-दीपेन्द्र दोङ तामाङ
शीर्षक पढेर एकपटक जोकोहीको मथिंगल हल्लिन सक्छ । शब्दचयन वा सम्पादनमा त्रुटी पो हो कि भन्ने पनि लाग्ला । तर वास्तविकता के हो भने अल्लारे उमेरमा नेपाल पसेर, जीवनपर्यान्त नेपालमै बसेर नेपाली गीत संगीतको समृद्धिका लागि समर्पित गोपाल योञ्जन दिवंगत भएको २४ वर्षपछि आफ्नै जन्मथलो दार्जिलिङ फर्किदै छन् । यही भदौ १३ अर्थात अगष्ट ३० का दिनबाट गोपाललाई दार्जिलिङको गोरखा रंगमञ्च भवनको प्राङ्गानमा संगीत सिर्जनामा लीन भैरहेको अवस्थामा भेटाउन सकिनेछ ।
गोपाल योञ्जन प्रतिष्ठानले उनी दिवंगत भएको २४ वर्षपछि उनको शालीक निर्माण गरि उनले संगीत पढेर अभ्यास गरेको गोरखा रंगमञ्च भवन परिषरमा उनको प्रतिमा स्थापना गर्न लागेको हो । गत माघ १ गते शिलान्यास गरिएको प्रतिमानिर्माण कार्यले गोपालको ७९ औं जन्मजयन्तीको सन्दर्भ पारेर पूर्णतः पाउन लागेको हो । यसको संयोजनमा लागिपरेका छन् प्रतिष्ठानका अध्यक्ष मित्र लामा ।
त्यसो त मित्र आफैं नेपाली संगीत क्षेत्रका पूराना र अनुभवी रेकर्डिष्ट हुन् । सयौं होइन हजारौं गीतहरुको रेकर्डिङ र कुशलतापूर्वक मिक्सिङ गरिसकेका उनको काठमाडौंमा आफ्नै रेकर्डिङ स्टुडियो समेत सञ्चालनमा छ । तर विगत एक वर्षदेखि उनी काठमाडौंमा रहेको आफ्नो सबै व्यवसाय अरुकै भरमा सुम्पेर गोपाल योञ्जनको प्रतिमा निर्माण र स्थापना गर्ने कार्यमा लागिपरेका छन् । "आदरणीय गुरुजी गोपाल योञ्जनको प्रतिमा स्थापना गर्ने १४ वर्षदेखिको सपना यसपटक पूरा हुँदैछ, " शुक्रवार साँझ जनता समाचारसँग मेसेञ्जर भ्वाइस कलमा संवाद गरिरहँदा अध्यक्ष मित्रको आवाजमा बेग्लै खुशी र सन्तुष्टि झल्किन्थ्यो ।
उनका अनुसार संगीत साधक गोपाल योञ्जनको साधनालाई प्रतिविम्वित गर्ने उदेश्यले प्रतिमा पनि संगीत साधनारत अवस्थाको निर्माण गरिएको छ । जसको निर्माण दार्जिलिङकै डुवर्समा रहेका कालिगढ अमिर सुन्दासले गरिरहेका छन् ।
तिथिले जनैपूर्णिमाका दिन गोपाल योञ्जनको जन्मजयन्ती मनाए पनि खासमा उनको जन्मदिन अगष्ट २६ मा रहेको मित्रले जानकारी गराए । त्यसैको सन्दर्भ पारेर अगष्ट ३० मा प्रतिमा अनावरणको कार्यक्रम तय गरिएको उनले बताए । उक्त अवसरमा नेपाली संगीत क्षेत्रमा गोपाल योञ्जनको योगदानका साथै उनको व्यक्तित्व र कृतित्वका बारेमा अन्तक्रिया कार्यक्रम समेत हुनेछ । साथै विशेष स्मारिकाको लोकार्पण गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष लामाले जनता समाचारलाई जानकारी दिए ।
दार्जिलिङमै किन ?
२० को दशकमा नेपाल पसेका गोपाल योञ्जन आजीवन नेपालमै रहे । लोक,आधुनिक,फिल्मी र भाषिक संगीत (तामाङ भाषा) मा समेत जुग जुग नविर्सने गुण लगाएर गए । बनेको छ पहराले यो छाती मेरो, धेरै छ गर्नु स्वदेशको सेवा, मेरो टोपी कैलाशको शीर जस्तो, देशले रगत मागे, कहाँ पर्यो पूर्व जस्ता देशप्रेम र राष्ट्रियताले ओतप्रोत गीतहरुबाट उनले हरेक नेपालीलाई देशप्रेम बुझाए, माटोको मूल्य सम्झाए र नेपाली हुनुको शान दर्शाए । कतिसम्म भने गोपालका नगन्य आलोचकहरुले समेत गोपालको नेपालप्रतिको प्रेम,विश्वास र आत्मगौरवमा भने रत्तिभर पनि शंका गर्न सकेका छैनन् । तर यस्तो व्यक्तित्वको प्रतिमा नेपालमा स्थापना नगरेर किन दार्जिलिङमा गरिदैछ ? यो अहिले आम नेपालीको प्रश्न हो । यसको जवाफ पनि मित्रसँग छ । उनी भन्छन्–" हो, गोपाल योञ्जनको प्रतिमा मात्र होइन प्रतिष्ठान, संग्राहालय सबै नेपालमै हुनुपथ्र्यो । त्यस्तो दिग्गज व्यक्तिको स्मृतिमा हुनुपर्ने सबै काम नेपाल सरकार वा अरु कसैले अवश्य हुनेछ भन्ने आशामा २४ वर्ष कुर्यौं । तर कतैबाट केही भएन, हुने संकेतसम्म पाएनौं । उल्टै पुस्तान्तरणसँगै गोपाल योञ्जनलाई नै भुल्दै पो जाने हो कि भन्ने चिन्ता थपियो । त्यसैले अब हामी आफैं नलागी भएन भनेर लागिपर्यौं ।"
तर नेपालमै स्थापना गर्ने सोंच आएन र ? यस पंक्तिकारको प्रश्नमा मित्र अलि डिफेन्सिभ देखिए । उनले भने–" हामीले नेपालमा प्रतिमा स्थापनाका लागि उपर्युक्त स्थान पाउने सम्भावना देखेनौं । गोपाल योञ्जनको योगदानलाई साँच्चिकै कदर गर्ने हो भने प्रज्ञा प्रतिष्ठन, रेडियो नेपाल वा नाचघरमध्ये कुनै एकको परिषरमा उनको प्रतिमा स्थापना हुनुपथ्र्यो । त्यसका लागि हाम्रो राजनीतिक पहुँच नपुग्ने देखियो । किनभने नारायण गोपाल जस्तो काठमाडौंकै रैथाने र स्वर सम्राटको प्रतिमा त महाराजगञ्जको चोकमा स्थापना गरेर वर्षको ३६४ दिन वेवारिसे अवस्थामा रहने हाम्रै आँखाले देखेका छौं ।"
उनले अगाडि थपे–"ठाउँको विकल्प खोज्दै जाने क्रममा धेरैले दार्जिलिङको गोरखा रंगमञ्च भवन (भानु भवन) को परिषर सुझाए । यो भवन गोपाल मात्र होइन धेरै अग्रज नेपाली संगीत साधकहरुले संगीत साधना गरेको स्थान भएकोले यो ठाउँ सबैभन्दा उपर्युक्त लागेर हामीले प्रस्ताव लग्यौं । पश्चिम बंगाल सरकारको स्वामित्वमा रहेको यस भवनका तत्कालीन अध्यक्ष अनित थापाले हाम्रो पहिलो प्रस्ताव नै सहर्ष स्वीकार गरेर भवनको परिषर उपलब्ध गराइदिनुभयो । त्यसले हाम्रो हौसला अझ चौगुणा भयो ।"
अध्यक्ष अनित थापाले जिटीए भवन परिषरमा प्रतिमा स्थापना गर्न मञ्जुरीनामा दिए पनि त्यतिखेर पश्चिम बंगाल र दार्जिलिङमा चुनाव नजिकिदै थियो । सरकारी स्वामित्वमा रहेको स्थान भएकोले अर्कै दलको नयाँ सरकार आए निर्णय फेरिने हो कि भन्ने चिन्ता बढेको मित्रले सुनाए । त्यसैले हतारोमै माघ १ मा शिलान्यास गरेर अघि बढेको उनले बताए । अहिले सदस्य सचिवका भरमा भवन रहे पनि पूरा सहयोग प्राप्त भएको मित्रले सुनाए ।
आर्थिक पक्ष
गोपाल योञ्जनको संगीत साधनारत आसनको प्रतिमा स्थापनाका लागि झण्डै १५ लाख भारु बढी खर्च भएको प्रतिष्ठानका अध्यक्ष मित्रले जानकारी दिए । यो सबै खर्च मित्र आफैं र उनका दुईजना हितैषी सहयोगीले मिलेर गरेका हुन् । ती दुईजना आरबि खड्का र अर्जुन रसाइली हुन् । नेपालीमुलका भुटानी नागरिक खड्का र रसाइली पुनस्थापित भएर अमेरिकामा पुगेका छन् । मित्रसँग उनीहरुको भेट गीत रेकर्डिङका क्रममा काठमाडौंस्थित संगम स्टुडियोमा भएको थियो । मित्रको सहयोगी भावना र मिहिनेतबाट प्रभावित उनीहरुले अमेरिका फर्केपछि पटक पटक केही सहयोग गर्न चाहेको बताइरहन्थे । सधैं इन्कार गर्दै आएका मित्रले एकदिन भने आफ्नो योजना सुनाए–गोपाल योञ्जन प्रतिष्ठान गठन गरि प्रतिमा स्थापना गर्ने । मित्रको प्रस्ताव संगीतप्रेमी खड्का र रसाइलीलाई चित्त नबुझ्ने कुरै थिएन । र, तीनभाइ मिलेर आर्थिक पक्ष हेर्ने गरि योजनालाई साकार बनाउने दिशामा मित्र अघि बढे ।
योञ्जन परिवारको असहयोगको डर
मित्रले पटक पटक धेरैको मुखबाट सुनेका थिए–गोपाल योञ्जनलाई उनको परिवारले परिवारभित्रै सीमित राखे । विशेष गरि गोपालकी धर्मपत्नी रिञ्जेन योञ्जनकै कारण गोपाल योञ्जनको नाममा कुनै संस्था समेत बन्न नसकेको पनि उनले सुनेका थिए । त्यसैले आफ्नो योजनाको प्रस्ताव लिएर जान मित्र पनि शुरुमा त दोधारमा परे । रिञ्जेन भाउजू र उहाँका परिवारसँग राम्रो चिनजान भए पनि अनुमति माग्न जान अलि अप्ठ्यारो थियो, मित्रले सुनाए । तर अनुमति त माग्नु नै थियो, त्यसैले गएँ । अचम्म मेरो अनुमान र सुनेको हल्ला विपरित रिञ्जेन भाउजूले एकैपटकमा हाँसीखुशी सहमति जनाउनुभयो । आफूले सुनेको हल्लाको बारेमा चर्चा गर्दा गोपाल योञ्जनको नाम र योगदानलाई आफ्नो पद र ओहोदाको भर्याङ बनाउन चाहने केही व्यक्तिको आशय बुझेपछि आफूले इन्कार गरेको रिञ्जनले सुनाएको मित्रले बताए । अहिले दार्जिलिङमा हुन लागेको प्रतिमा स्थापनामा रिञ्जेन र योञ्जन परिवारको समेत उल्लेख्य योगदान रहेको मित्र बताउछन् ।
माघ १ गते प्रतिमास्थलको शिलान्यास सम्पन्न भएपछि गोपाल योञ्जनकी सुपुत्री सिर्जनासिंह योञ्जनले एउटा अनलाइनमा लामो लेख नै प्रकाशित गरी खुशी व्यक्त गरेकी थिइन् । तर गोपाल योञ्जनलाई नेपालले गरिरहेको व्यवहारप्रति भने सिर्जनाले पूरै आक्रोश पोखेक िथिइन् । उनले लेखेकी थिइन्–
हुन त नेपालले गोपाल योञ्जनलाई “राष्ट्रिय धन” भनी संज्ञा नदिएको होइन। तर विडम्बना, “राष्ट्रिय धन” को सुरक्षा गर्ने जिम्मा चाहिँ राष्ट्र र राष्ट्रका सम्बन्धित निकायहरुले कहिल्यै लिएनन् । सब ओठे भक्तिमै सीमित रहे । यहाँसम्म कि मेरो बुवाको मार्गदर्शनमा धेरै कलाकारहरु स्थापित र चीरपरिचित बने । दुख लाग्दो कुरा उहाँहरुले गोपाल योञ्जनबाट गीत संगीत त सिक्नु भएछ, तर त्यो संगीतको गहिराइमा रहेको जीवन दर्शन बुझ्न सक्नुभएनछ ।
कता कता मलाई लाग्छ–नेपालले गोपाल योञ्जनलाई कहिल्यै पूरै अपनाउन सकेन । उहाँबाट कहिल्यै प्रवासीको ट्याग मेटिन दिएन । शायद आजसम्म पनि दार्जिलिङ र अन्य सीमापारिका नेपाली मूलका कलाकारहरुले सामना गरिराखेको पडाव र पीडा यही हो ।
जब जब नेपाललाई आफ्नो स्वाभिमानमाथि ठेस पुग्छ वा प्राकृतिक प्रकोपले पिरोल्छ तब गोपाल योञ्जनका राष्ट्रिय र उत्साहजनक गीतहरु विभिन्न मिडियाबाट घन्किन्छन् । तर उहाँको सम्झनामा र उहाँको सिर्जनाको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्नपट्टि भने दूरदर्शी सोच, प्रयत्न, लगाव, लगानी र निस्वार्थ समर्पण कहिल्यै भएन ।
तर आर बी खडका र अर्जुन रसाइली भाइहरुको प्रयत्नले उल्लेख्य नेपाली गीत संगीत र श्रष्टाको खोजी गर्ने युवा पुस्ताप्रति आश जागेको छ । विडम्बना के छ भने यी दुई न नेपालका नेपाली न त दार्जिलिङका । यी भाइहरु भुटानी शरणार्थीको कष्टपद जीवन बिताएर हाल अमेरिकामा बसोबास गरी आएका छन् । साँच्चैनै कला र कलाकारले छोड्ने प्रभावको कुनै सीमाना हुँदो रहेनछ भन्ने भाइहरुले पुष्टि गरिदिएको छ ।
प्रतिमा निर्माणपछिको योजना
सन् २०१७ मा दार्जिलिङका संगीत साधकहरुको भिडियो अर्काइभ र डकुमेन्ट्री निर्माणका क्रममा सिलगुढीको सुकुनावारीमा अरुणा लामाका दुई दिदीसँग भेटेर भलाकुसरी गर्ने अवसर यस पंक्तिकारले पाएको थियो । कुराकानीका क्रममा अरुणाकी जेठी दिदीको गुनासो थियो–अरुणाको प्रतिमा दार्जिलिङमा स्थापना त भयो तर हेरचाह गरिदिने कोही भएन । नेपालमै स्थापना भएको भए कम्तीमा हेरचाह त हुन्थ्यो कि ?
यही प्रसँग मैले मित्र लामालाई सुनाए । उनको जवाफ थियो–गोपाल योञ्जनको सवालमा त्यसो हुने छैन । किनभने म आफैं पूर्णरुपमा यसैमा लाग्दैछु ।
मित्रले गोपाल योञ्जनलाई कुनै भूगोलको सीमाले छेक्न नसक्ने बताए । उनी दार्जिलिङ वा नेपालका मात्र होइनन्, जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ गोपाल योञ्जनले जगाएको राष्ट्रियता पुगेको छ । नेपाली माटोको सुगन्ध पुगेको छ । यस अर्थमा गोपाल योञ्जन अन्तर्राष्ट्रिय विभूति हुन् र हामी उनलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा छौं ।
मित्र आफैं पनि काठमाडौं पसेको २०४४ सालतिरै हो । त्यसमा गोपाल योञ्जनको प्रेरणा र सहयोग अवश्य थियो । यति लामो काठमाडौं बसाइँ र यहाँ जोडेको सबथोक थाती राखेर मित्र अब दार्जिलिङमै फर्कने योजनामा छन्-" गोपाल योञ्जनसँगै म पनि दार्जिलिङ फर्किदै छु । गोपाल योञ्जन प्रतिष्ठानमार्फत यहाँको संगीत गतिविधिलाई फेरि ब्युँताएर उठाउने सपना छ । यसलाई मेरो स्वर्गीय गुरु गोपाल योञ्जनमा समर्पित गुरु दक्षिणा नै माने हुन्छ ।"