काठमाडौं । सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो । विश्व स्तनपान सप्ताह शुभारम्भ गर्दै महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न बैंक स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।
महाशाखाले ‘ह्यूमन मिल्क बैंक’ मा दूध राख्नका लागि करिव १ करोडको मेसिन खरिद गर्ने तयारी गरेको छ ।
के हो ‘ह्यूमन मिल्क बैंक’ ?
मदर मिल्क बैंक पनि भनिने यो प्रविधिमा नवजात शिशुका लागि आमाको दूध सुरक्षित स्टोर गरेर राख्न सकिन्छ । यसको मददले कुनै कारणवश आमाको दूध सेवन गर्न नपाएका शिशुहरुका लागि यस्तो बैंकमा दूध उपलब्ध हुन्छ ।
‘ह्यूमन मिल्क बैंक’ मा दाता आमाहरुले दान गरेका दूध सुरक्षित गरि राखिन्छ । आफ्ना बच्चाले दूध नपिएका वा दूध खुवाउन नपाएका आमाहरुले दूध दान गर्न सक्छन् ।
यस्तो बैंक विश्वका ब्राजील,युरोप,अमेरिका, स्पेन,पोर्चुगल, दक्षिण अफ्रिका र भारतमा सञ्चालनमा रहेका छन् ।
भिडियो स्रोत : पिजन कर्पोरेशन