परा जोगाउन एक्लै हिँड्नु हुन्थेन । सन्त ज्ञानी ब्रह्मचारी बाबाको प्रवचन सुन्न म पनि खुशी हुँदै उहाँको साथ लागेँ ।
मेरा दुवै आमाहरू विधवा थिए । उहाँ जेठी चाहिँ हुनुहुन्थ्यो । मेरा बुबाको स्वर्गारोहण हुँदा म सात वर्षकी थिएँ रे । सांस्कृतिक भवनको प्रवचन–कक्ष सिनेमा हलभन्दा पनि रौनकमय थियो । वातावरण देखेर म चकित भएँ । म चकित भएका केही विषय र कारणहरू निम्न थिए : (क) बूढीहरूको वृहत् शृङ्गार, अधबैँसेका त्योभन्दा अलि कम शृङ्गार र योवनाहरूको विना शृङ्गारले सुसज्जित अनुहारहरू थिए । (ख) प्रवचन–कक्षलाई धूप, अत्तर, महिलाले अनुहार र शरीरमा घसेका शृङ्गारिक प्रशोधनका साधनहरू, पूmल, फलपूmल, मिठाइ, अखण्ड अन्न, अखण्ड दीप आदिका मिश्रित अनगिन्ती सुगन्धले वातावरणीय प्रदक्षिणा गरिरहेका थिए । (ग) सन्त–त्यागी–सन्यासी–ब्रह्मचारी योगी महाराजको दिसा धुने लोटाको पानीमा भक्तिनीद्वारा मिसाइएका एक सिसी ल्याभेन्डर अत्तर थियो र प्रिय महिला भक्तजनको उपहार स्वरूप विभिन्न प्रकारका महँगा क्रिम–पाउडरहरू पनि नेपथ्यमा देख्न पाइयो । (घ) भक्तजनभन्दा भक्तिनीहरूको भीडभाड बढी थियो । उनीहरू प्रवचन सुन्नमा भन्दा आफ्ना गहना, साडी र श्रृङ्गार मिलाउनमा बढी व्यस्त र ध्यानाकर्षित देखिए । (ङ) महिला समाजका साडी, गहना, महँगा श्रृङ्गार आदिको प्रतिस्पर्धात्मक मुस्कान र हेपान एक अर्काको हेराइ, बुझाइ र वार्तालापमा प्रष्ट थियो ।
योगी महाराजका कालजयी वाणी यसरी व्यक्त भए– “तृष्णालाई विस्तार–विस्तार त्याग्दै जानुपर्छ । काम–वासनालाई त्यागेर गीताको कर्मयोग धारण गर्नुपर्छ । कामना वा विषय भोगलाई छाडेर यही जुनीमा मोक्ष प्राप्त गरेर आनन्द महसुस गर्ने गर्नुपर्छ । यही नै मानव–धर्म हो । योगमा शक्तिबल हुन्छ । भोगमा शक्ति र बलको विनाश हुन्छ ।’
प्रवचनको सार–सङ्क्षेप पनि यही नै थियो । यति भन्नासाथ अकस्मात् स्वामी महाराजलाई भाउन्न होला झैं गरी रिँगटा लाग्यो रे । धैरैले अड्कल काटे, ‘भोको बसेर र अन्न नखाने जीवन ब्रतले गर्दा होला । त्यसो त दिनदिनै योगीलाई फलपूफूल मिठाई र नगदको भोग लाग्ने गरेकै थियो ।
‘खै के भा’को हो ब्रह्मचारी बाबालाई ! सबैको चिन्ताको विषय यही भयो । मञ्चबाट अर्को घोषणा भयो– ‘स्वामी महाराज शयन–कक्षमा केही समय आराम गरेर मात्र प्रवचन–कक्षमा फर्कनु हुनेछ ।’
एक घन्टा इन्टरभल भयो । केहीबेरपछि एक जना अधबैँसे भक्तले स्वामीजीको पाउ (खुट्टा) मिचेर सेवा गर्दै धर्म र मोक्ष प्राप्ति गर्ने लक्ष्यले विना अनुमति नै सरासर जबर्जस्ती अन्तर–कक्षमा प्रवेश गरे । उनको मनमा सानो शङ्काको लहरको झोक्का एक कुनादेखि अर्को कुनासम्म फैलियो, ‘स्वामीजी समाचारको आदानप्रदान पो गर्नमा व्यस्त छन् कि !’
धत्, यस्तो पनि चिताउनु ! पाप हो पाप !’ उक्त भक्तले देखे, स्वामीजी महाराज मस्त निदाउनुभएको । उहाँको सम्पूर्ण शरीर गेरु रङ्गको सिरकले ढाकेको ।
भक्तले ध्यानपूर्वक अगाडि उभिएर दुई हात जोडे । ब्रह्मचारी स्वामी महाराजको एकचोटी पाउ छोएर र मिचेर यही जुनीमा पुण्य प्राप्ति गर्ने उनलाई इच्छा जाग्यो । मौका नगुमाउने सल्लाह उक्त भक्तलाई उनको अन्तर्मनले दियो । त्यसैले उनले स्वामी महाराजको गोडापट्टि गएर गेरु सिरक उघारे ।
भक्तले स्वामीजीको गोडासँगै रातो नेलपालिसले सुसज्जित अर्का दुई स्त्री–गोडाहरू (एक स्त्रीको) पनि मायावी लीलामा अर्धमूच्र्छित झैं देखे । त्यसपछि त उक्त भक्त, ब्रह्मचारी महाराज र भक्तिनीका जम्मा गरी तीन जोर आँखाहरू एकैचोटि चकित भए । तिनै जनालाई भ्रमझैँ लाग्यो । किनकि स्वामीजीका अमर वाणीअनुसार हामी बाँचेको संसार नै भ्रमजाल त हो ।
बाहिर प्रवचन–कक्षमा ठूलो स्वरमा उद्घोषण भयो– ‘भक्तजनहरू ! शान्त भएर आ–आफ्नो आसनमा बसिदिनु होला । स्वामी महाराजको प्रवचन फेरि शुरू हुँदै छ । प्रवचनको विषय हो “भौतिक युगमा ब्रह्मचारीको महत्व र तिनका फाइदा र काइदाहरू के–के हुन् ।”
वातावरण स्तब्ध भयो । भक्तजनहरूलाई पनि आफ्नो ध्यान, सांसारिक विषय वा मायावी वस्तुबाट हटाएर प्रवचनमा केन्द्रित गर्न बडो मुस्किल भयो । मनमनै आफ्ना सङ्ग्रहीत तृष्णा र आन्तरिक मागका विषयवस्तुहरूको मनन गर्दै थिए । साक्षात् भगवान् स्वामी महाराजको रङ्गमङ्चको उपस्थितिमा मनमनै व्यग्रतापूर्वक एक–एक गरी माग्नका लागि भनेर । विश्वास नै त हो सबभन्दा ठूलो कुरा !
त्यत्तिकैमा ब्रह्मचारी महाराजको स्टेजमा उपस्थिति भयो । यतिबेला उहाँको शिर न त दर्शकवृन्दमा केन्द्रित थियो न त स्वयम्सेवी भक्तजनमै थियो । भुइँतिर मात्र हेरेर भर्खर गृहप्रवेश गरेकी नवदुलहीको झैँ नुहेको थियो । स्वामी महाराजले ओढ्नुभएको गेरु रङ्गको सिरग भित्रभित्रै अकस्मात्, दनदनी बलेको आगलागीमा परिणत भयो । किनकि यस्तै भएको भक्तले आफ्नै आँखाले देखे ।
भक्तले आफ्ना आँखा दुवै हातले मिचे मानो कि उनले आफ्नो आँखाको पलकलाई मण्डी वा पाखी बनाएर ठूलो समुद्रको पानीमा चोपले र त्यो गेरु सिरकभित्रको आगो निभाउने प्रयत्न गरे । अझै झिल्काहरू बाँकी नै थिए । भक्तले आँखा उघारे । स्वामीजीको महावाणीलाई सम्झे, ‘भ्रम हो भ्रम ! यो दृष्टिभ्रम हो ! संसार भ्रम हो ! प्राणीहरू भ्रम हुन् ! मायाजाल भ्रम हो ! मनुष्य–क्रीडा भ्रम हो ! यो जगत् नै भ्रम हो !’
उसोभए सत्य के हो त ? उनको (भक्तको) मनको घनघोर प्रश्न यही रह्यो । त्यो पनि स्वामी महाराजलाई नै सोध्नुपर्ला । तर ती निभ्न नसकेका आगोका झिल्काहरू स्वामी महाराजका प्रवचनमा लयबद्ध दुवै आँखामा उक्त भक्तले हरहमेशा देखिरहन लागे ।
प्रवेश गर्नेबित्तिकै मञ्चमा प्रसारित आवाजको ध्वनिले हल गुञ्जित भयो, ‘ब्रम्हज्ञानी महाराजकी जय ! सन्त–ज्ञानी महात्माकी जय ! ब्रह्मचारी बाबा सन्यासी महाराजकी जय ! सद्गुरु स्वामी महाराजकी जय !’ सबै दर्शक र भक्तजनले नारालाई दोहोर्याएर आफ्ना–आफ्ना सद्भाव व्यक्त गरे । ध्वनि र प्रतिध्वनिले हल नै भाइब्रेसनले भरियो । स्वामी महाराजको शिर यसपटक अलिकति अझै निहुरियो ।
प्रवचन शुरू हुन लागिसक्यो । मैले आफ्नी विधवी विमात्रीलाई खोजेँ । कहीँ भेटिनँ । हलभित्र खोजेँ । हलबाहिर खोजेँ । सिटमा खोजेँ । स्टेजमा खोजेँ । उहाँ कहीँ पनि भेटिइनु भएन । दिनदहाडै उहाँ कसरी–कहाँ बेपत्ता हुनुभयो ? मलाई अचम्म लाग्यो । एक्लै सोचेर आफ्नो अशान्त मनलाई शान्त पारेँ । ट्वाइलेट जानुभा होला । अहिले आइहाल्नु हुन्छ नि ! उहाँको साथी बनेर म आएकी । मलाई उहाँले अवश्य नै छाडेर घर जानुहुन्न । उहाँको एक्लै हिँड्ने बानी पनि त छैन नि !
अनि मसँगै बसेकी एउटी भक्तिनीले मलाई भनिन्, ‘किन त्यसै पिरोलिएकी त्यसरी तिमी ? उहाँ स्वामी महाराजको भक्तिसेवामा भित्र कोठामा जानुभाको छ, अहिले आइहाल्नुहुन्छ नि ! प्रवचन शुरू हुनुअघि नै उक्त भक्तले स्वामी महाराजलाई प्रश्न गरे– ‘स्वामी महाराज ! उसोभए सत्य के हो ?’ उहाँबाट उत्तर भयो– ‘ब्रह्मसत्य जगत् मिथ्या !’
फेरि प्रश्न– उसोभए स्वामीजी, ब्रह्म के हो ?’ अति बिस्तार स्वामीजीको उत्तर– ‘ब्रह्म सृष्टिको लीलाक्रम हो । अहम् ब्रह्म !!! हलमा भीषण सन्नाटा छायो । सम्पूर्ण भक्तजन ‘अहम् ब्रह्म’को ध्यानमा मग्न र लीन भए ।