बाँके । नेपालगन्ज नाका जमुनाहादेखि कारकादो सम्म जडान भएका सोलार बल्न छाडेका छन् । जडान भएपछि दुईवर्ष देखि मर्मत नहुँदा सडकमा राखिएका सोलारबत्ती बल्न छाडेका हुन् ।
सोलारको झिलिमिलीले नेपालगन्जको गरिमा अझ बढाएको थियो सुनमा सुगन्ध भनेझैं । रातीमा बजार साँच्चिकै रहरलाग्दो भएकोथियो । जडान भएको वर्षदेखि सोलर बिग्रिन थाल्यो । त्यसको मर्मत नियमित हुन सकेन । चार लेनको सडक, राम्रो र फराकिलो सडकमा सोलर बत्ती जडान भए रातिमा सडक झिलिमिली भयो तर स्थानीयको खुसीयाली लामो समय टिकेन ।
नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर भूपेन्द्र बोहराले २०७५/७६ मा केही मर्मत भए पनि त्यसपछि मर्मत हुन नसकेको बताउनुभयो । दुई वर्षदेखि सोलार मर्मत नै हुन सकेको छैन । कति बल्छन् भन्ने पनि थाहा नभएकनो बताउँदै यसपालि मर्मत गर्ने तयारीमा रहेको उहाँको भनाइ छ । सोलार जडान गर्दा नेपालगन्जवासी जति खुसी थिए, अहिले त्योभन्दा बढी दुःखी भएका छन् ।
अहिले नेपालगन्जमा २० प्रतिशत हाराहारीमा सोलार बलेको देखिन्छन् । धम्बोझी चोकदेखि बीपीचोकसम्म ३७ वटा सोलार रहेका छन् । त्यसमा ११ वटा मात्रै बल्छ । दुई वटा धिपधिप गर्छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडिका प्रायः सबै सोलार बल्दैनन् । बाँदरको हातमा नरिवल भने जस्तै भएको भनेर एकथरी मानिसहरु सोलारलाई जोडेर व्यंग्य गरी रहेका छन ।
सोलार बिग्रिरहन्छन् । त्यसलाई बेला–बेलामा मर्मत गरिरहनुपर्छ । नेपालगन्ज उपहानगरपालिकाले दुई वर्षदेखि मर्मत नै गरेको छैन । यसपालि सोलार मर्मतका लागि १५ लाख रुपियाँ छुट्याएको र सोलारको गत वर्ष मर्मत गर्ने तयारी भएपनि बजेट नहुँदा त्यो सम्भव नभएको नेपालगन्ज उपमहानगरपालिकाका प्रशासन अधिकृत राजन केसीले बताउनु भएको ।
उपमहानगरपालिकाले गरेका कामलाई ‘तन्दुरुन्त’ गरेको पाइँदैन । जुन गतिमा नयाँ काम गरिन्छ, बिग्रेपछि त्यसलाई फर्केर हेरिँदैन । चार लेन सडकमा सोलार जडान गर्दा जनप्रतिनिधिहरु जति हाई–हाई भएका भएपनि अहिले गालीको पात्र भएका छन् ।
जनप्रतिनिधिको त्यसतर्फ खासै ध्यान गएको देखिँदैन । ठूलो लगानी गरेर काम शुरु गरिसकेपछि त्यसलाई जीवन्त राख्नुपर्नेमा निरन्तरता नहुँदा हरेक विकासका कामहरु जनप्रतिनिधि आलोचित हुदै गएका छन् । नयाँ–नयाँ काम गर्दै जाने र गरेका पुराना कामलाई मेटाउँदै जाने प्रवृत्ति देखिएका कारण जनप्रतिनिधि आलोचनाको पात्र बनी रहेका छन् ।