-प्रमोदकुमार साह / जनता समाचार
धुनषा । मागेजति रकम नदिएपछि धनुषाको जनकपुरधामस्थित युनाइटेड एकेडमीले एसइई परीक्षाको मुल्यांकनमा विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको छ । जसका कारण जनकपुरधामका २७ विद्यार्थी समस्यामा परेका छन् ।
आठ कक्षासम्म मात्रै पढाउने अनुमति पाएको धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका थापा चोकमा रहेको युनाइटेड एकेडमीले एसइई परिक्षा मूल्यांकनमा विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको पाइएको छ ।
परीक्षा हुनुभन्दा पहिले युनाइटेड एकेडमीमा बसेको अभिभावकसँगको बैठकमा विद्यालयका प्रिन्सिपल कुशे यादवले मूल्यांकन बढाएवापत प्रतिविद्यार्थीसँग १५ हजार माग गरेका थिए तर शुल्कको नाममा यति धेरै रकम अभिभावकले नतिर्ने बताएका थिए । यहीँ रिसिबीलाई साध्न विद्यालयले २७ जना विद्यार्थीको मूल्यांकन कमजोर पठाउँदा सबैको ‘सी प्लस’ ग्रेड आएको पीडित विद्यार्थीले जनाएका छन् ।
यता, जिल्ला शिक्षा समन्वय इकाई धनुषा भने विद्यालयको पक्षमा वकालत गरिरहेको छ । शिक्षा इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीका अनुसार विद्यार्थीसँग ठगी गरिएको छ भने त्यसको अनुगमन गर्ने काम स्थानीयतहलाई दिइएको छ ।
यता, जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखा उपप्रमुख अञ्जु पाण्डेले कोभिडका कारण विद्यालय बन्द रहेकोले अनुगमन नगरिएको बताउनुभएको छ । पाण्डेका अनुसार अनुमती विपरित पढाइ गराइरहेको उजुरी आएको खण्डमा छानबिन गरी विद्यालयको सम्बन्धन खारेजी हुनेछ ।
शिक्षा समन्वय इकाई र जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखा दुवैले समयमै अनुगमन नगरिदिँदा विद्यार्थीको जीवन अन्धकारमा परेको अभिभावकको गुनासो छ ।