काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (विहीवार) दोहोरो अंकले गिरावट अएको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ ।
नेप्सेले दिएको जानकारी अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १८.७१, निर्जीवन बीमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३ र जीवन बीमा ४६८.५७ बिन्दुले बढेको छ ।
यस्तै बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत् १२३.३१, वित्त ७३।३१, उत्पादन १९.२८, सामूहिक लगानी कोष ०.१ र लगानी ४.९२ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । रिडी हाइड्रो पावर ८.५९, साना किसान लघुवित्त ७.५१, सिइडिबी हाइड्रोपावर ६.९५ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ६.३२ प्रतिशतले कमाए ।
साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब १८ करोड सात लाख ८८ हजार २१८ बराबर पुगेको नेपाल स्टक एक्स्चेन्जले जनाएकाे छ।