धरान । ९ महिना अघि अर्थात सन् २०१७ को जुलाई भित्र काम सम्पन्न गर्ने लक्ष्य लिएर करिब तीन वर्ष अघि एसियाली विकास बैंकबाट २२ मिलियन डलर ऋण तथा अनुदानमा धरानमा खानेपानी परियोजना शुरु भएको थियो ।
एसियाली विकास बैंकको ५० प्रतिशत ऋण, नेपाल सरकार मार्फत सोही बैंकको ३५ प्रतिशत अनुदान र १५ प्रतिशत धरानका जनताको जनसहभागितामा खानेपानी परियोजना २०१२ देखि शुरु भएको थियो । वर्षौदेखि खानेपानीको हाहाकार भोगिरहेका धरानका जनताले २४ सै घण्टा पानी खान पाउने भन्दै १५ प्रतिशत जनसहभागिता र ५० प्रतिशत ऋणलाई स्वीकार गरे तर अहिलेसम्म परियोजना संचालन नहुँदा पानीको हाहाकारमै दैनिकी गुजार्दैछन् ।
वर्षौदेखि धरानका जनताले भोग्दै आएको खानेपानी समस्या समाधान गर्न एसियाली विकास बैंकको ऋण तथा अनुदानमा एकीकृत शहरी विकास आयोजना अन्र्तगत खानेपानी परियोजना २०१२ मा त्रिपक्षीय ऋण सम्झौता भएको थियो ।
नेपाल सरकार मार्फत एसियाली विकास बैंकको ५० प्रतिशत अनुदान, ३५ प्रतिशत नगरविकास कोष मार्फत ऋण र १५ प्रतिशत जनसहभागिता हुने गरी नेपाल सरकार, धरान नगरपालिका र नगर बिकास कोषबीच त्रिपक्षीय ऋण सम्झौता भएको थियो । २०१७ जुलाईसम्ममा काम सम्पन्न गरी धरानका काकाकूल जनतालाई २४ सै घण्टा पानी उपलब्ध गराउने लक्ष्य लिएको थियो ।
प्रक्रिया शुरु भएको २ वर्ष पछि अन्तराष्ट्रिय स्तरमा धरान उपमहानगरपालिका एकीकृत शहरी विकास आयोजनाले सन् २०१४ नोभेम्बर १० मा ठेक्का आह्वान गरेको थियो । ठेक्काका लागि चाइनिज कम्पनी तियान्जिङ वाटर कर्पोरेसन र नेपाली कम्पनी तुदी हाउजिङ कन्ट्रक्सन प्रालिको संयुक्त रूपमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौतामा आयोजनाका लागि भ्याटसहित १ अर्ब ४८ करोड ७३ लाख १७ हजार ५ सय ६५ रुपैयाँमा निर्माण सम्पन्न गर्ने अन्तिम सम्झौता बनेको थियो । सञ्चालनको ठेक्का पाएको कम्पनीलाई १० प्रतिशत रकम दिएको मितिले २४ महिनाभित्र निर्माणको काम सकिनु पर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार निर्माण सम्पन्न भएको ९ महिनासम्म जनतालाई पानी आपूर्ति गर्ने जिम्मा कम्पनीलाई नै छ । त्यस्तै १२ महिनासम्म मर्मत लगायत काम कम्पनीले नै गर्नुपर्ने भनी सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार जुलाई २०१७ सम्ममा सम्पुर्ण काम सकिनुपर्ने थियो । अहिले सम्ममा धरानका जनताको घर घरमा पानी पुगिसक्नुपर्ने हो ।
सन् २०१७ भित्र निर्माण सम्पन्न हुनुपर्ने उक्त अयोजनाले उपमहानगरपालिकाको शतप्रतिशत जनतालाई सुविधा प्रदान गर्ने लक्ष्य छ । आयोजना सञ्चालन अघि ९ महिनासम्म भुमिगत स्रोतको अध्ययन भएको थियो । सो अध्ययनबाट सन् २०३१ सम्मको धरानको जनसंख्यालाई दैनिक १६ घण्टा पानी वितरण गर्न सकिने देखिएको थियो । आयोजनाबाट दैनिक २ करोड ३० लाख लिटर पानी संकलन हुने अनुमान छ ।
सन् २०३१ सम्म धरानको जनसंख्या दुई लाख ११ हजार पुग्ने अनुमान छ । दैनिक २ करोड २० लाख लिटर पानीको माग रहेको धरानमा अहिले दैनिक १ लाख २० हजार लिटर मात्रै पानी वितरण भइरहेको खानेपानी संस्थानको तथ्याङक रहेको छ ।
तोकिएको समयमा काम पुरा नभए पछि आयोजनाको म्याद ९ महिना थपिएको थियो । थप भएको ९ महिना पनि आईतबार अप्रिल १ २०१८ मा सकिएको छ । तर आयोजनाको काम पुरा भएको छैन । म्याद थपिएको ९ महिनामा पनि काम सम्पन्न नभए पछि ठेकेदार कम्पनी तान्जिन तुन्दी जेभीले ६ महिना म्याद थप गर्न माग गरेको छ ।
भिडियो हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=CUStioCQy8o