काठमाडौं । गतवर्ष सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोबाट विस्थापितहरुलाई नेपाली सेनाले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ ।
नेपाली सेनाका श्री नम्बर २६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा सेनाले निर्माण गरेका ३१ वटा आवास भवन हस्तान्तरण गर्नुभएको हो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिरोबाट विस्थापित दुई सय नौ परिवारमध्ये ३१ घरपरिवारलाई सेनाले अस्थायी आवास भवन हस्तान्तरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई सेनाले निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो ।
श्री नम्बर २६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विष्णु राउतले घर हस्तान्तरण गर्दै नेपाली सेना जनताको सेवामा सधैँ लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सेनाले आवास भवन निर्माण गरिदिएपछि लिदी पहीरो प्रभावितहरु खुशी भएका छन् ।
सेनाले ३१ अस्थायी आवास भवन, सात शौचालय, एक बाथरुम, एक क्यान्टिन र एक हेल्थ पोष्टको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो । जुगल गाउँपालिका र अन्य सहयोगी संस्थाहरुबाट निर्माण सामग्रीको व्यवस्थापान तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा जुगल गाउँपालिका वडा नम्बर १ बासखर्कमा नेपाली सेना गोरख बक्स गण कालीसिद्वी गण ईन्जीनीयरका दक्ष जनशक्तिले ३१ आवास भवन निर्माण गरेको नेपाली सेना, गोरख बक्स गणका प्रमुख सेनानी निर्मल श्रेष्ठले बताउनुभयो ।
गतवर्ष २०७७ साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदी पहिरोमा परी २९ घरमा पूर्ण क्षति भएको थियो भने ३९ जनाले ज्यान गुमाएका थिए ।