शम्भु दाहाल
झापा । सन् १९९० को दशकमा आफ्नो देश भुटानबाट लखेटीएर नेपालमा आश्रय लिइरहेका शरणार्थीको पीडा अहिले पनि कम छैन । उमेर, बल, वैंश र सिप भएका आफन्त तेस्रो मुलुक पुगे । यतिबेला शिविरमा रहेकाहरु बृद्धपना र कोरोना संक्रमणको दाहोरो चपेटा छन् ।
कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाले शरणार्थी शिविरमा पनि आवतजावत ठप्प छ । पारिवारिक बिखण्डनका कारण पूर्वी नेपालको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा जीवन बिताइरहेका कतिपय वृद्ध शरणाणर्थीको जिवन कष्टकर बन्दै गएको छ ।
कोरोना संक्रमणका कारण स्वदेशमा साहारा नभएका वृद्ध शरणार्थीहरुलाई बिरामी पर्दा घरमा पानी समेत तताएर दिने कोही छैनन् । भएका आफन्त पनि तेस्रो मुलुक पुर्नवास अन्तर्गत विभिन्न देशमा गएकाले शरणर्थी शिविरमा अहिले केही दर्ता छुट भएका, स्वदेशै फर्कन चाहने, केही वृद्ध र अशक्त मात्र छन् । यही अवस्थामा छोराछोरी वा आफन्त तेस्रो मुलुक गएका शरणर्थीहरुमा कोरोना संक्रमण भएपनि खाना पकाउनेदेखी लुगा धुनेसम्मका काम आफैंले गर्नुपर्ने बाध्यता रहेको बेल्डाँगी सिविरकी ममता क्षेत्री बताउनुहुन्छ । घरमा काम गर्न सक्ने आफन्त नहुँदा संक्रमण भएपनि समयमा खाना र औषधि समेत सेवन गर्न नसकेको शान्ता क्षेत्रीको दुखेसो छ ।
शिविरमा दिनप्रतिदिन बिरामी हुने र कोरोना संक्रमितको संख्या बढिरहेको भएपनि केहीले मात्रै परीक्षण गराएका छन् । अधिकांश शरणार्थी परीक्षण नगराइ छाप्रोमै आइसोलेसनमा बसेका छन् । बिगतमा दातृ निकायको सहयोगमा खाद्यन्न लगायतका सामाग्री पाउँदै आएका शरणार्थीहरुलाई अहिले कतैबाट कुनै किसिमको सहयोग नभएको शन्तबीर घलेले बताउनुभयो ।
पुनर्वासका कारण एक्लिएको परिवारमा निकै समस्या देखिएको भुटानी शरणार्थी अगुवा चिरन्जिवी राईको भनाई छ । महामारीको चपेटामा परेका शरणार्थीलाई सहयोग गर्न पूर्वक्याम्प सचिव चिरञ्जीवी राईको नेतृत्वमा केही युवा सक्रिय रूपमा लागेका छन् ।
संक्रमित बिरामीको उपचारका लागि दमक नगरपालिकाले शिबिरभित्रै कोभिड अस्पताल संचालनमा ल्याइदिएर केही राहत दिएको शरणर्थीहरु बताउँछन् । बेलडागी शिबिरमा रहेका शरणार्थीलाई समेत नेपाली नागरिकलाई सरह कोरोना विरुद्धको खोप लगाउँदै आएको शरणार्थी समन्वय इकाई संयोजक तथा झापाका प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।
करिब एक लाखको संख्यामा रहेका शरणार्थीमध्ये अहिले लगभग ७ हजारको संख्यामा मात्रै झापा बेल्डाँगी र मोरङको पथरी शिविरमा बस्दै आएका छन् । यीमध्ये लगभग ३ हजार वृद्धवृदा रहेका छन् ।