-लक्ष्मी उप्रेती
“डा.सुस्मिता, हिजो साँझ आएकी एउटी प्यासेन्टले तपाईंलाई खोजिरहेकी छिन् ।” —घरधन्दामा अलमलिरहेको बेला सिस्टर रमलाले हस्पिटलबाट फोन गरिन् ।
“ किन त्यस्तो के पर्यो । मै किन चाहिएको नि ? ” काम गर्दागर्दै मैले सोधेँ ।
“ खै आएदेखि तपाईंलाई भेट्न पर्यो भनेर खोज्या खोज्यै छिन् । ”
“ कहाँबाट, के भएर आएकी प्यासेन्ट हुन् नी ?” अचम्म मान्दै सोधेँ ।
“ बागलुङबाट आएकी अरे ! उनी मानसिक रोगी हुन् कि जस्तो छ । डा. सुस्मितालाई भेट्नु छ भनेर बेलाबेला उनी बेसुरमा बर्बराउँदै छिन् । ” सिस्टरले भनिन् ।
“नाम के हो ? कुन उमेरकी हुन् ?”
“मुना नाम हो उनको । ४०–४२ वर्षकी होेलिन् । ”
विरामीको हुलिया सुनेर म एकाएक झस्किएँ । अनायास २३ वर्ष अघिको घटनाक्रम मेरो मनमस्तिष्कमा रुमल्लिन थाल्यो । मनमनै संवेदित भएँ म ।
हत्तार हत्तार आफ्नो समय अघि नै अस्पताल पुगेँ । सिस्टरले सूचित गरेकै कोठातिर म सुरुसुरु गएँ । ढप्किएको ढोका यसो उघारेँ । बेडछेउ कुर्चीमा एउटा अधवैँशे मानिस बसिरहेको रहेछ । सिरानतिर १७ वर्ष जतिकी किशोरी बसेको देखेर म अकमक्किएँ ।
“म डाक्टर सुस्मिता । यिनलाई के भएको हो ?” —निदाइरहेकी मुनातिर जिज्ञाशाले भरिएको आँखा लगाएँ ।
मेरो नाम सुनिसक्दा कुर्चीमा बसेका ती अधवैँशे मानिस ज¥याकजुरुक्क ऊठेर —“नमस्कार डा.साहेब ! उनको श्रीमान् हुँ म । हेर्नुस् न केही वर्षदेखि यिनलाई के भयो कुन्नि । छोराछोरीको मतलव नै राख्दिनन् । मसँग पनि राम्रो व्यवहार गर्दिनन् । खाली तपाईँबाट उपचार गरेर ठिक हुन्छु भन्छिन् । डा. यिनलाई के भएको हो ठिक पारीदिनु प¥यो । ” रुँलारुँला जस्तै गरेर उनले अनुनय विनय गरे ।
मनमा त्रासको काँडाले अनौठो गरी घोच्यो । यहाँबाट गई हालूँ जस्तो भयो । झट्ट सम्झिएँ, म त एउटा डाक्टर । मानवसेवाबाट विमुख हुनु हुन्न भन्ने मनमनै सोचेर विस्तारै मुनाको टाउको छामेँ । मेरो स्पर्शको आभाष पाएर उनी झस्केर उठिन् । निरीह भाव अनुहारभरि छरेर उनले मतिर हेरिरहिन् । थाहै नपाई मैले पनि उनलाई त्यसरी नै हेर्न थालेछु । हाम्रो चाला देखेर अचम्ममा परेका मुनाका श्रीमानले “मुना तिमीले खोजेको डाक्टर आउनुभयो । अब तिमीलाई उपचार गर्नुहुन्छ है । ” भन्दै मायालु भाव व्यक्त गरे ।
कोठाको वातावरण शान्त छ । मौनतालाई चिर्दै मैले उनका श्रीमान र छोरीलाई बाहिर जान इशारा गरेँ । उनीहरू बाहिर गएपछि ढोका लगाएँ । मुनाको निधार सुमुसुम्याउँदै मैले सोधेँ—“मुना के भयो तिमीलाई भन ।”
“डाक्टर साहेब म सबै कुरामा पूर्ण भएर पनि हरक्षण अपूर्ण अपूर्ण अनुभूित गरिरहेछु । मैले नदेखे पनि मेरो पहिलो सन्तान ज्यूदै छ भन्ने आभासले मलाई अन्तरहृदयमा बारम्बार चिमोटिरहन्छ । त्यसबेलाको अवस्थामा मलाई कसैको मृत बालक देखाएर मेरो कल्याण गर्नुभयो । यसबेला यही कुराले भित्रभित्रै निख्रदौ छु । तपाईंलाई थाह छ भन्दिनुस् न मेरो त्योे सन्तान कहाँ छ ? कस्तो अवस्थामा छ ? जे भएपनि, जसो भए पनि एकपटक मात्र उसलाई हेर्न चाहान्छु । मलाई निसर्त माया गर्ने मेरो श्रीमान् मेरो अवस्थाबाट चिन्तित हुनुुहुन्छ । फूल जस्ता मेरा छोराछोरी दुःखी छन् ।” यसो भनेर मुना तरल बनिन् ।
म निःशब्द उनलाई हेरिरहेँ । मातृत्व त्यति कमजोर कहाँ हुन सक्दो रहेछ र ? यस क्षण उनको मातृत्वलाई सलाम गर्दै उनलाई अंगालोमा बाधेँ । २३ वर्ष पहिलेका यावत घटना सजीव भएर बग्न थाले मेरा आँखाका पर्दामा सलल... ।
प्रसुति विशेषज्ञका रुपमा म हस्पिटलमा सेवा गर्न भर्खर थालेकी थिएँ । एक दिन मेरो च्याम्बरमा करीब १८÷१९ वर्षकी युवती अनुहारमा डर त्रास र लज्जाको भारी बोकेर जँचाउन आइन् । पुरुषको संसर्गमा रहेकी उनी दुई महिनासम्म पर नसरेपछि साथीहरूको सल्लाहले जँचाउन आएकी थिइन् । जाँचपछि गर्भ रहेको कुरा थाहा पाएर उनी हदैैसम्म विचलित भइन् । भर्खर १२ पास गरेर स्नातक पढ्ने सपना बुनेकी उनी गर्भपतन नगराए आत्महत्या गर्छु भनेर मलाई अत्याइन् ।
मैले “ २,३ दिनसम्ममा नै केही उपाय गर्नु पर्छ । तिमी आत्तिएर फेरि अर्को कुनै गलत कदम नचाल्नुनि ।” भनेर त्यसबेला उनको फोन नं लिएर बिदा दिएँ ।
त्यसपछि हरे यो केटीले नगर्नु गल्ती गरी । अब यो समस्याको समाधान कसरी गर्ने होला ? उसको जीवन रक्षा गर्नु पर्छ नत्र सामाजिक मान्यताका लागि उसले जे पनि गर्न सक्छे । भन्ने सोचले मलाई औडाहा भईरह्यो । युवावस्थामा यस्ता गल्ती कति केटाकेटीहरूले गर्छन । तर केटी नै शारिरीक र सामाजिक रुपमा सजायका भागीदार हुन्छन् । बरा यसको फक्रदो यौवनमा कुन कुपुरुषले संसर्ग ग¥यो । उसको निरिह जीवनको त्यसै त्यसै माया लागेर छटपटिए ।
यसरी विक्षिप्त भइरहेकै बेला मैले झट्ट सम्झँे, आफ्ना निःसन्तान दाजु, भाउजु, र नाति नातिनाको अनुहार हेर्न चाहने मेरा बुढा बाबा, आमा । मेरो दाजु सुधीरको बिहे भएको १० वर्ष बित्दा पनि सन्तान भएका थिएनन् । दाजु, भाउजुनै निरास भैसक्नु भएको थियो । एउटै भएको छोराको सन्तान नभएकोमा बृद्ध भइसक्नुभएका बुबाआमा समेत विरक्तिनु भएका थिए । त्यसैले यो केटीमा समाधानको उपाय देखेर दाजुलाई सम्झाएँ । त्यसपछि हामी दाजुबहिनीले परिवारको चित्त बुझाउन सेरोगेट मदरको अवधारणाकोे जाल बुन्यौं । यस कुरामा बुबाआमा र भाउजु पनि करबलैले सहमत हुनुभयो ।
दुई दिनपछि उनलाई फोन गरेर ल तिमी अस्पताल आऊ भनेर म अस्पताल आएँ । म पुग्नु अघि नै पुगेकी उनलाई आफ्नो च्याम्बरमा लिएर गएँ । अनि विस्तारै “गर्भपतन गराउँदा तिमीलाई खतरा हुन्छ । बरु तिमीले यो बच्चालाई जन्माएर निःसन्तान दम्पतिलाई दियौ भने तिमीलाई पुण्य हुन्छ । बच्चा नजन्मिउन्जेल तिम्रो स्वास्थ्यको ख्याल म गर्छु ।
मेरो विश्वास गर, कसैले थाहा नपाउने गरी तिम्रो सम्पूर्ण जिम्मा म लिन्छु ।” —उनलाई राम्ररी सम्झाएर बच्चा जन्माउनलाई तयार बनाएँ । त्यसपछि हस्पिटल नजिकै राम्रो डेराको बन्दोवस्त गरेर उनलाई व्यवस्थित गरिदिएँ ।
सेरोगेट मदरका लागि हामीले दाजु बहिनीले भाउजूलाई मेडिकल प्रोसेसको अभिनय गरेर विश्वस्त बनायौ । समय बित्दै गयो । मुनाको गर्भभित्र रहेको बच्चाप्रति हाम्रो अनुराग बढ्दो थियो । समयको गतिसँगै मुनाले छोरीलाई जन्म दिईन् । जन्मने बित्तिकै उनकी छोरी भाउजूको काखमा सुम्पियौं । मुनालाई कसैको मृतः बालक देखाएर पन्छाएको कर्मले यसबेला ममा आत्मग्लानी भयो ।
००
“हो मुना, तिम्रो पहिलो सन्तान जिउँदै छ । तिम्री छोरीले नै मेरा बृद्ध बुबाआमाको जीवनकाल हराभरा बनाइन् । मेरा दाजु भाउजुलाई वात्सल्यको रसपान गराएकी छिन् । ऊ हाम्री शबनम हो ।” — उनको मातृत्वमा म पनि भावुक भएछु ।
“डा.साहेब, मेरो मनको डाह त केही शान्त भयो । तर एकपटक हेर्छु नि तपाईंहरूकी शबनमलाई । बिन्ति, नाइँ नभन्नु होला । म टाढैबाट हेरेर चित्त बुझाउँछु, डाक्टर साहेब ।” मुनाको वात्सल्य उम्लिएर बरर खस्न थाले ।
“ शबनमलाई यहीँ बोलाउँछु, । तर वाचा गर, उसलाई देखेर मातृत्वको बाँध भत्काएर भावुक नबन्नू । नत्र वर्षौंको हामी सबैको तपस्या ध्वस्त हुन सक्छ । शबनमका आमाबुबा अरू नै हुन् भन्ने कुरा दाजु र मलाई मात्र थाहा छ । भाउजू आफ्नै कोखबाट नजन्मिएकी भएपनि आफ्नै श्रीमानको अंश भन्ठानेर सन्तुष्ट हुनुहुन्छ । त्यसैले तिम्रो परिवार र हाम्रो परिवारका लागि यो रहस्य, गोप्य नै रहनुपर्छ । बाचा गर, यत्ति गर्न सक्छ्यौ भने मात्र म शबनमसँग तिम्रो भेट गराउन सक्छु ।” मैले उनलाई सतर्क गराएँ ।
“डाक्टर साहेब, हजुरले भनेका हरेक कुरा मेरा लागि तपस्या हुन् । म हजुरका सबैकुरा अक्षररंस पालन गर्छु ।” —मुनाले उज्यालो अनुहार बनाइन् ।
त्यसपछि शबनमलाई मोबाइलबाट फोन गरेर बोलाएँ । केही समयपछि नै शबनम आउँछे । मुनालाई इशाराले शबनम देखाउँछु । व्यागबाट एउटा ट्यावलेट जस्तो चक्लेट निकाल्छु र शबनमलाई दिदै —“एक गिलास पानीसँग यो ट्याबलेट बिरामीलाई खुवाऊ त शबनम ।” नचाहेरै सही छोरीको मायालु स्पर्श मुनाले पाओस् भन्ने सोंचले म उसलाई नै अघि सार्छु ।
शबनमले हाँस्दै मबाट ट्याब्लेट लिन्छे र ग्लासको पानी लिएर बिरामी छेउ जान्छे । सिरानीमा अडेस लागेकी मुनालाई आफ्नो हातको भरले बिस्तारै उठ्नु होस आमा भनेर उठाएर दवाई ख्वाउँछे ।
वर्षौदेखि यही मिलनको क्षण प्राप्तिको आशामा विक्षिप्त बनेकी मुना आफ्नो पहिलो सन्तानको स्पर्शमा आल्हदित हुन्छिन् । अनुहारमा असीम तृप्तिको भाव झल्किन्छ ।
अप्रत्याशित रुपमा मुनाले शबनमको दाहिने हात टप्प समात्छिन् । अनि थाहै नपाई मेरी .....भन्न नपाई उनका आँखा मेरा अनुहारतिर ठोक्किन्छन् । थाहै नपाई उनको अन्तरहृदयबाट आउन लागेको मेरी छोरी ’ भन्ने शब्द उसैको घाँटीमा गाँठो बनेर अड्किन्छन् । तर पनि मुना आफ्नी छोरीलाई तृप्त नजरले यस्तरी हेरिरहन्छे मानौ यो दृष्टिको अनन्त धागो नचुँडियोस् ।
शबनम भने केही नबुझेर ट्वाल्ल परेर हेरिरहन्छे ।
००