काठमाण्डौं । ओखलढुंगा, सोलुखुम्बु र खाटाङबाट काठमान्डौ हिडेका सयौ यात्रु सिन्धुलीको खाङ्साङमा अलपत्र परेका छन् । बोलेर र सुमो चालक बीच भएको विवादले उग्ररुप लिदा मध्यरातमा यात्रु अलपत्र परेका हुन् ।
फिक्कल गाउँपालिका–४ खाङ्साङका स्थानीयवासी चालक रहेको बा १६ च ५६७० नम्बरको बोलेरोलाइ ओभरटेक गर्नेक्रममा उक्त बोलेरो चालकले सुमो चालकलाई अपशब्द प्रयोग गरेपछि विवाद सृजना भएको प्रत्यक्षर्शी यात्रुको भनाई छ । विवाद बढ्दैगएपछि बिरामी यात्रु सहितको सुमो चालकलाई नियन्त्रणमा लिएर खाङ्साङ प्रहरी चौकीमा राखिएको छ भने बोलेरो चालकलाई छाडिदिएको खाङ्साङ प्रहरी चौकीले जनाएको छ ।
बोलेरो चालकको पक्षमा करिब ३०÷४० जनाको समुहमा आएका स्थानीयवासीले सुमो चालकलाई कुटपिट गरेको चालक राजेन्द्र बानियाले बताउँनुभयो । प्रहरी चौकी भित्र भएको स्थानीयवासीको कुटाइबाट टाउको भित्रि असर हुनका साथै टुटुल्को भएपनि उपचार गर्न नपाएको चालक राजेन्द्र बानियाले बताउँनुभयो ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका एसपी रन्जु सिग्देललाई जानकारी गराएको भएपनि सहजिकरण नभएको गुनासो यात्रु प्रकाश कटेलले गर्नुभयो । जीउ भरि आएको घाउ पाकेर थप उपचारको लागि काठमान्डौ गएको भएपनि बीच बाटोमानै खाना न पानी भएर अलपत्र पर्दा कानुन विहिन राज्यको अनुभुति भएको अर्का यात्रु ज्ञान बहादुर विश्वकर्माले दुखेसो पोख्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक रन्जु सिक्देल र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलाई फोन सम्पर्क गरेको भएपनि फोन रिसिभ भएन । फोनको कुनै रेस्पोन्स नहुनुले पनि सुरक्षा निकायका प्रमुख कत्तिको जिम्मेवारीपुर्ण छन् भन्ने प्रष्ट हुन्छ । प्रहरी कार्यालयको फोन ०४७५२०५९९ मा पटक पटक सम्पर्क गर्दा पनि रिसिभ भएन भने प्रशासन कार्यालयको वेवसाइटमा प्रहरी कार्यालयका सूचना अधिकारीको नाम नम्बर पाउन सकिएन ।
यता खाङ्साङ प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रामकुमार चौधरीले भने प्रहरी चौकी भित्र कुटपिट नभएको दावी गर्नुभयो । यस्तै उहाँले सुमो चालकलाई प्रहरी चौकीमा राखिएको र बोलेर चालकलाई सोमबार बिहान आउने गरि पठाइएको बताउँदै छलफलपछि निश्कर्ष निकाल्ने बताउँनुभयो । उहाँले यात्रु सबै जना होटलमा बसेको बताएपनि यात्रुले भने होटलपसल सबै बन्द भएकाले पानी समेत पीउन नपाएको गुनासो गरेका छन् ।