बनेपा । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आइतबारदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर बारअनुसारको सेवा दिने जनाएका हुन् ।
प्रशासन कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको मापदण्ड पालना गर्ने सन्दर्भमा कार्यालयमा दैनिकरूपमा सेवाग्राहीको अत्यधिक भीड बढेको र जिल्लामा कोरोना सङ्क्रमणदर बढिरहेकाले आइतबारदेखि स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाई बारअनुसार सेवा तोकिएको जनाएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका लागि आइतबार, मङ्गलबार र बिहीबार तथा बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका लागि सोमबार, बुधबार र शुक्रबार सेवा प्रवाह हुने जनाइएको छ ।
यस्तै जिल्ला मालपोत कार्यालय धुलिखेलले पनि आजदेखि बारअनुसारनै सेवा प्रवाह गर्ने जनाएको छ ।
कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि बनेपा र नमोबुद्ध नगरलाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरलाई सोमबार र बिहीबार तथा पाँचखाल र पनौती नगरलाई मङ्गलबार र शुक्रबार सेवा उपलब्ध गराउने जनाएको हो ।
दुबै कर्यालमा गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।
जिल्लामा हाल ६४३ कोरोना सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरमा १६३, धुलिखेलमा १२०, पाँचखालमा ८१, पनौतीमा १०४, नमोबुद्धमा ९१, मण्डनदेउपुरमा ४५ तथा रोशी गाउँपालिकामा १४, चौँरीदेउरालीमा दुई, तेमालमा आठ, भुम्लुमा पाँच, बेथानचोकमा पाँच, खानीखोलामा एक र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको जनाइएको छ ।