सुनसरी । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नवनिर्मित भवनकाे उद्घाटन गर्नुभयाे । थापा क्षेत्रीले परिसर कार्यालयमा व्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएकाे हाे ।
भवन उद्घाटन गर्दै महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा सहयोग गर्ने पालिका प्रमुखहरुलाई सम्मानपत्र, उत्कृष्ट कार्य गर्ने प्रहरी तथा सहयोगीहरुलाई प्रशंसापत्र र निर्माण व्यवसायीहरुलाई कदरपत्र प्रदान गर्नुभयाे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा संलग्न सम्पूर्णमा धन्यवाद दिदै नयाँ भवन मार्फत जनताको आशा पनि बढेकाले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयता बढाउनु पर्नेमा जोड दिनुभयो ।
गत वर्षभन्दा यस आर्थिक वर्षमा अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई बस्तुगत एवं प्रविधियुक्त बनाउनुका साथै राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्दा लगायतका गतिविधिमा हरेक महिनाको अन्तमा मूल्याङ्कदन गर्ने गरिएको चर्चा गर्दै थापा क्षेत्रीले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्वारा सञ्चालित अपराध नियन्त्रण अभियानमा सहभागी हुन सबैमा अनुरोध समेत गर्नुभयो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ३६ लाख ६७ हजार १ सय २० रुपैयाँ ७३ पैसाको लागतमा १६ कठ्ठा ५ धुर जग्गामा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।
भवन उद्घाुटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालयमा सुनसरी तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनुभएको थियो ।