चार प्रश्न
एकपटक भारत र नेपालका सुपरस्टार गफिदै थिए–
रजनीकान्त : एउटा प्रश्न सोधूँ ?
राजेश हमाल : सोधिसकिस् ।
रजनीकान्त : अर्को सोधूँ ?
राजेश हमाल : भर्खरै सोधिस् ।
रजनीकान्त : जम्मा चारवटा प्रश्न सोधूँ ?
राजेश हमाल : के रे ? फेरि भन् ।
रजनीकान्त : मैले भनेको जम्मा ४ वटा प्रश्न सोधूँ ?
राजेश हमाल : त्यो पनि भर्खरै सोधिसकिस्, अरू केही छ सोध्नु ?
रजनीकान्त : (दिक्क हुँदै) छैन दाइ ।
०००
नदेखेको तारा
यो अलि केही वर्ष अघिको कुरा हो । गायक डम्बर नेपाली आफ्नो एउटा गीत गाउँदै थिए । आज आकाशमा एउटा तारा देखिनँ......
राजेश हमालले उक्त गीत सुनेको पाँच मिनेटपश्चात् डम्बरसँग भने -
डम्बर भाइ हिजो पनि यो आकाशमा ९५ ८० ४७ ३६ ३६ ७५ ८८ ७० ६४ ३६ ०५ ६४ ३२ २५ ८७० वटा तारा थिए र आज पनि ९५ ८० ४७ ३६ ३६ ७५ ८८ ७० ६४ ३६ ०५ ६४ ३२ २५ ८७ ० वटै तारा छन्, तिमीले कुन चाहिँ ताराको कुरा गरेको ?
(डम्बर अहिलेसम्म बेहोश छ )
०००
नयाँ जिन्स
रजनीकान्त : मेरो यो जिन्स पेन्टलाई २ हजार ५ सय रुपैयाँ प¥यो, यो सर्टलाई २ हजार रुपैयाँ प¥यो, यो जुत्तालाई ५ हजार रुपैयाँ हालें ।
राजेश हमाल : चुप लाग, पहिले पाइन्टको फस्नर बन्द गर । २५ रुपैयाँ जाने फुलबुट्टे पेन्टी देखिएको छ ।
०००
हामफाल्ने प्रतियोगिता
एकपटक राजेश हमाल, अल्बर्ट आइन्सटाइन र थोमस अल्वा एडिसनबीच १० तला माथिबाट हामफाल्ने प्रतियोगिता भएछ ।
पहिले थोमस आयो तर ऊ डराएर भाग्यो ।
अल्बर्ट आयो उसले पनि थोमस झैं टिएपी टाप हान्यो ।
अब आयो पालो राजेश हमालको (उसले ब्याकग्राउन्ड म्युजिक बजाउन लगायो, हेइइइइइ) राजेशले जम्प हाने ।
(एकैपटक अस्पतालको बेडमा)
पत्रकार ऋषि धमला : राजेशजी छ नि तपाईको त्यो । तपाईंले त्यत्रो १० तले भवनबाट कसरी हाम फाल्नुभयो ?
राजेश हमाल : (आक्राशित मुद्रामा ) पहिले यो भन् कि मलाई पछाडिबाट कसले धकेल्यो ?
०००
हजामको पसल
राजेश हमाल कपाल काट्न हजामकोमा गएछन् ।
राजेश हमाल : कपाल काटेको कति रुपैयाँ हो भाइ ?
हजाम : १५० रुपैयाँ हो हजुर ।
राजेश : अनि सेभ गरेको नि ?
हजाम : त्यो त जम्मा १०० रुपैयाँ हो हजुर ।
राजेश ओके । ल त्यसो भए मेरो टाउको सेभ गर्देऊ त भाइ ।
०००
लकडाउनको टाइमपास
लामो समयको लकडाउनले राजेश हमाल दिक्क भैसकेका थिए । त्यसैले मधुलाई रिझाएर बालुवाटारको १ रोपनी जग्गा किनेछन् । त्यसमा ४ वटा इनार खनेछन् ।
छिमेकी चारवटा इनार खन्नुको कारण सोधेछन् ।
राजेशले जवाफ दिएछन्– के गर्नु हजुर । कोरोनाले सबै काम ठप्प भयो । अब क्यारिमबोर्ड खेलेर टाइम पास त गर्नैपर्यो नि ।
छिमेकी ट्वाँ ।
०००
गरीब गोही
राजेश हमाल विद्यार्थी छँदाको कुरा ।
शिक्षक: माउसुली कस्तो खालको जीव हो ?
राजेश हमाल : माउसुली भनेको एक गरीब गोही हो । सानै हुँदा उसले राम्रो खाना खान पाएन । शरीरलाई चाहिने प्रोटिन लिन पाएन । त्यसैले उसको ज्यान सुकेर माउसुली जस्तो भयो ।
०००
राजेशको आविस्कार
राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुन राजेश हमालको घरमा पुगेछन् ।
राजेश हमाल : मैले यस्तो कुरा पत्ता लगाएको छु, जसको मदतले भित्ताको आरपार हेर्न मिल्छ ।
महावीर पुन : उत्सुक हुँदै । त्यस्तो के पत्ता लगायौ र ?
राजेश हमाल : प्वाल
०००
लिपुलेकमा युद्ध
नेपाल र भारतबीच लिपुलेकमा युद्ध परेछ । नेपाली सेनाका कमान्डर राजेश हमाल थिए । नेपालले नजित्ने कुरै थिएन ।
राजेश हमाल भारतसँगको युद्ध जितेर खुशी हुँदै फर्केछन् ।
सेनाको पल्टनमा पुग्ने बितिकै अरु सिपाहीहरुले उनको लुगा खोलेर परिवर्तन गर्न लागेछन् । राजेश आफ्नो वीरताको गाथा गर्वका साथ सुनाउन थालेछन्–
राजेश हमाल : हेर केटा हो । आज मैले भारतको चेक पोस्ट ध्वस्त बनाईदिएँ । तिनीहरुको फाइटर जेट गुलेलीले झारिदिएँ । केहि सिपाहीलाई कैदी बनाएँ । डराउनु हुन्न केटा हो । किनभने डरको अघि जीत छ ।
सिपाहीहरु : सर । तर तपाईले एउटा गल्ति गर्नुभयो।
राजेश हमाल : गल्ती ? त्यो पनि मबाट ? यो हुनै सक्दैन । तैपनि भन मैले के गल्ति गरें र ?
सिपाहीहरु : खुशीले बाटो भुलेर तपाई त भारतको सेनाको पल्टनमा पो आउनुभयो ।
०००
राजेश हमालका रोचक तथ्यहरु :
–राजेश हमालले चिच्याउदा हल भत्किने डरले बिदेशीहरुले राजेशको फिल्म आफ्नो हलमा देखाउने हिम्मत गर्न सक्दैनन्।
–अगुल्टोले हानेको कुकुर आगो देखेर तर्से जस्तै, राजेश हमालले कुटेको मान्छे फलाम देखेर तर्सिन्छ ।
–बलिउडकी मुन्नी बद्नाम हुनुमा राजेश हमालको हात छैन ।
–एक पटक राजेश हमालले सुन्दरीजलमा गएर आफ्नो हात पानीको टंकीमा सफा गरेछन् । त्यही भएर अहिलेसम्म काठमाडौँको पानीमा फलाम बढी पाइन्छ रे ।
*पुनश्च : गाईजात्राका अवसरमा 'यताउति' बाट जोडजाड गरिएको ।