काभ्रेपलाञ्चोक। पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयका लागि ग्लोबल ट्रण्डर आह्वानको प्रक्रिया शुरू भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ‘ग्लोबल टेण्डर’ मार्फत गराइने प्रक्रिया थालिएको हो ।
ग्लोबल टेण्डरका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ । गत आर्थिक वर्षमा विनियोजित १ अर्ब २० करोडबाट पाँचखालमा निर्माण गरिने विश्वविद्यालयको डिपिआर तथा चित्लाङमा निर्माण सुरु गरिएको पूर्वाधार निर्माण भइरहेको छ । विश्वविद्यालयका लागि चालु आर्थिक वर्षमा १अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । यो बजेटको करिब १० प्रतिशत चित्लाङमा निर्माण हुने विश्वविद्यालयको एउटा इञ्जीनियरिङको शाखासमेतको हो ।
समितिका अनुसार विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको भएकाले डिपिआर नै ग्लोबल टेण्डरमार्फत गर्न लागिएको छ भने डिपिआरको लागत ठेकेदार कम्पनी आफैले समितिसँग प्रस्ताव गर्नुपर्नेछ ।
काभ्रेपलाञ्चोकका सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले १० हजार रोपनीभन्दा बढी जमिनमा बहुवर्षीय योजनाअनुरुप निर्माण हुन लागेको विश्वविद्यालयको भौतिक संरचनासमेत अन्तर्राष्ट्रियस्तरको हुने बताउनुभयो ।
“मदन भण्डारी विश्वविद्यालय राष्ट्रिय गौरवकाे आयोजना हाे”, उहाँले भन्नुभयो । उहाँका अनुसार विश्वविद्यालयको परियोजना सम्पन्न गर्न ४३ अर्ब लाग्ने अनुमान गरिएको छ । विविका लागि शिक्षण, मेडिकल कलेज र अस्पतालका लागि आवश्यकीय भवन, सडक, खानेपानी, शिक्षक–विद्यार्थीका होस्टेल, हेलिप्याड, खेलमैदानलगायत संरचना निर्माण गर्ने योजना बनाइएको समितिले जनाएकाे छ।