ओखलढुंगा । कोभिड–१९ संक्रमणदर वृद्धिसँगै ओखलढुंगा प्रहरी प्रशासनले ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिएको छ । कोरोना भाइरसको तेस्रो लहर सुरु भएको भन्दै नेपाल सरकारले ल्याएको ‘नेपाल मास्क अभियान’ कार्यक्रम अन्र्तगत जिल्ला सदरमुकाम, गाउपालिका केन्द्र लगायत ग्रामिण बजार क्षेत्रहरुमा अभियानलाई तिब्र बनाइएको हो ।
अभियानमा सचेतनामूलक सामाग्री प्रसारण गर्दै बजार परिक्रमा गर्ने, मास्क नलगाएकाहरुलाई अनिवार्य मास्क लगाउन प्रेरित गर्ने, मास्क नभएका र पुरानो लगाइरहेकाहरुलाई वितरण गर्ने काम गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साँझेदारी कार्यक्रम नाम दिएर स्थानीय तह, समुदाय, नागरिक समाज, सामाजिक संस्था, विद्यालय लगायत सरोकारुवालाहरुको सहभागितामा यो अभियानलाई तिब्रता दिएको प्रनाउ काफ्लेको भनाइ छ ।
बजार क्षेत्रमा माइकिङ गर्ने, कोभिड विरुद्धको सचेतनामूलक सन्देश प्रसारण गर्ने, मास्क वितरण गर्ने र सबै नागरिकलाई स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन प्रेरित गर्ने गरेको प्रमुख जिल्ला अधिकारी बन्दना राइले बताउनु भयो । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला प्रहरीले अभियान चलाएपनि सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण तथा प्रयोगकर्ताहरु घट्दैगएका थिए ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत मास्क निशुल्क वितरण गरिएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय, नगरपािलका, गाउपालिका र जिल्ला प्रहरी कार्यालको साँझेदारीमा उक्त मास्क वितरण गरिएको प्रहरीको भनाइ छ ।
ओखलढुंगामा जिल्ला सदरमुकामसंगै गाउगाउका सानातिना बजारक्षेत्रका समेत जिल्ला प्रहरी कार्यालय सहित २७ वटा प्रहरी युनिट मार्फत ‘तपाईंको मास्क खोइ ?’ अभियान सञ्चालन भैरहेको छ ।
ओखलढुगामा कुल संक्रमितको संख्या २ हजार ५२ पुगको र कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ८ सय १२ पुगेको छ । हाल सम्म कोरोनाका कारण जिल्लामा १५ जनाले ज्यान गुमाइ सकेका छन् ।