काठमाडौं । सरकारले चैत मसान्तभित्र सबै लक्षित समूहलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कूल जनसंख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने बताउनुभयो । त्यही लक्ष्य अनुसार सरकारले खोप कार्यक्रमलाई अगाडि बढाएको उहाँको भनाइ छ ।
रोग नियन्त्रणमा आए मात्र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने उहाँ बताउनुहुन्छ ।
हालसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको मन्त्रालयको स्वास्थ्यसेवा विभागअन्तर्गत परिवार महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिनुभएको छ ।
कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको छ। तीमध्ये कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड ३ लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा रहेका छन्। यसैगरी सरकारले खरीद गरेर ५० लाख मात्रा ल्याएको छ। भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ४० लाख मात्रा रहेको छ।
यसैगरी सरकारले आगामी असोज मसान्तसम्म १ करोड ५ लाख ४८ हजार खोप ल्याउने योजना छ । सरकारको कार्यतालिका अनुसार असोजदेखि चैतसम्म नेपालमा थप ३ करोड २३ लाख मात्रा खोप आइपुग्नेछ ।
सरकारको कार्यतालिका अनुसार आगामी भदौ मसान्तसम्म चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरीद गरेर ६० लाख मात्रा भेरोसेल खोप र भारतबाट खरीद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा नेपाल आइपुग्ने छ।
यसैगरी वैदेशिक अनुदानअन्तर्गत चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनेका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै ३ लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ।
कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोडेर्ना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करिब १ करोड ५० लाख मात्रा ल्याउन ेसरकारको कार्यतालिका छ ।
कोरोनाको तेस्रो लहरबाट बालबालिका बढी प्रभावित हुनसक्ने आशंका गपररहेको बेला सरकारले बालबालिका लागि लगाउने खोप खरीदको प्रक्रिया समेत सुरु गरिएको छ ।
बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलले बताउनुभयो ।
उहाँले असोज मसान्तभित्रमा लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइसक्ने बताउनुभयो । उहाँका अनुसार यसै वर्षको चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य छ।
चालू आर्थिक वर्षमा सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड रकम र कोरोना भाइरसविरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन्।