भगीरथ भण्डारी
इलाम । जिल्लाकाे सन्दकपुर गाँउपालिका–५ मा रेडपाण्डा बासस्थान क्षेत्रमा व्यक्तिको नाममा दर्ता रहेको जमिन किनेर सरकारलाई प्रदान गरिएको छ । लोपोन्मुख बन्य जन्तु रेडपाण्डाको संरक्षणको लागि व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर सरकारी निकायलाई प्रदान गरिएको हो ।
रेडपाण्डाको संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कको साझेदारी र उच्च पहाडी संरक्षण संस्थामार्फत व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर डिभिजन वन कार्यालय इलामलाई प्रदान गरिएको उच्च पहाडी संरक्षण संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले जानकारी दिनुभयाे ।
संस्थाले दुई वर्षमा गरेर तीन सय ५९ रोपनी, १४ आना दुई पैसा एक दाम जग्गा खरिद गरेर डिभिजन वन कार्यालय इलामको नाममा पास गरिदिएको छ । सन २०१९ मा चार जना व्यक्तिको नाममा रहेको एक सय ९८ रोपनी जग्गा किनेर सरकारको नाममा रजिष्ट्रेशन पास गरिदिएको हो ।
त्यस्तै सन् २०२० मा समेत चार जना व्यक्तिको नाममा रहेको एक सय ६१ रोपनी १४ आना दुई पैसा, एक दाम जग्गा सरकारको नाममा पास गरिदिएको हो । सन्दकपुर गाउँपालिका–५ को जौबारी, कोप्चे तथा मुर्चुल डाडा क्षेत्रमा व्यक्तिको नाममा रहेको जग्गा खरिद गरेर सरकारलाई प्रदान गरिएको खाम्दाकको भनाइ छ ।
रेडपाण्डको बास स्थान आसपासमा भएको, रेडपाण्डा पाइने सामुदायिक वनको बीचमा भएको व्यक्तिको जग्गा र रेडपाण्डा आउजाउ गर्ने कोरिडोर क्षेत्रमा भएको जग्गा किनेर सरकारको नाममा पास गरिदिएको खाम्दाकले बताउनुभयाे ।
व्यक्तिबाट खरिद गरिएको जग्गामा रेडपाण्डा नेटवर्क र उच्च पहाडी संरक्षण संस्थाको साझेदारीमा बृक्षरोपणको काम थालिएको छ । त्यस जग्गामा रेडपाण्डाले रुचाउने प्रजातिका बिरुवाहरु लगाउन थालिएको छ । उक्त जग्गामा तारबार गरेर संरक्षण थालेपछि खालि रहेको जमिनमा मालिङ्गो लगायतका विरुवा हुर्किन थालेको र रेडपाण्डा कोरिडोर क्षेत्रमा अझैपनि व्यक्तिको नाममा खाली जग्गा रहेको र ती जग्गा समेत खरिद गर्नुपर्ने आवश्यकता रहेको खाम्दाक बताउछन ।
व्यक्तिबाट खरिद गरिएको जग्गालाई संरक्षण गरेर रेडपाण्डा बस्न योग्य भएपछि संरक्षणको लागि समुदायलाईनै हस्तान्तरण गरिने छ । अहिले त्यसको संरक्षण नेटवर्कले गर्ने छ ।
डिभिजनल वन अधिकृत इन्द्रमणि भण्डारीले पनि त्यस क्षेत्रको सामुदायिक वनहरु मार्फतनै संरक्षण गरिने वताउनुभयाे । ‘यी जग्गाहरु सामुदायिक वनसंग जोडिएकै जग्गा हो, पछि सामुदायिक वनहरुलाईनै हस्तान्तरण गरेर दिगो रुपमा संरक्षण गर्ने भण्डारीको भनाइ छ । उहाँले भन्नुभयाे, ‘व्यक्तिको जग्गा किनेर रेडपाण्डाको लागि संरक्षण भएपछि टुक्रिएको वासस्थानमा सुधार हुन्छ र संरक्षित क्षेत्रमा मानिसको आवत जावत घट्छ, यसले उसको कोरिडार पनि सुरक्षित हुन्छ ।’
इलामको सन्दकपुर, माइजोगमाई र इलाम नगरपालिकाको उत्तरी क्षेत्रमा रेडपाण्डा पाइन्छ । त्यसमा पनि रेडपाण्डको सवैभन्दा ठूलो वासस्थान सन्दकपुर गाउँपालिका क्षेत्रमा पर्छ । रेडपाण्डा नेटवर्क र उच्च पहाडी संरक्षण संस्थाले सन् २००७ देखि रेडपाण्डाको संरक्षणमा काम गर्दै आएको छन् ।
नेटवर्कको साझेदारीमा उच्च पहाडी संरक्षण संस्थाले कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । जिल्लाको १८ सामुदायिक वनमा रेडपाण्डा संरक्षणको काम भइरहेको छ ।