काठमाडौं । नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा निकै अगाडि रहेको छ । पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटक र युट्युव नेपाली माझ निकै लोकप्रिय छ । कतिले आफ्नो प्रतिभा देखाउने प्लेटफर्मका रुपमा यसलाई लिएका छन् भने कतिले नयाँ नयाँ ठाउँको परिचय समेत दिने गरेका छन् ।
यो आलेखमा हामी टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका कारण भाइरल बनेका नेपालका विभिन्न रोडहरुकोबारेमा जानकारी गराउदैछौं । यी रोडहरु अहिले भाइरल रोडका नामबाट बढी चिनिन थालेका छन् ।
सुर्खेतको भाइरल रोड
सुर्खेत वीरेन्द्रनगरको देउती बज्यै कुन्टि चौकेढुंगा जोड्ने सडक सामाजिक सञ्जालका प्रयोगकर्ताका कारण भाइरल बनेको छ । सामाजिक संजालमा सडक भाइरल बनेपछि टिकटक भिडियो बनाउने र फोटो खिच्नेहरुको भिड बढ्न थालेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा संघीय संरकारको मातहतमा सहरि विकाश तथा भवन निर्माण कार्यालय मार्फत निर्माण कम्पनी श्याम एण्ड शंकर कन्सक्सन प्रा.लि ले उक्त सडकको निर्माण कार्य सम्पन्न गरेको हो । एकान्त र हरियाली रमणीय भएकाले पनि यो सडकमा फोटो खिच्ने तथा टिकटक भिडियो बनाउनेहरुको भीड लागेपछि भाइरल बन्दै गएको हो ।
दाङ नारायणपुरको टिकटक रोड
पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा दाङ नारायणपुरको टिकटक रोड निकै भाइरल बनेको छ । यस रोडमा टिकटक बनाउनेहरुको प्रायः भीड देख्न सकिन्छ । भाइरल बनेसँगै यस रोडको चहलपहल समेत बढेको छ । यस रोडमा टाढादेखि नै मानिसहरु टिकटक बनाउन आउने गरेका छन् । अहिले त यो रोड व्यस्त रोडले समेत चिनिएको छ । टिकटक बनाउन आउने मान्छेहरुले गर्दा यहाँ आजभोलि मेला–महोत्सव जस्तो रमाइलो देखिन्छ ।
मोरङको मिक्लाजुङमा टिकटक रोड
मोरङको मिक्लाजुङमा अवस्थित टिकटक रोड पनि आन्तरिक पर्यटकका लागि आकर्षण बनेको छ । मिक्लाजुङ गाउँपालिका–७ र ८ को सीमावर्ती मावा नुनसरी सामुदायिक वन क्षेत्रमा अवस्थित ‘टिकटक रोड’ मा अहिले मानिसहरुको चहलपहल बढ्दो छ ।
सामुदायिक वनको बीचमा रहेको बाटोलाई सजाइएको छ भने छेउका रूखहरूमा रङ लगाएर आकर्षक बनाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता र आन्तरिक पर्यटकको आकर्षणलाई बढाउन यस सेल्फी रोडमा बग्गी समेत सञ्चालनमा रहेको छ ।
सिन्धुलीको सेल्फी डाँडा‘
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सेल्फी डाँडा‘ बाट अपरिचित शायद कोही नहोलान् । सिन्धुलीगढी दरबारको मुन्तिर रहेको सेल्फी डाँडा एक समय मोबाइलमा सेल्फी खिच्नेहरुका कारण निकै चर्चित थियो । पृष्ठभूमीमा नागबेली सडकहरु देखिने भएकोले बनेपा–सिन्धुली–बर्दिवास सडकखण्डमा यात्रा गर्ने यात्रुहरु यस डाँडामा सेल्फी फोटो खिच्नकै लागि अनिवार्य रुपमा रोकिन्थे ।
सेल्फी डाँडा नाम यति प्रसिद्ध भयो कि सिन्धुलीका चिनारीहरु गढीदरबार, जुनार खेती र सिद्धबाबा मन्दिरको प्रसिद्धीभन्दा पनि यस नामले मिडियामा बढी महत्व पाउन थाल्यो । तर, दुर्घटनाको संख्या बढेको भन्दै सेल्फी डाँडामा फोटो खिच्न मात्र होइन कुनै सवारी साधान रोक्न समेत निषेध गरिएको छ । कुनै समय सिन्धुलीको नयाँ चिनारी बनेको सेल्फीडाँडा अहिले गुमनाम बनेको छ ।
कञ्चनपुरको ‘भाइरल रोड’
अहिले कञ्चनपुरको ‘भाइरल रोड’ निकै चर्चामा रहेको छ । भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग यति आकर्षक देखिन्छ कि अहिले यहाँ टिकटक, भिडियो र फोटो खिच्न आउनेको भीड अत्याधिक बढेको छ । यही कारण अहिले उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ ।