-अम्बिका खड्का
सामान्य अर्थमा हामीले बुझेको नृत्य एउटा कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । हामीले मनोरञ्जनको एउटा माध्यमको रुपमा मात्र बुझेको नृत्यलाई नृत्य निर्देशक बुद्ध लामा इतिहास, भूगोल, धर्म, समाज, संस्कार, लगायतका यावत कुराहरु यसमा जोडिएको हुने बताउनुहुन्छ । नृत्य नबुझि नाच्नुको कुनै अर्थ नहुने उहाँको मान्यता छ । नृत्य एउटा व्यक्तिको इच्छा र अन्य व्यक्तिको मनोरञ्जनमा मात्र नभएर समाज, धर्म र जातजातिको प्रतीक, देशको ‘गर्व’, इतिहासको साक्षी हुने लामाको भनाइ छ ।
केही वर्ष अघिसम्म दर्शकको ताली र आयोजकको धन्यवादमा मख्ख पर्नुपर्ने अवस्था रहेको नृत्यको क्षेत्र अहिले व्यवसायिक भइसकेको छ । तर पहिलेको चुनौती पारिश्रमिक थियो भने अहिलेको चुनौती हाम्रो आफ्नोपनलाई जोगाउनु रहेको लामा बताउनुहुन्छ । विदेशी कला संस्कृति हाबी हुँदै गएपछि हाम्रो मौलिक कला संस्कृति जोगाउनै मुस्किल हुने हो कि भन्ने उहाँको चिन्ता छ । लामा भन्नुहुन्छ, ‘नेपाल विभिन्न जातजाति, वहुधार्मिकता, कलासंस्कृति, भौगोलिक विविधता भएको देश हो । यहाँ ठाउँ, जात, भाषा, धर्म, संस्कार अनुसार कलासंस्कृति र नृत्य पनि धेरै र फरक छन् । हामी कलासंस्कृतिमा यति धनी छौँ तर विस्तारै विदेशबाट आयतित संस्कृति हाबी हुँदैछ । बजारले पनि आधुनिक र विदेशी शैली रुचाउँछ, सिकाइमाग्न आउने पनि उस्तै आउनुहुन्छ । यसले गर्दा हाम्रो कला, हाम्रो नृत्य बचाउनु हामीलाई चुनौती बनेको छ ।’
नृत्य निर्देशक तथा प्रशिक्षकले बाध्य भएर बजारको माग अनुसार सिकाउनु परेको भन्दै लामा भन्नहुन्छ, ‘पेशागत तथा व्यवसायिक रुपमा रहेर पनि हामीले त चलेको ट्रेण्डअनुसार सिकाउनु पर्ने हुन्छ । भाडामा घर लिएर, ऋण खोजेर व्यवसाय चलाएका हुन्छौँ । त्यसैले पनि हामी बाध्य हुँन्छौँ बजारको माग अनुसार चल्न । यसको मतलव हाम्रो आफ्नोपनको संरक्षण गर्नका लागि उचित वातावरण सरकारले तयार गर्नुपर्छ ।’ नृत्यप्रति अध्ययन कम हुने, मनोरञ्जन र शौेख पूरा गरेर हिँड्ने, विदेशी संस्कृति पछ्याउने, आफ्ना मौलिकपन विर्सँदै जाने प्रवृति बढेसँगै व्यवसायिक रुपमा अवसर र फाइदा भएपनि नृत्य क्षेत्रको दीर्घकालिन संरचना मासिने र आफ्नोपना हराउँदै जाने निश्चित रहेको लामाले बताउनुभयो । लामाले विश्वबजारमा नेपालको कलासंस्कृति पुर्याउन प्रवद्र्धनको आवश्यकता रहेको र त्यो सरकारले गर्नुपर्ने बताउनुभयो ।
पेशालाई बुझेर मर्यादित भएर काम गर्ने हो भने नाचेर रमाइ–रमाइ परिवार पाल्न सकिने उहाँको भनाइ छ ।
नेपाल नृत्य निर्देशक संघ काठमाडौं शाखामा दोस्रो कार्यकाल सम्हालिराख्नुभएका लामाले आफ्नो पहिलो कार्यकालमा सक्रिय भएर काम गरेको, संगठन विस्तार गरेको, नृत्य क्षेत्रका साथीभाइका समस्या सुनेर समाधानका लागि पहल गरेको बताउनुभयो । उहाँले कोरोना संक्रमणको अवस्थामा पनि समस्यामा परेका नृत्य क्षेत्रमा मानिसका लागि संघको अनुभूति गराएको बताउनुभयो । आफ्नो क्षमता र कामलाई देखेर दोस्रो कार्यकालको जिम्मा पनि आफैँलाई आएको बताउँदै भविष्यमा नृत्य क्षेत्रलाई प्रवर्दन गर्ने गरी र यस क्षेत्रमा आबद्ध पेशामर्कीको हकहीतका लागि टीमले प्रभावकारी योजना बनाइरहेको उहाँकाले जानकारी दिनुभयो ।
काभ्रे जिल्लाको चौरी देउरालीबाट अध्ययनका लागि काठमाडौं आउनुभएका लामालाई नृत्य सिक्छु भनेर घरमा अनुमति लिने हिम्मत थिएन । केही वर्ष घरमा ढाँटेरै नृत्य सिक्नु भएका लामा भन्नुहुन्छ, ‘आज भन्दा २०, २२ वर्षअघि समय नै त्यस्तै थियो । नृत्य गर्नुलाई मर्यादित मानिँदैन थियो र पेशागत रुपमा यसमा लाग्न सक्ने अवस्था पनि थिएन । त्यसैले घरमा नभनेरै आफ्नो इच्छाका लागि पाँच वर्षसम्म ढाँटेर नृत्य सिकेँ । छोराहरुको लागि त यस्तो अवस्था थियो भने त्यो बेला छोरीहरुलाई अझ यो पेशा, क्षेत्रमा जान अभिभावकले स्वीकृती दिने भनेको धेरै नै गाह्रो थियो ।’
दर्शकको ताली र आयोजकको धन्यवादमा मख्ख पर्दै नाचेर घर फर्कनुपर्ने अवस्थाबाट संघर्ष गर्दै आउनुभएका लामा आफ्नो पेशाप्रति गर्व गर्नुहुन्छ । १०–११ वर्षको उमेरबाट नृत्यप्रति रुचि बढ्न थालेका लामाले ६२ सालतिर नेपाल टेलिभिजनको एउटा प्रतियोगिता जितेर पहिलो पटक नृत्यबापतको पारिश्रमृक अर्थात पुरस्कार पाउनुभएको थियो । पहिलो पटक एक कार्टुन चाउचाउ, एक कार्टुन फ्रुटी र पाँच लिटर आइसक्रिम पाउँदाको त्यो समय सम्झँदै लामा भन्नुहुन्छ, ‘त्यो क्षण मलाई आफू आकाशमा उडिरहेको छु जस्तै लागेको थियो ।’ २०५७ सालदेखि औपचारिक रुपमा नृत्य सिक्न थाल्नुभएका लामाले अहिले प्रशिक्षक भएर नृत्य सिकाउन थालेकै २५ वर्ष भएको बताउनुभयो, 'नृत्यमै लागेर जीवनको एक चौथाइ समय बिताएँ, बाँकी समय पनि यसरी नै बिताउन सक्छु भन्ने भरोसा छ ।'