-अभिषेक सापकोटा / जनता समाचार
काठमाडौं । गोरखाहरुको गुमेको हक अधिकार प्राप्तिको लागि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) तीन दशकदेखि आन्दोलनमा छ । तर, उनीहरुका सम्पूर्ण माग अहिलेसम्म पनि पूरा भएको छैन ।
नेपाली युवाले बेलायती सेनामा भर्ती हुन थालेको २०५ वर्ष पुगेको छ । सन् १८१६ देखि आज सम्मको प्रत्येक सैन्य मोर्चामा सेनाको तर्फबाट पहिलो र दोस्रो विश्वयुद्ध लगायत अन्य क्षेत्रीय युद्धहरुमा पनि बेलायतको लागि नेपालीहरुले लडे । तर, उनीहरुले बेलायतको लागि आफ्नो रगत पसिना बगाए पनि बेलायत सरकारले उनीहरुलाई उचित सम्मान नदिएको भूतपूर्त सैनिकको गुनासो छ ।
त्यसो त विश्वमा शान्ति, मानवअधिकार र प्रजातन्त्रको पुनःस्थापना गर्न लडेको कारण यस बीचमा गोरखा सैनिकहरुले १३ वटा भिक्टोरिय क्रस, दुईवटा जर्ज क्रस लगायत ६ हजार ५ सय बहादुरी तक्माबाट विभुषित भए । तर, बेलायत सरकारले भने आजसम्म युद्धमा गोरखाहरु के कति मरे र के कति घाइते भए हराए भन्नेंंंंंंंं विषयमा कुनै तथ्यांक सार्वजनिक गरेको छैन ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले आफ्ना माग बारे बारम्बार नेपाल सरकार र बेलायतको सरकारलाई पनि ध्यानाकर्षण गराउने गरेको छ । तर, उनीहरुका माग अहिले सम्म पनि सम्बोधन हुन सकेका छैनन् । यद्यपी, नेकपा एमाले नेता योगेश भट्टराईले भने प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले यस विषयमा आवाज उठाउँदै, छलफल चलाउँदै आएको बताउनुभयो । उहाँले गोरखा भूतपूर्व सैनिक संघ गेसोको विषयमा प्रतिवेदनलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्नु महत्वपूर्ण भएको बताउनु भएको छ ।
करिब १४ महिना पश्चात प्राविधिक समितिले तयार गरेको प्रतिवेदनलानई सामूहिक रुपमा हस्ताक्षर गरी नेपाल र बेलायत सरकारलाई गोरखाहरुको समस्या सामधानार्थ १३ बुँदे प्रतिवेदन २२ मार्च २०१८ मा दुवै देशका सरकारलाई हस्तान्तरण गरिएको गेसोले जानकारी दिएको छ । साथै गेसोले उक्त प्रतिवेदनमा छलफल गर्न नेपाल सरकारको तर्फबाट एक उच्चस्तरीय वार्ता कमिटि गठनगरि वार्ता गर्न सांसद र संसदमा कुरा राख्नका लागि समेत जोडदार माग गरेको छ । गोरखा भूतपूर्व सैनिकहरु दयाको भिख होइन रगत र पसिनाको मूल्य मागिरहेका छन् । जसको लागि नेपाल सरकारले पनि सार्थक प्रयास गर्नु आवश्यक छ ।