काठमाण्डौं । नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट १५ जना नेताहरु समेटिएका छन् । बुधबार दर्ताको लागि निवेदन दिएको पार्टीमा वरिष्ठ नेताका रुपमा झलनाथ खनाल रहनु भएको छ ।
प्रदेश १ बाट केन्द्रीय कमिटी सदस्यहरुमा जयन्ती राई (भोजपुर), जगन्नाथ खतिवडा (उदयपुर), घनेन्द्र बस्नेत (मोरङ), राजेन्द्र राई (भोजपुर), बलदेव चौधरी (उदयपुर), डा.देउमान सम्बाहाम्फे (मोरङ), भाष्कर काफ्ले (ताप्लेजुङ), रविन कोइराला (झापा), महम्मद महफुज अन्सारी (सुनसरी), नरेश खरेल (झापा) र महेश रेग्मी (मोरङ) रहनु भएको छ ।
त्यस्तै गरि एमाले समाजवादीको केन्द्रमा प्रदेश १ बाट उदयपुरका सुरेश कार्की, पाँचथरका गणेश काङ्बाङ, मोरङकी विद्या चाम्लिङ मोरङ र उदयपुरकी दुर्गा परियार पनि रहनु भएको छ । उहाँहरु भने केन्द्रमा नयाँ अनुहार रहनु भएोक छ ।
प्रदेश १ मा नेपाल पक्षीय भनेर चिनिएका एमालेका सचिबद्वय योगेश भट्टराई र भीम आचार्यको नाम नयाँ पार्टीको केन्द्रीय समितिमा छैन । उहाँहरुले पछिल्लो समय पार्टी विभाजनको विपक्षमा आफ्नो मत राख्दै जसरी पनि ओलीसँग एकता गर्नुपर्ने पक्षमा उभिनु भएको थियो ।
प्रदेशमा नेपाल पक्षका भनेर चिनिएका केन्द्रीय सदस्यहरु मोरङका जीवन घिमिरे र खोटाङका राजन राई, ओखलढुंगाका यज्ञराज सुनुवार पनि ९५ सदस्सीय केन्द्रीय कमिटीमा रहनु भएको छैन । उहाँहरुले माधव नेपालको साथ छाडेको हो कि हैन भन्ने खुलिसकेको छैन ।
नेपाल पक्षमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, तेह्थुम, इलाम, धनकुटा, संखुवासभाबाट भने केन्द्रिय सदस्यमा कोही नेतको नाम रहेको छैन । कतिपय जिल्ला नेताहरु नेपालले दर्ता गरेको एमाले समाजवादी पनि हिजो बामदेबको मालेको अवस्थामा पपुग्ने होकी भन्ने डरले पनि तत्कालका लागि पार्टीमा नखुलेको बताइएको छ ।