भगीरथ भण्डारी
इलाम । इलाममा आगामी २५ गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुनेगरी निषेधाज्ञा गरिएको छ । जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि प्रमुख जिल्ला अधिकारीले १९ गतेदेखि लागू हुनेगरी निषेधाज्ञामा कडाइको आदेश जारी गर्नुभएको हो ।
प्रजिअ ध्रुवबहादुर खड्काले सोमबार आदेश जारी गर्दै अब निजी, सार्वजनिक यातायातका साधन, पसल, बजार सबै बन्द गर्ने जानकारी दिनुभयो । उहाँले आउँदो २५ गतेसम्म औषधि पसलबाहेक सबै बन्द रहने भएकाले ७ दिनलाई पुग्ने खाद्यान्नसमेत सोमबार नै जोहो गर्न समेत सबैलाई अनुरोध गर्नुभयो ।
यसअघि तरकारी, फलफूल र खाद्य सामग्रीका पसललाई निश्चित समय तोकेर खुला गरिएको थियो । तर, सोमबार जारी आदेशमा तरकारी, फलफूल र दूध बिक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्ममात्र खुला रहन दिने भनिएको छ ।
तर, खाद्यान्न पसलसमेत खुला नहरनेगरी आदेश जारी गरिएको छ । प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउन नपाइने, खोपकेन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने उल्लेख छ । निजी बैंक, वित्तीय संस्था र सेवासमेत हाललाई स्थगित गरिएको छ ।
परीक्षार्थीले परीक्षा दिन जाँदा सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किनेबाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको प्रशासनले जनाएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको कुल संख्या तीन हजार ५ सय ९ पुगेको छ । यीमध्ये ९ सय ८६ जना सक्रिय संक्रमित छन् भने २ हजार ४ सय ४८ जना निको भइसकेका छन् । ७५ जनाको निधन भएको छ ।
सक्रिय संक्रमितमध्ये ९ जना इन्टेन्सिभ केयर युनिट (आइसियु) र ८ जना सामान्य उपचारमा छन् भने ९ सय ६९ जना होम आइसोलेसनमा छन् । साउन १५ गते प्रशासनले आउँदो २५ गतेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । तर, केही खुकुलो रहेको निषेधाज्ञा कडा बनाइएको हो ।