–निरूपा प्रसून
कथाकार रम्भा पौडेलको नयाँ कथासङ्ग्रह ‘अठोट’ प्रकाशित भएको छ । कथाकार स्वयम नारी भएर पनि हुन सक्छ केही कथाहरु नारीका समस्या, उल्झन र पिडाले भरिएका छन् । कथाहरु यही हाम्रा समाजका हाम्रा आँखाले देखेका दृश्यहरुलाई नै उनले कथामा उन्ने काम गरेकी छिन् । ७८ पृष्ठको यस कथा सङ्ग्रहभित्र १७ वटा कथाहरु समाहित गरीएको छ । सरल भाषा शैलीमा लेखिएको यस कथासङ्ग्रहभित्र मानव जीवनयापन गर्ने क्रममा आईपर्ने उल्झनहरुलाई चित्रित गरेकी छिन् । कथाकार रम्भा पौडेलको कथाहरुमा मान्छेका सम्बन्धहरुलाई केलाएर सम्बन्धका कथाहरु छन् ।
यस कथासङ्ग्रहको नाम कथा सङ्ग्रहभित्रका १७ वटा कथाहरु मध्येकै एउटा कथा ‘अठोट’ शिर्षकबाट राखिएको हो । ‘अठोट’ शारदाको कथा हो । ऊ घरकी बुहारी हुन्छे । उसले पढेलेखेकी हुन्न नपढेकै कारण आफु घरधन्दामा रुमलिनु पर्छ घरको काम जतिगरे पनि सासुले गाली मात्रै गर्छिन् । शारदालाई आफु अशिक्षित भएरै हो यस्तो भोग्नु परेको भन्ने लाग्छ । शारदाको श्रीमान् भने सहयोगी हुन्छ । शारदालाई सहयोग गरेको हुन्छ अक्षर चिनाउनकोलागि अलिअलि गर्दै पढ्न सिकेकी हुन्छे शारदाले । आफुले शिक्षा प्राप्त गर्न नपाएको हुनाले शारदाले आफ्नो सन्तानलाई शिक्षित बनाउने अठोट लिन्छे । कथाको यही निष्कर्षलाई नै कथाको शिर्षक बनाइएको हो । शिर्ष शिर्षक सार्थक रहेको छ ।
‘आमाको सपना’ शिर्षकको कथा यस कथासङ्ग्रहको पहिलो कथा हो । यो कथा सविता र उसकी छोरीको हो । वर्तमान समयमा छोरीहरु बलात्कार हुनुपरेको चिन्ताले सताइएकी एक आमाको मनोदशालाई यस कथामा प्रस्तुत गरिएको छ त्यसैगरि छोरीहरु लाचार र कमजोर मात्रै पनि हुदैनन् भन्ने अभिव्यक्ति यस कथामा पाइन्छ ।
यस कथा सङ्ग्रहभित्र विविध प्रकारका कथाहरु छन् । ‘देवकी’ ,‘असल मित्र’ ,‘टाढैबाट हेरेर’, ‘हिमालको राजा’ , ‘हराउँदै गरेको मानवता’ , ‘पश्चाताप’ , ‘पसिना , ‘बाइफाले’ , ‘घुम्टो , ‘कैचीँ र सियो’ , ‘ठक्कर र अक्कर ?’ , ‘धान दिवस’ , ‘जुनु’ , ‘भेटी’ र ‘हाकिम’ ।
कथा ‘हिमालको राजा’ रिता र सुगा पट्टुबीचको मित्रता अनि पट्टुको माध्यमबाट धेरै थरी चराहरुको चित्रण गरीएको छ यस कथामा । विभिन्न प्रकारका चराहरुको गतिविधि यसमा पाठकले भेट्नेछन् जुन निकै रोचक रहेको छ । त्यसै गरी नेपालको भौगोलिक विविधतालाई पनि यस कथामा प्रस्तुत गरिएको छ ।
त्यसै गरी ‘असल मित्र’ कथाभित्र स्कुल पढ्ने साथीहरु विनोद र हरिबीचको मित्रताको कथा रहेको छ । एउटा धनीको छोरा र अर्कोचाहिँ गरिबको छोरा हुन्छन् । तर उनीहरुबीचको मित्रतालाई केही कुराले पनि असर गरेको हुँदैन । आत्मिय र प्रगाढ रहेको हुन्छ उनीहरुबीचको मित्रता । यही भएरै यस कथाको शिर्षक असल मित्र राखिएको हुनुपर्छ ।
यस कथासङ्ग्रहकको बारेमा प्रा.डा. कपिल लामिछाने भन्छन् , ‘नारी जीवनका मर्म, पीडा, व्यथा र वेदना प्रकट भएका छन् । त्यसमा पनि खास गरी किशोर वयका आशा, अपेक्षा,उत्सुकता र समय–परिस्थितिले तिनमा पारेको तुषारापातलाई बडो मिहिन र कलात्मक सौन्दर्यका साथ प्रस्तुत गरिएको छ । भाषिक र कथाकौशलमा थप सम्पादनको खाँचो देखिए पनि युगिन नारीजीवनका धुकधुकीलाई उद्घाटन गर्न रम्भा पौडेलको कलम सफल भएको छ । यही नै प्रस्तुत कथासङ्ग्रहको प्रमुख प्राप्ति हो ।’
कथाकार रम्भा पौडेलको ‘अठोट’ कथा सङ्ग्रहभित्र बोलीचालीको भाषामा लेखिएको कथाहरु सन्देशमुलक र सोचनिय बिषयहरु समेटिएका छन् । हाम्रै समाजमा दिनहुँ घटिरहेका यथार्थ घटनाको श्रृखला नै कथाकार रम्भा पौडेलको कथाका बिषय हुन् । किशोरदेखि वयस्कसम्मका कथाहरु समेटिएका छन् । एउटै पुस्तकभित्र पाठकले फरक–फरक कथाका फरक–फरक स्वाद पाउने छन् । कथाहरु एक पठनीय कथासङ्ग्रह बनेर आएको छ कथाकार रम्भा पौडेलको ‘अठोट’ कथा सङ्ग्रह ।
लेखक : रम्भा पौडेल
विधा : कथा
प्रकाशक : कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान
मूल्य : १३५
पृष्ठ : ७८