विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड भएको छ ।
उपचारका क्रममा एक जना वृद्धको मृत्यु भएको निहूँमा बिरामीका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । उनीहरुले अस्पतालका केही कर्मचारीलाई कुटपिट समेत गरेका छन्।
पिलोको शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिकाका कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले अस्पतालका कर्मचारी एवं सुरक्षागार्डमाथि कुटपिट गरेका हुन् ।
हुसेनको सोमबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मोरङ प्रहरीका अनुसार आफन्तको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले सोमबार राति अस्पतालको काउण्टरमा तोडफोड गरेका छन् । तोडफोडबाट काउण्टरको झ्यालका शिशा फुटेका छन् ।
मलद्वारमा पिलो रहेका हुसेनलाई उपचारका लागि सोमबार बिहान परिवारका सदस्यले अस्पताल भर्ना गरेका थिए । सर्जन डा सरोज राजवंशीको टोलीले साँझ ७ बजेतिर पिलोको शल्यक्रिया गरेको थिए ।
गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका हुसेनको राति १० बजेतिर मृत्यु भएको हो। त्यसको केही बेरमै हुलदङ्गा र तोडफोड हुँदा अस्पतालको अवस्था तनावग्रस्त बनेको मेहताले बताउनुभयो ।
पिलोका कारण सङ्क्रमण फैलिएका कारण मृगौला, मुटुलगायत शरीरका विभिन्न अङ्गले काम गर्न छोडिसकेकाले उनलाई बचाउन नसकिएको मेहताले बताउनुभयो ।
तर २५–३० जनाको संख्यामा रहेको समूहले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै राति तोडफोड र कुटपिट गरेको उहाँले बताउनुभयो ।
कुटपिट र तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेर घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।