दार्चुला । तुइन घटनाको छानबिन टोली भारतीय सुरक्षा बल एसएसबीसँगै आएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी कार्यकर्ता र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
उनीहरुले तुइन भएकै क्षेत्रमा पुगेर नाराबाजी गरेका थिए । उनीहरुले राष्ट्रिय झन्डा र चन्द नेतृत्वको माओवादीको झन्डा देखाउँदै नेपालबाट आएर पनि अनुसन्धान गर्न माग गरेका थिए ।
“एसएसबीले नै घटना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुको औचित्य छैन,” चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव सुवास मल्लले भने, “आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो । यसको हामीले भन्दा पनि जनताले नै विरोध गरेका हुन् ।”
आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको निगरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला ? आफैँ अनुमान लगाउनुस्,” उनले भने ।
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो ।
व्यास गाउँपालिका–२, मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल पुगेका हुन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो ।
घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रुखको नापजाँच लिएको छ । यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणानुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनुभयो ।
महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रुख छ, तर दुवैतर्फ तार छैन । रुखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारिपारि झन्डै ४५ मिटर छ ।
छानबिन समिति घटनास्थल भएको ठाउँबाटै फर्किएको जोशीले बताउनुभयो ।
छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य रहनुभएको छ ।
यस्तै, छानबिन टोलीसँगै सशस्त्र प्रहरी ४४ नं गण दार्चुलाका गणपति नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट पनि घटनास्थल पुग्नुभएको थियो । भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमान्डेन्ट महेन्द्रप्रताप सिंह नेतृत्वको टोली सहभागी थियो ।
छानबिन समितिले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजना बनाएको छ ।