काठमाडौँ । नेपाली काँग्रेसमा थाती रहेको क्रियाशील सदस्यता विवादको किनारा आगामी बुधबारसम्म लगाइने भएको छ । काँग्रेसले महाधिवेशनमा मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको विवाद किनारा लगाएर भदौ ३ गते पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रतिवेदन बुझाउने योजना रहेको जानकारी दिएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको साउन ३० गते सम्पन्न बैठकले विवादको किनारा लगाउने जिम्मेवारी र समयसमेत तय गरेकाले अब निर्धारित समयमा काम पूरा हुने जानकारी दिनुभयो । यसका लागि केन्द्रीय समितिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदललाई जिम्मा दिएको छ । कार्यदलले अब दुई दिनभित्र विवाद समाधान हुन बाँकी रहेको जिल्लाको छिनोफानो लगाउनेछ ।
केन्द्रीय समितिले यसअघि नेता लेखक संयोजकत्वको छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदन अनुमोदन गरिसकेकाले छिनोफानो हुन बाँकी रहेका विषय केन्द्रीय समितिमा प्रस्तुत गरिरहनु नपर्ने मुख्य सचिव पौडेलले स्पष्ट गर्नुभयो । सभापतिलाई प्रतिवेदन बुझाएपछि नै त्यसले अन्तिम रूप पाउनेछ । सभापति देउवाले क्रियाशील सदस्यताको एकमुष्ट सूची पार्टीको निर्वाचन समितिलाई प्रस्तुत गर्नुभएपछि समितिले निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।
छानबिन समितिले मुख्य रूपमा छवटा जिल्लाको क्रियाशील सदस्यताको विवादबारे छिनोफानो गर्ने छ । प्रदेश २ का धनुषा, सर्लाही, सप्तरी र बारा तथा बागमतीको रसुवा र सिन्धुपाल्चोकको विवाद छिनोफानो गर्न बाँकी छ । बाँकी जिल्लाको विवाद छानबिन कार्य यसअघि नै पूरा भइसकेको छ ।
काँग्रेसले यस पटक आठ लाख ५२ हजार ७११ जना कार्यकर्तालाई क्रियाशील सदस्यता दिने भएको छ । तिनमा चार लाख नौ हजार ३२ जनाको पुरानो क्रियाशील सदस्यता नवीकरण गरिएको छ भने चार लाख ४३ हजार ६७८ जनाले नयाँ क्रियाशील सदस्यता पाएका छन् ।
केही जिल्लाको विवाद अझै निष्कर्षमा पुग्न बाँकी रहेकाले सामान्य थपघट हुन सक्नेछ । क्रियाशील सदस्यताको विवाद छिनोफानो गरी आगामी भदौ १८ बाट गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन प्रारम्भ गर्ने कार्यतालिका काँग्रेसले सार्वजनिक गरिसकेको छ ।