रोल्पा । जिल्लाका विभिन्न गाउँमा बाँदरले आतंक मच्चाएपछि स्थानीयमा त्रास छाएकाे छ। जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतंक मच्चाएपछि स्थानीय चिन्तित भएका हुन्।
बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभयो।
खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उहाँको भनाइ छ । ६ महिनासम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुन मगरले जानकारी दिनुभयो । “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ”, उहाँले भन्नुभयो । बाँदरले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै पनि खाइदिएको उहाँको भनाइ छ ।
बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफूल मात्रै होइन, पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले लग्ने गर्दा स्थानीयवासी आतङ्कित बनेका हुन् ।
त्यस्तै, बाँदरले परिर्वतन गाउँपालकाको ओह, हाकलङ, नाफे, थानकोट, झेङ्जा, माडी गाउँपालिकाको खनाबाङ, धनथाना, तथा गङ्गादेव गाउँपालिकाको भिरखोला, झाझर खोलालगायतका विभिन्नि ठाउँमा सताउने र क्षति गर्ने गरेका छन्। बाँदरका कारण जङ्गल नजिकै भएका धैरै जमिन बाँझो हुने गरेकाे स्थानीयले बताएका छन् ।