-लक्ष्मी उप्रेती
स्मृति बिम्बहरू छरपस्ट छन् मस्तिष्कमा । के लेखौ के छाडौ भएर मन बिथोलिएको छ यसबेला । रमेश दाइबारे के कुरामा लेख्दा यो आलेख पुरा होला म भन्न सक्दिनँ । उहाँसँगको भेटघाटका सुखद् प्रसङ्गहरू कति छन् कति, तर लिपिबद्ध कहाँबाट कसरी गरौ भनेर म अनौठो यातना सहिरहेछु । जबजब रमेश दाइबारे लेख्ने अभीष्टले घोरिन्छु तब–तब ताजै बनेर बग्नु हुन्छ उहाँ अविरल बग्ने इन्द्रावती झैँ स्मृतिमा । विकल दाजु हामी सबैका मार्ग निर्देशक ।
उहाँलाई अन्तिम पटक अत्तरखेलस्थित मेडिकल कलेज, जोरपाटीमा भेट भयो । जुनबेला उहाँ आई.सी.यु वार्डमा मृत्युशैयाले छट्पटाइरहेको हुनुहुन्थ्यो । त्यस्तो असह्य अवस्थामा देखेको केही घण्टामा नै यस धर्तीबाट उहाँले देहलीला त्याग्नुभयो । अहिले रमेशदाइ भौतिक रूपमा हुनुहुन्न तर पछिल्लो समयमा परिचय भएर पनि उहाँले देखाउनु भएको अगाध स्नेहीभावले मलाई गर्वबोध हुन्छ । जीवनको उत्तरार्द्धमा एकाङ्गीपनाको जीवन सिर्जनामा सधैँ व्यस्त राखेर पीडाबाट मुक्त हुन खोज्ने रमेश दाइ हाम्रा प्रेरणका स्रोत । उहाँ लेख्ने, पढ्ने मात्र होइन, मिठो धूनमा बाँसुरी पनि बजाउने, क्यानभासमा रङ्ग र कुची खेलाउँदै एकचित्त भई कलाको दुनियाँमा रमाउने र साहित्यकारसँग भेटघाट गर्न सारै मन पराउने विशिष्ठ व्यक्तित्व । साथीभाइ र अनुजहरूसँग दुःख, सुख प्रेमपूर्वक साटासाट गरेर मन हल्का पार्ने र उर्जा दिने आशावादी सर्जक । अरू कुरामा नअल्मलिई जीवनलाई सधैँ गतिशील बनाउन खोज्ने रमेश दाइको जस्तो जीवन बाँच्ने कला जान्ने हो भने संसारमा कोही मानिस डिप्रेसनको रोगी हुने थिएनन् की भन्ने पनि लाग्छ मलाई !
दिन बित्न पनि केही बेर नलाग्ने रैछ । यो सृष्टिको नियम आउनु अनि जीवन रहिन्जेल कसैले समाजका लागि केही गर्नु कसैले आफ्ना परिवारका लागि मात्र केही गरेर जानु त रैछ नि । उमेरको उकालोसँगै त्यहीँ क्रम आफु पछिका पिढींहरूमा कहीँ विरक्तिएर कहीँ रमाएर आउने, केही गर्ने र जाने अनेकौ अनुभवका शृङ्खला पार गर्ने सिलसिला दोहरिने रैछ जीवन भन्नु । सम्भ्रान्त परिवारमा जन्मिएका विकल दाजुको दुई वर्षको उमेरमै आमाको देहान्त भएपछि पाँच वर्षसम्म हजुरआमाको लाडप्यारमा हुर्किनु भयो । पाँच वर्षको उमेरमा हजुरआमालाई समेत गुमाउँदा उहाँको विक्षिप्त बाल्यकालको पीडाले भावुक बनाउँछ । यसैले बालमनोविज्ञानमा असर परेको हो की भनेर नमीठो गरि सुनाउने गरेको अहिले जस्तो लाग्छ तर दिन कति छिटो बितेछ ।
वि. सं. १९८५ कात्तिक २ गते भाइटीकाका दिन काठमाडौँ जोरपाटीको आरुबारीमा चन्द्रशेखर र छायादेवी चालिसेको कोखबाट उहाँको जन्म भयो । न्वारनको नाम इन्दुशेखर र गाउँघरमां रामबाबु अनि प्रमाणपत्रको नाम भने रामेश्वर शर्मा चालिसे हो भने चित्रकला बनाउँदा रवि चालिसे र इन्दुशेखरको नामबाट केही कविता लेख्ने उहाँ बहुमुखी प्रतिभाका धनी । आमा नहुनु जागिरे बुबासँग सरूवा भएठाउँमा जादाँ जादै पढाइमा केही अवरोध भएर पनि बि. सं. २००५ साललमा तेस्रो स्थान ल्याएर ११ उतार्न हुनु भएको कुरा मुख बिगारेर पनि रमाउदै सुनाउनु हुन्थ्यो । पढाईप्रतिको रूचीलेबि एडको पढाइ सकेर २०२३ सालमा नेपाल आउने पिसकोर भोलेन्टरहरूलाई नेपाली भाषा सिकाउन अमेरिका जानुभयो । फेरि २०२५ सालमा पनि जाने चाजो मिल्यो र जानु भयो । उहाँले २००५ सालदेखि ११रूपैञाको तलबबाट जागिरे जीवन सुरु गर्नु भयो । विभिन्न क्षेत्रको अनुभव बटुल्दै थुप्रै ठाउँका जागिरे हुदै अन्तमा २०४३ सालदेखि २०५१ सालसम्म त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका उपप्राध्यापक भएर अवकाश लिनु भयो । अनि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य हुनु भयो । उहाँमा कहिले काहीँ पहिले स्मृति पटमा नयाँ र ताजा कुराहरू प्रशस्त आउथे र शब्दमा ढाल्न सहज र सरल हुन्थ्यो यसबेला भने यी कुराहरू, सोचाइहरू नयाँ हुन् की हैनन् भनेर भ्रम पर्न थालेको छ भनेर गम्भीर देखिनु हुन्थ्यो । हात ढिलो चल्ने शब्द छुट्ने गर्छ भनेर निरसाजनक भाव व्यक्त गर्नु हुन्थ्यो । जीवनको हरेक मोडमा सम्झौता चाहिन्छ भन्ने रमेश विकल दाजुको जीवन जिउने कला भएर पनि आआफ्नै सुत्र र तरिकाको अनौठो यातना सहिरहेछु भनेर केही खिन्न देखिनु हुन्थ्यो ।
वि. सं १९९७ सालमा विवाह हुँदा उहाँको उमेर १२ वर्ष र बेहुली शुसिला सात वर्षकी हुनुहुन्थ्यो । शुसिलाबाट रमेश विकल दाजुका दस सन्तान भएको भए पनि तीन छोरी र एक छोराको मृत्यु भयो । केही समय श्रीमती र बाँकी दुई छोरा, चार छोरीहरूसँग रमाएर जीवन बिताउनु भयो । तर जीवनको उत्तरार्द्धमा आइपुग्दा दैवले सहेन र श्रीमतीबाट बिछोडिनु पर्दाका एकाङ्गी जीवनको क्षण भाव विभोर हुदै सुनाउनु हुन्थ्यो उहाँकामा जादाँ ।
आरूबारीको पुरानो घरमा एकपटक दिदी जलेश्वरी श्रेष्ठ र म गएको सम्झिरहेछु । त्यसबेला उहाँकी जीवनसँगीनी शुसिला भाउजुले छाडेर गएको ताजा दुखाई सहिरहनुभएको रहेछ । भाउजुलाई सम्झेर रमेश विकल दाजु निकै भावुक हुनुभयो । हामी पनि भावुक भयौं । उहाँका आखाँ रसाएको त्यो पल सम्झनामा मेटिएको छैन् । त्यसबेला वनिताको संयोजनमा जलेश्वरी श्रेष्ठद्वारा स्थापना भएको देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार ग्रहण गरिदिनु भन्न गएका थियौं । विराटनगरमा देव दिदीकै हातबाट अर्पण गरिने उक्त पुरस्कार उहाँले सहस्र स्वीकार गर्नु भयो । अनि जलेश्वरी दिदीकै व्यवस्थापनमा उहाँ र उहाँको नाति विराटनगर आएको त्यो सुन्दर वातावरण आहाँ ! हामीलाई प्रोत्साहन दिन उहाँले वैशाखको प्रचण्ड गर्मी भन्नु भएन । तीन दिनसम्मको विराटनगर बसाइमा उहाँले स्नेही व्यवहार गरेर हामीलाई पुलकित बनाउनु भएका ती स्मृतिहरू कति मीठा छन् । उहाँ मेन रोडमा कान्छा छोराका परिवारसँग बस्न थालेपछि साठीको दसक देखि हामीसँग भेट गर्ने क्रम अघि बढ्यो । बासुरी बजाउँदै त्यसको धुनमा हराउने रमेश दाजुलाई यसबेला एकतमासले सम्झिरहेछु । सम्झनामा आरूबारीको मेन रोडमा भएको घर, कान्छा छोराको परिवारको साथ उहाँसँगको भेट कति मनमोहक थियो । त्यो घरमा कहिले कथाकार जलेश्वरी श्रेष्ठ कहिले माया ठकुरी र चन्द्रकला नेवार अनि बिन्दु सुबेदी दिदी भएर जान्थ्यौँ । अनि केही जीवनका केही साहित्यका र अन्य विषयका कुरा गर्दाका ती सुखद् क्षणहरू कसरी वर्णन गरू शब्दमा । त्यसबेला अनुभव गरेका अनुभूतिहरू मात्र तरङ्गित हुन्छन् मनमा । एक्लै बसेर गुमसुम जीवन बिताइरहनु भएका रमेश दाजु हामी पुग्दा कम्ती रमाउनु हुन्नथ्यो । अझ फुर्कदै उहाँ बासुरी बजाउने चन्दकलादिदी र मायादिदी गाउने म तालि बजाउने त्यो माहोल कति मनमोहक । ३÷४ घण्टाको समय लिएर जानु पर्ने उहाँलाई भेट्न जादाँ ।
दाजुले प्राप्त गरेका सम्मानपत्रहरू तल भ¥याङ देखि माथिसम्म मिलाएर राखेको देखेर हामी दङ्गदास हुन्थ्यौ । ती दिनहरूमा दाजुकी कान्छी बुहारीले दाजुसँगै हामीलाई चिया नास्ताको परिकार खान दिएका स्वाद सम्झिरहेछु । कहिले दहीच्यूरा, कहिले पुरी तरकारी, कहिले आफ्नै बारीका मकै नुन खोर्सानी आदी इत्यादि ।
मानिसमा एउटा मात्र विशिष्ठ प्रतिभा हुन्छ तर उहाँमा त प्रतिभाको चाङ नै थियो । विशेष त उहाँ शब्दको लहरीमा भरिएर विविध विधाका साहित्य लेखेर नेपाली साहित्य भण्डार भर्न नै जन्मनु भयो सायद । एउटा लेखि नसकि अर्को विषयको कल्पना शक्ति र भावको सौन्दर्यमा तानिने कस्तो प्रतिभा । उहाँको आख्यान पढेर कतिकति विध्यार्थीले सफलता हासिल गरे भने कति पाठकले लाभ पनि लिएका छन् । यदि आख्यानसँगै बालसाहित्यमा उहाँलाई छुटाउनु हो भने नेपाली आख्यान र बाल साहित्य क्षेत्रको नै दुर्दशा हुन्छ ।
जीवनको अन्तिम क्षणसम्म पनि बालसाहित्यको विकासमा चिन्तनशील भइरहनु हुने उहाँ विशिष्ठ बालसाहित्य सर्जक हुनुहुन्थ्यो । बालसाहित्यको जग बलियो नभए इतर साहित्य पनि डगमगाउँछ भनेर चिन्ता लिनु हुन्थ्यो । बालसाहित्य पनि साहित्य हो र भनेर उपहास गर्ने मानिसहरूको भिड देखेर विरक्तिनु हुन्थ्यो । रमेश दाइ आज तपाई भए बालसाहित्य प्रज्ञा प्रतिष्ठानको अवधारणाले तपाईँलाई कति हर्षित तुल्याउथ्यो । यदी मरेर पनि आत्मा यस लेकको वरिपरि घुम्ने कुरा सत्य हो भने रमेश दाइ आफ्नो सपना पुरा भयो भनेर यतैकतै रमाइरहनु हुनेछ । यसपल्ट नेपाल सरकारबाट नै बालसाहित्य प्रज्ञा प्रतिष्ठानको अवधारणा प्रस्तुत गरेको छ । चित्रकारिता र संगीतमा उहाँलाई अनौठो मोह थियो । घरमा बुबा हार्मोनियम र तबला बजाउँने । उहाँ रातिसम्म बाँसुरी बजाउने कुराहरू सिलसिला विहिन भएपनि सुनाउनु भएको सम्झनामा बगिरहेछन् । उहाँलाई बाँसुरी र भ्वायलिन बाजाहरू खुब मन पर्ने । रेडियो नेपालको स्वर परीक्षामा असफल भएपछि यो क्षेत्रबाट टाढिदाको नमिठो अनुभवमा तिक्तता पोखेर घोरिनु हुन्थ्यो । अझ रून नै खोज्ने । चित्रकलाको आधारभूत शिक्षा भने चन्द्रमानसिंह मास्के र आनन्दमुनि शाक्यबाट लिएको भनेर फुर्किनु पनि हुन्थ्यो । उहाँले समय समयमा कोरेका थुप्रै चित्र छन् । विकल दाइले बनाएको उहाँकी श्रीमती शुसिलाको चित्रबारे उहाँले हामीलाई छुट्टै खालले बुझाउनु भएथ्यो । उहाँको भनाई अनुसार भाउजुको अनुहारमा उमेरका भिन्न–भिन्न तरङ्ग देखिन्थ्ये । कथाका पात्रहरूको पनि चित्र बनाउने एक अदुतिय चित्रकार । आफुले बनाएका चित्रहरू, बजाउने बाँसुरी, भ्वायलिन, र हार्मोनियम, तवलालाई परिवारले उहाँको नामको संग्रहालयमा सुरक्षित राखिदिनु भएकामा बारम्बार रमेश विकल बल्झनुहुन्छ ।
जब साहित्य सिर्जनामा दिक्दारी र सकस हुन्छ तब चित्र कोर्ने र बाँसुरी बजाउने गर्छु । तपाईँहरूका पनि कुनै त्यस्ता रहर छन् भने अवलम्बन गर्नुहोस् दिक्दारी लाग्दैन भनेको हामीलाई भनेको भर्खर जस्तो लाग्छ तर लगभग दुई दशक भईसकेछ । जीवनका आयमहरूमा जे नाम भएनि नेपाली साहित्यमा रमेश विकलको नामबाट नै उहाँ सुप्रसिद्ध हुनुभयो । पटकपटक जीवनका काहाली लाग्दो क्षणबाट त्रसित भएपछि रमेश विकल नामले जनमानसमा आउनु भयो । यो नाम नै कालान्तरमा उहाँको कर्मको अस्तित्व बन्यो । लेखनको शक्तिले भयो र यसैले उहाँलाई अमर बनायो । १३ पुस्तादेखि चालिसेहरूको एउटा हाँगो पुर्खेउली थलो काठमाडौंस्थित आरुबारीमा रमेश विकल जन्मिए, हुर्किए र साहित्य साधनामा लागे । त्यहीँ आरुबारीले हामीलाई रमेश विकल जस्ता महान स्रष्टा दियो । अनि त लाग्दछ आरूबारी रमेश विकलको बिम्ब जस्तै । परालको छानो भएको एकपाखे घरमा जन्मिएर बाल्यकाल बिताउने उहाँले बि. सं. २०१८ सालमा नयाँ सडकको गीत कथाकृतिबाट मदन पुरस्कार प्राप्त गरेर कथा साहित्यमा एउटा इतिहास रच्नु भयो ।
यो पुरस्कार कथाले पहिलो पटक पाउदा पुस्तक प्रकाशन नभै पाण्डुलिपिबाट नै पाएको कुरा उहाँ प्रफुल्लित मुद्रामा भन्दा हामी अभिभूत भएथ्यौ । त्यहीँ पुरस्कारबाट प्राप्त चार हजार रुपैयाँले परालेघरको छानो हटाएर टायलको छानो लगाएको कुरा क्या मज्जा ले गर्भसाथ भन्नु हुन्थ्यो । त्यो घर जीर्ण भइसकेर पनि टालटुल गर्दा गर्दै फेरि आफ्नै पसिनाले आर्जन गरेको कमाईबाट अर्को घर बि.सं २०३५ सालमा बनाउनु भयो । जुन घरमा जीवनका सुनौला दिनहरू पिएर २५ वर्ष बिताउनु भयो । अन्ततः उहाँले आफ्नो ऊर्जाशील समय बिताएको त्यो घरलाई परिवारको सहमतमा रमेश विकल साहित्य प्रतिष्ठानलाई दिने इच्छा गर्नु भयो । पाँचा आना जग्गामा बनेको सो घर परिवारको सहमतिमा प्रतिष्ठानको नाममा नामसारी गरेपछि उहाँ अलिक वर कान्छा छोरासँग बस्न थाल्नु भयो । त्यसलाई उहाँको मृत्युपछि रमेश विकल स्मृति संग्रहालय’का रूपमा रमेश विकल साहित्य प्रतिष्ठानले नामकरण ग–यो । उहाँको सिर्जनात्मक जीवनको साक्षी बसेको त्यो घर बि. संं २०७२ सालको भूकम्पले ढालिदियो । यसले नेपाली साहित्यको एउटा इतिहास धमिलिन खोज्यो । तर बुबाको सपना र इतिहासलाई ज्युँदो राख्न उहाँका छोरा विजय चालिसेको र अरूको सक्रियतामा खोलिएको ‘रमेश विकल साहित्य प्रतिष्ठान’ले नयाँ घर निर्माणमा अगुवाइ ग–यो । विकल दाजु जीवित छँदै खोलिएको प्रतिष्ठानलाई पाँच आना जग्गामा बनेको आफू जन्मिएको घर र आफ्ना साहित्यिक कृतिको रोयल्टी दिने इच्छापत्र लेख्नु भयो । प्रतिष्ठानले रमेश विकलको नाममा र उहाँकी श्रीमतीको नाममा हरेक वर्ष सम्बन्धित क्षेत्रका व्यक्तिहरुलाई पुरस्कार अर्पण गर्छ । समाज सेवाको क्षेत्रमा रमेश दाइ र शुसिला भाउजुको नाममा पनि पुरस्कार रहेको छ ।
वि. सं. २००६ मा शारदामा गरिब शीर्षकको कथा प्रकाशित भएपछि उहाँको साहित्यिक जीवन सुरु भयो । श्यामप्रसाद शर्मा जस्ता स्रष्टाको संगतले उहाँ प्रगतिशील साहित्यतर्फ ढल्किएर प्रगतिशीलता, यथार्थवाद र मनोवैज्ञानिक प्रवृत्तिको त्रिवेणीमा रत्तिनुभयो। उहाँले बि. सं. २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएकै समयमा कम्युनिस्ट पार्टीले आयोजना गरेको जुलुसमा सहभागी हुँदा पक्राउ परेर छोटो समय नख्खु जेलको जीवनसमेत अनुभव उल्लासित हुदै उहाँले सुनाएका सम्झना पनि तरङ्गित छन् । नेपाल प्रज्ञा प्रतिष्ठान तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यको पदभार ग्रहण गर्नु हुने रमेश दाजु वरिष्ठ हास्याव्याङ्ग्य भैरब अर्यालका हितौषी हुनुहुन्थ्यो ।
उहाँले लेखेका उपन्यास ः सुनौली (२०३३), अविरल बग्दछ इन्द्रावती (२०४२), विक्रम र नौलो ग्रह (२०३९), सागर उर्लन्छ सगरमाथा छुन (२०५२), नियात्रा ः सात सूर्य एक फन्को (२०३४), नीलगिरीको छायामा (२०४३), निबन्धः अझ अगाडि बढ्नु छ (व्यङ्ग निबन्ध), कथाः बिरानो देशमा (२०१६), नयाँ सडकको गीत (२०१८), आज फेरि तन्ना फेरिन्छ (२०२४), एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा (२०२५), उर्मिला भाउजू (२०४३), शव, सालिक र सहस्र बुद्ध (२०४३), हराएका कथाहरू (२०५५), बालकथाः अगेनाको डिलमा (२०२३), पञ्चतन्त्रका कथाहरू (२०२३), एक्काइस रमाइला कथा (२०२४), कथाकुसुम (२०२६), तेह्र रमाइला कथा (२०४८), केही मूर्खहरूको कथा (२०४६), हिउँदे छुट्टी (२०४९), सङ्गत गुनाकी बुद्धि (२०५७), मान्छे, भैंसी र मुरी चामलको भात (२०५७), एउटा कथा भन्नु न हजुरआमा (२०६१), म र मेरो घर (२०४३), दिलमाया (२०४३), गौंथलीको घर (२०५२), रमेश विकलका उत्कृष्ट बालकथाहरू–एक (२०६३), रमेश विकलका उत्कृष्ट बालकथाहरू–दुई (२०६४), मलाई किताब मन पर्छ (२०६३), बुद्धिको घैंटोमा घाम (२०६३), हजुरआमाको कथा, गौतम बुद्ध र पानीको संस्कार (२०६३), सात थुङ्गा (२०३७), अब तिमी नरोउ किरण (२०५९), हराएको चिठी (सन् २००७), विक्रम र नौलो ग्रह (२०५९), बाह्र महिनाको गीत, आत्मकथाः मेरो अविरल जीवन गीत (२०६०), नाटक÷एकाङ्कीः सप्तरङ्ग (२०३९), सर्दार भक्ति थापा (२०४०), मिल्किएको मणि (२०४२), मानिस वैभव र मृत्यु, सम्पादनः उत्साह, रचना, बालक, कोपिला, बालसाहित्य, विकासोन्मुख नेपाल, शैक्षिक, विभिन्न पत्रपत्रिका, अनुवादः पीटर र ब्वाँसो (२०५८), इन्द्रजाली रुख (२०५५), विश्वप्रसिद्ध बालकथा खण्ड–३ (२०५९)
, विश्वप्रसिद्ध बालकथा खण्ड–४ (२०६०), दुष्ट भँगेरो र गौंथलीहरु (२०६०), समुद्री हूँडार (२०६३), अन्यः बुद्धुरामले कुरा बुझ्यो (रविबाबुको नाममा प्रकाशित बाल साहित्य), आदी। नेपाली साहित्यिक भण्डारमा ६ दशकको साहित्य साधनामा ५५ वटा पुस्तक प्रकाशित गरेर रमेश विकलले महत्त्वपूर्ण योगदान पु¥याएको कुरा नकार्न सकिदैन । उहाँका कथासङ्ग्रह–७, उपन्यास–४, नाटक एकाङ्की–४, यात्रासाहित्य–३, आत्मसंस्मरण–२, व्यङ्ग्य–१, बालसाहित्य–२७ र अनुवादका ७ कृतिहरू प्रकाशित छन् ।
नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान पु¥याए वापत रमेश विकल दुई दर्जन भन्दा बढी संस्थाहरूबाट अभिनन्दित र दर्जनौ पुरस्कारहरूबाट सम्मानित हुनु भयो । कथाले पाउने पहिलो मदन पुरस्कार उहाँकै कथा थियो । उहाँका सबै पुस्तकहरू नपढे पनि केही पढेकी छु । त्यस मध्ये पनि उहाँको आत्मकथा पढ्दा अत्यास र डरलाग्दो बाल्यकालको बोध अरू पाठकलाई जस्तै मलाई पनि भयो । रमेश विकल पढेर अरूले के पाउँछन् मलाई थाहा छैन तर जस्तै परिस्थितिमा पनि जीवनलाई सकारात्मक रूपमा हेर्ने दृष्टिकोण मैले प्राप्त गरेकी छु । उहाँमा आफ्नो जीवन आफूभन्दा मुनिकालाई सिकाउने र समर्पण गर्ने भाव भएको मलाई आभास हुन्छ । रमेश विकलका यस्तो आभास पाउदा जीवन बाँच्ने सकारात्मक प्रेरणा प्राप्त हुन्छ । कहिले कुरा गर्दा उहाँ आफ्नो मनको इच्छा भन्नु पनि हुन्थ्यो । एउटा उहाँको इच्छा यस्तो थियो खासमा म कलाकार र सङ्गीतकार बन्न चाहन्थेँ तर यो बन्न सकिनँ । यी दुई कर्म छोराछोरीबाट पूरा होस् भन्ने चाहे । यही भएर मैले मेरो जेठो छोरो विजय चालिसेलाई रङ्गको दुनियाँमा खेल्न कुची र रङ्ग दिएँ, तर उनले पनि कलम नै समाते र आज छुट्टै परिचय बनाएर अधि बढिरहेछन् । म यसमा सन्तुष्ट नै छु । अब दोस्रो पुस्ताबाट मेरो रहर पुरा होला भन्ने सोचेको छु भनेर बढो आशातीत भावले बल गरेर पोख्नु हुन्थ्यो । उहाँले चाहेका इच्छा भाव चुपचाप हामी सुन्थ्यौ मात्र । कुनै न कुनै दिन उहाँका यी इच्छाहरू आफ्नै सन्तानबाट पुरा हुनेछन् भन्ने कामनाका साथ महान् साहित्यकार रमेश विकललाई भावपूर्ण श्रध्दाञ्जली समर्पण गर्छु ।