झापा । चारवर्षयतादेखि पुर्वीनाकाबाट हुने अदुवा निकासी ओरालो लाग्दै गएको छ । विभिन्न अवरोधका कारण पटक पटक निकासी अदुवा निकासी ओरालो लागेको हो ।
गत आर्थिक वर्ष २०७७/०७८ मा काँकरभिट्टानाका भएर १२ करोड ९६ लाख रुपैयाँ मुल्य बराबरको २ हजार ७ सय मेट्रिक टन अदुवा निकासी भएको छ । जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा न्यून हो । त्यो वर्ष १३ करोड ३० लाख ४ हजार वा ५ हजार २ सय १४ मेट्रिक टन अदुवा निर्यात भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्मा उल्लेख छ ।
आर्थिक वर्ष २०७५/०७६ मा नेपालले २२ करोड २८ लाख ३५ हजार रुपैयँँ मुल्य बराबरको ९ हजार ९ सय ४८ मेट्रिक टन अदुवा भारत निकासी गरेको थियो । आर्थिक वर्ष २०७४ ÷०७५ मा यो नाका भएर ५६ करोड ८६ लाख २८ हजार रुपैयाँ मुल्य बराबरको २४ हजार २ सय ६८ मेट्रिक टन अदुवा भारत र बंगलादेश निकासी भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
यसले आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ को चारवर्षको अवधिमा काँकरभिट्टा नाका भएर भारत निकासी हुने अदुवामा हरेक वर्ष गिरावट आएको पुष्टि गर्दछ । झण्डै डेढवर्षअघिदेखि कोभिड १९ कारण नाका ठप्प हुदाँ निर्यात व्यापार कम भएको नेपाली अधिकारीहरुको भनाइ छ ।
भारतीय पक्षको कहिले वस्तु तथा सेवा कर (जीएसटी), कहिले अदुवामा हानीकारक विषादीको मात्रा पाइएको भन्ने विभिन्न वहाना र अवरोधका कारण नेपाली अदुवा निकासीमा वारम्वारको समस्या त, कहिले नेपाल सरकारले अदुवा निर्यातकालागि जिल्ला कृषि कार्यालयको सिफारीश अनिवार्यका कारण पूर्वी नाका हुदै भारत निकासी हुने अदुवाको निकासी हरेक वर्ष ओरालो लाग्ने गरेको व्यवसायीहरुको गुनासो छ ।
पूर्वी पहाड संखुवासभा, भोजपुर, तेह्थुम, धनकुटा, इलाम, पाचथर, ताप्लेजुग्लगायत जिल्लामा व्यावसायिक अदुवा खेती हुने गरेको छ । झापासहित ताप्लेजुङ, पाचथर, इलामलगायत पूर्वी पहाडी जिल्लाहरुवाट संकलन गरी अदुवा भारत तथा बंगलादेश निकासी हुने व्यवसायीहरुको भनाई छ ।
नेपालमा उत्पादन भएको मध्येको ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ । त्यसको सबैभन्दा बढी हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ । नेपालको नगदे बालीहरुमध्ये अदुवा अलैचीपछि सर्वाधिक विदेश निर्यात हुने कृषि उत्पादन हो । मेचीका चार जिल्लामा वार्षिक अन्दाजी ७० देखि ८० हजार मेट्रिक टन भन्दा वढी अदुवा उत्पादन हुने गरेको नेपाल अदुवा उत्पादक संघले जनाएको छ ।