विराटनगर । निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । निषेधाज्ञालाई केही खुकुलो बनाए संगै प्रदेशका १४ वटै जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बिहिबार प्रदेशमा १४ जनाको मृत्यु भएको छ । जसमध्ये सुनसरीमा सबैभन्दा धेरै चार जना छन् भने मोरङमा ३, उदयपुरमा २, झापा, संखुवासभा, ओखलढुंगा र इलाममा १–१ जना गरी १४ जनाको एकै दिन मृत्यु भएको हो । अघिल्लो दिन पनि प्रदेशमा १४ जनाको मृत्यु भएको थियो ।
बिहीबार १४ जना थपिएसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय २४ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुनसरीमा ४ सय ६५ जना छन् । त्यस्तै मोरङमा ४ सय ४२, झापामा ४ सय १५ जनाको मृत्यु भइसकेको छ । इलाममा ६०, उदयपुरमा ४८, पाँचथरमा ३७ , धनकुटामा ३५, तेह्रथुममा १९, संखुवासभामा १८, ओखलढुंगामा १४, ताप्लेजुङमा १० जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । त्यस्तै भोजपुरमा ९, सोलुखुम्बुमा २ जनाको मृत्यु भएको छ । हालसम्म सामाजिक विकास मन्त्रालयको तथ्यांकमा कोरोनाबाट खोटाङमा कसैको पनि कोरोनाले मृत्यु नभएको उल्लेख छ । प्रदेश बाहिरका १ सय ४९ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
केही सातायता प्रदेशमा संक्रमित थपिने क्रम पनि जारी छ । बिहीबार सबैभन्दा बढी झापामा १ सय ९१ जना छन् । मोरङमा १ सय ३५, सुनसरीमा १ सय १६, ओखलढुंगामा ३७ धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, ते¥हथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ ।
पहिलो चरणयता प्रदेश १ मा हालसम्म ९० हजार ४ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८१ हजार ४ सय ९५ जना कोरोनामुक्त भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ७१ रहेको प्रदेश सरकारले जनाएको छ ।