काठमाडौं । शनिवार मेलम्ची नदीमा दोस्रो पटक आएको बाढीले पुनः ठूलो पुर्याएको छ । बाढीले कम्तीमा १३ घर बगाएको छ तर क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।
स्थानीयका अनुसार पछिल्लो १०० वर्षमा मेलम्चीमा यति ठूलो बाढी आएको यस वर्ष पहिलोपटक हो । स्थानीय हस्त पण्डितका अनुसार उहाँको जीवनकालमा मेलम्चीमा यति भीषण बाढी पहिलोटक देख्नुभएको हो ।
त्यसो त वर्षा हुँदा ढुंगा, रूखका हाँगाबिँगा बगाएर लेदो सहित बाढी आउने क्रम भने केही वर्षदेखि चलिरहेकै हो ।
तर पछिल्लो समयमा मेलम्चीमा त्यति ठूलो क्षति हुने गरी अप्रत्याशित बाढी आउनको कारण के हो ? भन्ने प्रश्नले सबैको ध्यान खिचेको छ । भू–गर्भशास्त्री एवं त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक रञ्जनकुमार दाहालको भनाइमा मेलम्चीको बाढीसँग २०७२ सालको भूकम्पको अन्तरसम्बन्ध रहेको छ ।
उहाँ भन्नुहुन्छ–मेलम्ची नदीको मुहान क्षेत्रमा २०७२ सालको भूकम्पका कारण थुप्रै पहिरो गएका थिए। वर्षाले पहिरोलाई बगाएर नदी थुन्यो र मेलम्चीमा बाढी आयो।
भूकम्प गएको जमीन पहिलेकै अवस्थामा फर्कन आठदेखि १० वर्ष लाग्ने उहाँको भनाइ छ । “भूकम्प गएको जमीन पुरानै अवस्थामा फर्कने क्रममा थियो र वर्षाले त्यसलाई पहिरोको रूपमा परिणत गरदियो,” भूगर्भशास्त्री दाहाल भन्नुहुन्छ ।
पहिलो पटक मेलम्चीको मुहान क्षेत्रमा साना ठूला गरी १३ वटा पहिरो गएको स्थानीय बताउछन् । अझै पनि वर्षा हुँदा पहिरो जाने क्रम यथावत् रहेको छ ।
भू–गर्भशास्त्री दाहालका अनुसार हिमनदीले थुपारेर ल्याएको गेग्र्यान पनि बाढी आउनुको अर्को कारण हो। त्यसले पानीको बहाव झन् शक्तिशाली भएको उहाँको भनाइ छ ।
इन्द्रावती नदीको बगरमा देखिएका बालुवाका कणहरूले त्यसको पुष्टि गरेको उहाँ बताउनुहुन्छ । यही कारणले गर्दा मेलम्ची नदीमा फेरि पनि बाढी आउन सक्ने भू–गर्भशास्त्री दाहालको भनाइ छ ।