-हनिशराज पन्त/जनता समाचार
काठमाडौं । यतिबेला कोरोना भाइरस संक्रमणका कारण विश्वभरकै सानादेखि ठूला व्यापार व्यवसाय प्राय ठप्प छन् ।
आम्दानीको स्रोत बन्द भएर धेरैजना तनावमा छन् । कतिले रोजगारी गुमाएका छन् । उता लामो समयदेखि विद्यालय नखुल्दा बालबालिकाको पढाइसँगै भविष्यको चिन्ताले उस्तै पिरोल्ने गरेको छ ।
तर काठमाडौंको वसन्तपुर क्षेत्रमा देखिएको दृश्यले भने ‘खाने मुखलाई जुँगा’ले छेक्दैन भन्ने उखान प्रष्ट पारेको छ । गरिखानलाई उमेरले छेक्दैन किनभने उमेर भनेको त मात्र अंक हो भन्ने लाग्छ यी कलिला भाइबहिनीहरुलाई देख्दा ।
वसन्तपुरमा परेवाका लागि मकै बेचिरहेकी सम्झना शाक्य, उमेरले १० वर्ष लागिन् । कक्षा चार हुँदादेखि नै कोरोनाले अस्तव्यस्त बनाएको पढाइ रोकियो । विद्यालयले स्वमूल्यांकन गरेर कक्षा पाँचमा त पुर्यायो तर उनी एक दिन पनि विद्यालय जान पाएकी छैनन् । विहान अनलाइन कक्षा सकेर वसन्तपुरमा मकै बेच्न आउने उनी अहिले कम्तिमा महिनाको १५ हजार रुपैयाँसम्म कमाउछिन् । पढाइसँगै कमाइ पनि गरिरहेकी सम्झनाले सानै उमेरमा परिवारमा आर्थिक रुपले राम्रै सहयोग पुर्याइरहेकी छन् ।
सम्झनासँगै वसन्तपुरमा अन्य धेरै बालबालिका देखिन्छन् जो यहाँ घुम्न आउने पर्यटकलाई पानी, परेवालाई खुवाउने मकै, पोस्टकार्ड, चियालगायतका समान बेच्छन् । विद्यालय बन्द भएको समयमा घरमा पढेर बाँकी भएको समय व्यापारमा लगाएर आमाबुबालाई सहयोग गरिरहेका छन् ।
यस्ता बालबालिका कतिपय पढाइ सकेर बचेको समयमा आमाबुबालाई सहयोग गर्न आएका हुन्छन् भने केही बालबालिकाहरु बाध्यताले पनि काम गर्न आएका हुन्छन् ।
आम आमाबुबाले यति बेला छोराछोरीको भविष्य अन्धकार हुनेभयो, पढाइ बिग्रियो भनेर चिन्ता लिइरहँदा यी बालबालिकाको लगनशीलता र मेहनतले भने उनीहरुको भविष्य उज्वल देखिन्छ ।
तर नेपालमा बालबालिकालाई काम लगाउनु कानूनविपरित मानिन्छ । बालश्रम शोषण भएको मानिन्छ । तर विद्यालय बिदा हुँदा घरमा पढाइसकेर आमाबुबालाई सघाउ पुर्याउने हिसाबले यसरी काम गर्नु पनि बालबालिकाको लागि एउटा शिक्षाकै पाटोबाट हेर्न सकिन्छ । पौरखी हुन र आत्मनिर्भर बन्न सिकाउनुका साथै श्रमको महत्व समेत थाहा पाउछन् उनीहरुले ।
तर नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने भन्दै स्वास्थ्य मन्त्रालयले सजग गराइरहेको छ । तेस्रो लहरले बालबालिकालाई बढी जोखिम हुने भन्दै सतर्क गराइरहँदा बालबालिकालाई यसबाट बचाउन पनि उतिकै आवश्यक छ ।