-शम्भु दाहाल/ जनता समाचार
झापा । चौतर्फी आलोचना भए पछि बिर्तामोड नगरपालिकाको खोप काण्ड छानबिनका लागि नयाँ समिति गठन भएको छ । झापाका स्वास्थ्य कार्यालय प्रमुख योगराज घिमिलेको संयोजकत्वमा रहेको तीन सदस्य छानबिन समितिको चौतर्फी बिरोध भएसंगै सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालेको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले बिर्तामोडको खोप काण्ड ७ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने निर्णय गरेको छ।
छानबिन समितिको सदस्यहरुमा जिल्ला समन्वय समिति अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश थापा, सशस्त्र प्रहरी बल २ नम्बर गणका डीएसपी प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान झापाका अनुसन्धान अधिकृत किरण भट्टराई छन् ।
बैठकले बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्कालाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मको लागि खोप सम्बन्धि कुनै गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ । बैठकले जिल्लामा खोप लगाएको तथा खोप सम्बन्धि सम्पूर्ण विवरण सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
यसै बीच झापाका ५ राजनीति संगठन र उद्योग बाणिज्यसंघ बिर्तामोडमाले समेत विज्ञपति जारी गरेर निश्पक्ष छानबिनको माग गरेका छ्न् ।
बिर्तामोडका नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले पनि विज्ञपति जारी गर्दै ७ सदस्य छानबिन समितिले छानबिन गरेर दोषी उपर कारबाही हुने बताउनुभएको छ।