झापा । झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् ।
जनता आवास कार्यक्रम र तराई मधेश समृद्धि कार्यक्रमले समेट्न नसकेका शहीद परिवार, राज्य व्यवस्था परिवर्तनका लागि योगदान दिएका, एकल महिला, वृद्धवृद्धा, विपन्न, आदिवासी–जनजातिलगायतलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको झापा क्षेत्र नं १ का सांसद राम कार्की (पार्थ)ले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७÷०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।
कार्यक्रमअन्तर्गत मेचीनगर–११ का शहीद गणेश लम्सालकी धर्मपत्नी मैया आचार्य लम्साललाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । लम्सालले माओवादी जनयुद्धताका २०६१ फागुन २ गते मोरङको जाँतेमा जनमुक्ति सेना र तत्कालीन शाही सेनाबीच भएको दोहोरो भिडन्तमा सहादत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मुकुलचन्द्र राजवंशीले शहीदलाई विभिन्न कार्यक्रममा एक मिनेट मौन धारणमै सीमित गरिएको बताउँदै भन्नुभयो । शहीद परिवारको घर बन्नु उदाहरणीय कार्य रहेको र शहीदप्रति सम्मान भएको उहाँको भनाइ छ । व्यवस्था परिवर्तनका लागि सहादत प्राप्त गर्नेका परिवार र जीउँदा शहीदलाई हेर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सोही कार्यक्रमअन्तर्गत झापा विद्रोहका योद्धा मेचीनगर–१० का ७० वर्षीय सानो दुर्गा अधिकारीले नयाँ घर पाउनुभएको छ । भाडाको घरमा बस्दै आउनुभएका उहाँको आफ्नै घरमा बस्ने सपना पूरा भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीसँगै विसं २०३० मा पक्राउ पर्नुभएका अधिकारीले १७ वर्ष लामो कठोर जेल जीवन बिताउनुभएको थियो । अध्यक्ष ओलीभन्दा तीन वर्ष बढी समय जेलनेल भोगर उहाँ विसं २०४६ मा जेलमुक्त हुनुभएको थियो । प्रजातन्त्र प्राप्तिमा जीवनका उर्वर समय अर्पण गर्ने अधिकारीको आर्थिक अवस्था भने कमजोर छ ।
बूढेसकालमै भए पनि घर पाएपछि बस्नलाई सजिलो भएको बताउँदै उहाँले अब राज्यका तर्फबाट भरणपोषणको व्यवस्था भए अरु केही नचाहिने बताउनु भयो । लम्साल र अधिकारीसँगै मेचीनगर नगरपालिकाका २० र बुद्धशान्ति गाउँपालिकाका सात परिवारले घर पाएका छन् ।