काठमाडौं । कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरु मास्क लगाएर सहभागि भएका छन् ।
नयाँ भेरियन्टसहितको कोरोना जोखिमकाबीच राजधानीवासी भौतिक दूरी कायम गर्दैै गाईजात्रा निकालेर सहरबजार घुमाउँदै हिँडेको देखिन्छ । भीड एकत्रित हुन नदिन प्रहरी पनि बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परिवारबाट पनि तीनदेखि चार जनासम्म सदस्यमात्र शहरमा निस्केको देखिन्छ ।
नेवार समुदायको बाक्लो बस्ती रहेको असन, इन्द्रचोक, क्षेत्रपाटीजस्ता क्षेत्रमा जात्रा लिएर हिँड्नेको सङ्ख्या बाक्लो छ । सङ्ख्या बाक्लो भए पनि समूहमा धेरैमा १० देखि १५ जनासम्म मात्र सहभागी भएका छन् । गतवर्ष कोरोनाकै कारण आफन्त गुमाएका राजेन्द्र श्रेष्ठ सबैको स्वास्थ्य सुरक्षाका लागि गाईजात्रामा सचेतता अपनाइएको बताउनुहुन्छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ । राजधानीका तीन जिल्लामा पनि फरकफरक तरिकाले यो जात्रा मनाइन्छ । नेवार समुदायको बाक्लो बस्ती भएका बजार क्षेत्रमा विशेष रुपमा यो पर्व मनाउने गरिन्छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। गाईलाई वैदिक सनातन धर्मावलम्बीले गौमाताका रुपमा पूजा गर्ने परम्परा छ ।
वैदिकविधि अनुसार गरिने प्रत्येक कर्मको आरम्भमा गोदान गर्ने प्रचलन पनि यसै कारण शुरु भएको वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।