काठमाडौं । जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अशोक खड्का ४ वर्षका लागि निर्विरोध निर्वाचित हुनुभएकाे छ ।चावहिलस्थित केएल टावरमा शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्कालाई अध्यक्षता निर्विराेध चयन गरेकाे हाे ।
अधिवेशनले ९ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । अध्यक्षमा खड्का बाहेक कसैले उम्मेदवारी नदिएपछि उहाँ निर्विराेध निर्वाचित हुनुभएकाे संघले बताएकाे छ ।
अध्यक्ष बाहेक सबै पदमा आवश्यकभन्दा बढीले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा सबैले उम्मेदवारी फिर्ता लिने सहमति भएपछि जिल्ला कार्यसमिति निर्विरोध चयन भएको बताइएकाे छ ।
सरोज बाँस्कोटाले उपाध्यक्ष, गणेश तामाङले सचिव र सारदा धिमालले कोषाध्यक्षको जिम्मेवारी पाउनुभएकाे छ भने उपाध्यक्षमा कविराज नेगी लामा, सचिवमा टीकादत्त दाहाल र विकेश विडारी तथा कोषाध्यक्षमा विमला लामाले उम्मेदवारी दिनुभएकाे थियाे ।
सदस्यमा गौरव रजक, विशाल सुर्खेती, मुना खवास, प्रदीप आले मगर र कविता श्रेष्ठ चयन हुनुभएकाे संघद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।
अघिल्लो कार्यसमितिको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी हुनुभएका खड्का नयाँ खेलकुद ऐन लागू भएपछि अघिल्लो कार्यसमितिका अध्यक्ष प्रमोद पराजुलीले राजिनामा दिएपछि १ वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहनुभएकाे थियाे ।