काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि बिहीबार आरोपै आरोप लगाउनुभएको छ ।
बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले अधिकांश समय नेता नेपालमाथि आरोप लगाएरै बतिाउनुभयो । माधवकुमार नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यस क्रममा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको ओलीको आरोप थियो । नेता नेपालको कार्यकालमा एमाले सडक र संसद दुवै मोर्चामा खुम्चिएको ओलीको भनाइ छ ।
त्यसो त ओलीले नेता नेपालमाथि आरोप लगाएको पहिलो पटक होइन । ०७७ चैत ३ गतेपछि ओलीले आफूले पाएका हरेक मञ्चमा नेता नेपाललाई आरोप लगाउन र आलोचनात्मक टिप्पणी गर्न छुटाएका छैनन् ।
यी हुन् ओलीले नेता नेपालमाथि लगाएका आरोप र टिप्पणीहरु :
०७७ चैत ३ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहमा ओलीले नेपाल पक्षले बोलाएको गुटगत भेलामा सहभागी नहुन सबै नेता तथा कार्यकर्तालाई कडा निर्देशन दिएका थिए ।
- ‘केही मानिसहरूले निहुँ खोजिरहेका छन्,’ उनले भनेका थिए भोलि राष्ट्रिय भेला बोलाउने अरे, समानान्तर कमिटी बनाउने अरे । तर, एमालेसम्बद्ध तपाईंहरू कोही पनि गुटगत भेलामा नजानुहोला ।’
- बैशाख २६ गते आइतवार प्रेस वक्तव्य जारी गरी बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर पार्टीलाई पछि पार्ने हानिकारक प्रयासमा लागेको आरोप लगाएका थिए ।
- उनको आरोप थियो–’आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन् । ’
- ओलीले विज्ञप्तिमा भनेका थिए, विरोधीलाई सहयोग पु¥याउँदै दिग्विजय मनाउने घातक क्रियाकलापलाई इतिहासले माफ गर्ने छैन ।
लाजसरम पचेको भन्दै अराजनीतिक अपाच्य शब्द
- मदन भण्डारी स्मृति दिवसको सन्दर्भमा अध्यक्ष ओलीले नेपालमाथि गभीर आरोप लगाउदै भने, कांग्रेसको पछि कुद्ने लाजसरम पचेको मान्छे । शेरबहादुर देउवाको कार्यकर्ता ।
- ओलीले नेता नेपाललाई प्रचण्डका मामुली कार्यकर्तासम्म भनेका थिए ।
- ओलीले नेता नेपाल कांग्रेसमा प्रवेश गर्न लागेको आरोपसमेत लगाए । ‘उहाँ कांग्रेसमा प्रवेश गर्नुभयो भन्दा हुन्छ । त्यहाँ भएन भने प्रचण्डको पार्टीमा जान त उहाँ तम्तयार नै हुनुहुन्छ। ’
-ओलीले भने, ‘एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन् । जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने पुच्छर पूर्वतिर लाग्छ ।'
नेपाललाई प्रधानमन्त्री बनाउन मलाई बौलाहा कुकुरले टोकेको छ र ?
- ओलीले नेपाललाई प्रधानमन्त्री बनाउन आफूलाई बहुला कुकुरले नटोकेको बताएका थिए । नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भन्दै ओलीले भनेका थिए, ’अहिले धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर,’ ओलीले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र ! नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ।’
मिर्जाफिर र मिर्काशिमको संज्ञा
- जेठ ७ गते शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी ओलीले आफूले उठाएका उम्मेदवारलाई हराउने, सरकार ढाल्न सक्रिय हुने अनुशासनहीन गतिविधिलाई एमालेले माफ नगर्ने चेतावनी दिए ।
- ’पार्टी अनुशासनहिनता र फोहोरी मैदान अब हुँदैन । पार्टी सिद्धान्त निष्ठ र संगठित सक्रिय संस्थाको रूपमा एमाले अघि बढ्छ ।'
- ‘हामीले रामबहादुर थापा बादलजीलाई उम्मेदवार बनाएका थियौं । हिजो पनि नेपाल समूहले बादललाई भोट नहालेर गम्भीर अपराध गरेको छ ।’
- ओलीले भनेका थिए ‘माधव समूहसँग हिसावकिताव त गर्नै पर्छ ।
- संसदमा विश्वासको मत नपाएपछि ओली नेपालमाथि नै खनिए । ’महाभारतमा नीति नियम तोडेर घेराबन्दीमा पारेर अभिमन्युको हत्या भएको थियो । मलाई पनि सम्पूर्ण अनुशासन तोडेर विश्वासको मत नपुग्न घेराबन्दीमा पारियो ।’
- संसदमा अनुपस्थित भएको भन्दै माधव नेपाल पक्षलाई ओलीले मिर्जाफर र मिर्काशिमको संज्ञा दिएका थिए ।
शपथ झुठो दाबी
- जेठ १६ बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो सरकारविरुद्ध विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने, कहिले अर्को सरकार बनाउन विपक्षीकहाँ पुग्ने । दलीय अनुशासन, दलीय मर्यादा, संसदीय प्रणाली या कुनै पनि अनुशासनको प्रणाली । तिनले खाएको शपथ झुटो हो । शपथ बेइमानी हो । तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको छ ।’
आफनै नेतालाई किर्नाको संज्ञा ?
- नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलामा बोल्दै ओलीले आफूविरुद्धका सबै विरोध र टीकाटिप्पणीलाई सहदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका थिए ।
- त्यसक्रममा उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयो भने ’ठीक लगाउने’ चेतावनी पनि दिए । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठीक लगाइने छ ।
-'बोलिरहनुभएको छ तर म सीमा हेरिहेको छु तपाईंहरूलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।'
उनले नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैँसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे ।
- ’प्यादाले मन्त्री खान्छ चेसमा । भुसुनाले लामखुट्टेले हात्ती खान्छ । उपियाँले मान्छे खान्छ । कति खान्छ ? तिनीले कम्युनिस्ट आन्दोलन खान्छु भनेको त्यही हो । उपियाँले मान्छे खाएजस्तो । किर्नाले भैँसी खादैन ।
- किर्नाले भैँसी खाएको देख्नुभएको छ कि छैन । यिनीहरूले गरेको हामीलाई कारबाहीत्यस्तै हो । किर्नाले भैँसी खाएजस्तै । किर्नाले भैँसी खाने ? मनको यिनको रहर हो,’ उनले भने, ’कति रोएका ? राजीनामा देऊ, राजीनामा देऊ । हटाउन न । हटाउ ! समर्थन किन गरिरहन्छौँ ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने राजीनामा देऊ राजीनामा देऊ । मसँग बहुमत छ ।
-बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ । लैजाउँ । चाहिएको छैन तिम्रो समर्थन । लैजाउ ।’
आलोचना ,आलोचना फेरि आलोचना
असार १४ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले केही जाली फटाहाहरू लिएर देउवा प्रधानमन्त्री हुन खोज्नुभयो ।
- ओलीले माधव नेपालको आलोचनामा थुप्रै शब्द खर्च गरे । माधव नेपाल मदन भण्डारीविरोधी भएको आरोपसम्म उनले लगाए । ‘एमालेको वरिष्ठ हुँ भन्ने, एमाले नै ध्वस्त पार्न लागिपर्ने, कांग्रेसको सरकार बनाउन लाग्ने ।
- दुनियाँको लोकतान्त्रिक इतिहासमा माधव नेपालजति अराजक, अनुशासनहीन र इमान नभएको मान्छे, जुन पार्टीले भोट लियो, जुन आदर्शका लागि भनेर ढाँटेर हिजो भोट लियो, त्यसैलाई धोका दिने’, ओलीले भने, यो बीचमै राजीनामा दिनुपर्दैन ? मैले नयाँ पार्टी खोलेँ, नयाँ विचार अँगाले भन्नुपर्दैन ?’
एमाले नरहने घोषणा
- असार १९ गते एमाले बैठकमा ओलीले अल्टिमेटम दिदै सोमबार बेलुकासम्म हस्ताक्षर फिर्ता नगर्नेलाई एमालेमा स्थान नहुने सन्देश दिए । ’विपक्षी गठबन्धनलाई बलियो बनाउनेलाई एमालेमा स्थान छैन । हस्ताक्षर फिर्ता नगर्नेहरू एमाले रहन सक्दैनन्,’
- ’पार्टीले उहाँहरूको गल्ती सच्याउने मौका दिएको छ । तोकिएको समयसीमाभित्र नसच्चिए एमालेमा ठाउँ छैन । पार्टीभन्दा विपक्षी गठबन्धनलाई बलियो बनाउनेहरूलाई किमार्थ स्थान दिन सकिँदैन ।’
- शुक्रबारको केन्द्रीय कमिटी बैठकमा हस्ताक्षरको कदम पार्टी फुटको घोषणा भएको बताएका ओलीले शनिबार बैठकमा त्यस कदमपछि पार्टीभित्र प्रस्ट कित्ताकाट भएको बताएका थिए ।
- च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूलाई गद्दार, अराजक र अनुशासनहीनको संज्ञा दिए । ’गद्दारहरूलाई कारबाही नगर्ने हो भने अब एमाले पार्टी रहँदैन । विश्वासको मत दिने घटना शर्मनाक छ ।’
लाल गद्धारको संज्ञा
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोटस्थित निजी निवास फर्किएपछि अध्यक्ष ओलीले घरको बार्दलीबाट माधव नेपाललाई लाल गद्दारको संंज्ञा दिए ।
- ‘माधव नेपालकै कारण एमालेको सरकार ढलेको हो,’ उनले भने, ‘माधव नेपालजस्ता लाजशरम हराएका विश्वासघाती र अन्तरघातीलाई आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन ।'
- नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न ।’‘कमीकमजोरी महसुस गरेर पार्टीमा आउनेहरूलाई हामी काम गर्ने मौका दिन्छौँ । तर, माधव नेपालको हकमा आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन ।'
- 'यो परिस्थितिको निर्माणकर्ता नेपाल हो र अगुवाइ पनि उहाँले नै गर्नु भएको हो । माधव नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न । अब उहांलाई पार्टीमा ठाउं छैन ।'
- ’पार्टीभित्रका कमजोर तत्वहरू विकाउमा लागे । प्रतिक्रियावादीका पछि पछि लागेर पार्टी र जनताको शक्तिविरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपति कहाँ विरोधीलाई अघि लगाएर गए, कहिले अदालत पुगे । उनीहरूलाई क्षमा दिन सकिन्न,’ ओलीले भने ।
हरियो सर्प
- साउन १० गते अखिल नेपाल महिला संघको कार्यक्रममा ओलीले नेता नेपाललाई इंगित गर्दै भने,’घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौँ ।’
- नेता नेपालको भूमिकाप्रति आपत्ति जनाए । नेता नेपाललाई माफी दिने आफू कोही नभएको भन्दै ओलीले गल्ती सच्चाएर आए पार्टीले माफी दिने उल्लेख गरे ।
आम माफी
ओलीले एक कार्यक्रममा बोल्दै आफ्ना कमीकमजोरी सुधार गर्नेप्रतिबद्धता व्यक्त गरे हालका गल्तीलाई आम माफी दिन आफू तयार रहेको बताए । ’पार्टीमा आएर एकतालाई सुदृढ गर्न योगदान गरेमा उहाँहरूको गल्तीलाई आममाफी दिन तयार छु ।
देशद्रोहीलाई ठाउँ छैन
साउन १६ गते स्थायी कमिटी बैठक बस्नु ठीक ३ घण्टाअघि काठमाडौ जिल्ला कमीटीको भेलामा मध्याह्न १२ बजे अध्यक्ष ओलीले भने– ’माधव नेपालजस्ता आन्दोलनविरोधी, देशद्रोहीलाई एमालेमा ठाउँ छैन ।’
निर्लज्ज, धोकेवाज र बेइमान
- साउन १७ तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रम ओलीले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरूले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप लगाए । उनले भनेका थिए–‘पार्टीप्रतिको निष्ठा, इमान सब छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पु¥याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टीभित्रैबाट भयो ।
पार्टीका काम रोकिदैन
-साउन २५ गतेको केन्द्रीय कमिटीमा बोल्दै ओलीले एकताका लागि भन्दै माधव नेपाल पक्षले वडा तथा पालिकाको अधिवेशन रोक्न माग गरे पनि उनले पार्टीका आन्तरिक गतिविधि नरोकिने बताए ।’ पार्टीका कुनै पनि गतिविधि कसैलाई पर्खने बहानामा रोकिँदैन, अब नेकपा एमाले अघि बढिसक्यो, ।
संसदमा खिसीट्यूरी
-प्रधानमन्त्री बाट अपदस्थ भएपछी पहिलो पटक साउन २६ गते प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले मन्त्री खान केही मान्छेहरू पछिपछि लागेकाले मन्त्री बनाइदिन प्रधानमन्त्री समक्ष हात जोडेर खिसीट्यूरी शैलीमा आग्रह गरे ।
- ‘मेरा पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईंका पछाडि हिँडेका छन् । मन्त्री खान हिरिक हिरिक भएका छन् विचाराहरू, उनीहरूलाई मन्त्री बनाइदिनुस् ।’
-अध्यक्ष ओलीले आफ्नो दलमा घाटा भए पनि सहने भन्दै पछि लागेकाहरूलाई मन्त्री बनाइदिन आग्रह गरे । ‘तपाईंले पछि त लगाइसक्नुभयो । मैरै पार्टीका नेताहरू मन्त्री खान फ्याँ–फ्याँ गरेका छन्, स्वाँ–स्वाँ गर्दै दौडिएका छन् । बिहान बेलुकै चाकडीमा हिँडेका छन् ।’
- ‘मेरो दलमा घाटा भए पनि बरु सहौँला, मन्त्री बनाइदिनुस् ।’
फागुन २८ अघि,
फागुन २० गते सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अहिले केही मान्छे पार्टी छाडेर गए पनि पार्टी थप बलियो र मजबुद हुने बताएका थिए ।
-नेकपाको प्रचण्ड–नेपाल समूहप्रति इंकित गर्दै प्रधानमन्त्री ओलीले केही पिलोहरू निचोरिएर जाँदा चिन्ता गर्नु नपर्ने बताएका थिए
- ‘केही पिलोहरू उछिट्एर जान्छन्, निचोरिएर जान्छन्,’ उनले भनेका थिए ‘तपाईंहरूलाई अहिले राजनीतिबारे चिन्ता होला, अब चिन्ता गर्नु पर्दैन ।
- ’प्रधानमन्त्री ओलीले हुर्काएको बिरुवालाई कहिलेकाहीँ हावाहुरीले भाँचे पनि फेरि पलाउने बताए ।
-‘हुर्काएको बिरुवालाई हावाहुरी आएर भाँचिदिन्छ, तर फेरि पलाउँछ कहिलेकाहीँ पहिरोले पर्खाल भत्काइदिन सक्छ, तर हामी फेरि बनाउँछौँ,’ उनले भनेका थिए ‘हामी अहिले एउटा ढल्यो भने सय, सय ढल्यो भने हजार भएर निस्किन्छौँ । चिन्ता गर्नुपर्दैन ।’